राजमार्गको खाना सरकारी वहाना


– गोपाल बराइली 
यदि तपाईंले राजधानीबाट बाहिरिँदा वा राजधानी भित्रिँदा राजमार्गमा सफा र गुणस्तरीय खाना खाने अपेक्षा गर्नुभएको छ भने अझै त्यो अपेक्षा पूरा नहुन सक्छ । त्रिभुवन राजमार्गको नागढुङ्गाबाट बाहिरिने तथा भित्रिने सवारी साधनका ड्राइभरले आफूलाई धेरै भत्ता दिने होटलमा खाना तथा खाजा खुवाउने गरेका कारण यात्रुले कम गुणस्तरका खाना खान बाध्य भएको गुनासा दैनिक सुन्ने गरिन्छ तर सरकारी निकायले समाधानको पहल नगरेकै कारण अहिलेसम्म राजमार्गमा यात्रा गर्ने यात्रुले धित मारेर खाना पाएका छैनन तर सरकारी निकाय भने प्रतिवेदन लेख्दैमा समस्याको समाधान हुन्छ भन्ने ठानेको छ । गत कात्तिक २९ देखि मङ्सिर ३ सम्म लगाएर राजमार्गका होटलमा गरेको अनुगमनको प्रतिवेदनलाई हेर्दा सरकारी रकम सिध्याउने र जनताका अगाडि केही गरेको देखाउने जस्तो मात्रै देखिन्छ ।

राजमार्गमा हुने यस्ता विकृति रोक्न आवाज उठ्न थालेपछि सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक जीवनप्रभा लामाको संयोजकत्वमा वाणिज्य विभाग, श्रम तथा यातायात मन्त्रालय, गृह मन्त्रालय र स्थानीय विकास मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्य दल बनाएको थियो । सो कार्यदलले खानीखोला नौबीसे, मलेखु र मुग्लिनका २२४ वटा होटल, लज, रेस्टुरेन्ट र चिया पसलमा सर्वेक्षण गरेको थियो । एक साता लगाएर गरिएको सो सर्वेक्षणको प्रतिवेदन पनि मङ्सिर दोस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइसकेको छ ।

सरकारले राजमार्गमा रहेका चिया पसल, होटल लज र रेस्टुरेन्टको सेवाको सर्वेक्षण अन्तर्गत नागढुङ्गादेखि नारायणघाटसम्म सर्वेक्षण गर्ने योजना बनाएको भए पनि पहिलो चरणमा पकेट एरियाको रूपमा रहेको खानीखोला नौबीसे, मलेखु र मुग्लिनमा २२४ वटामा सर्वेक्षण गरेको थियो तर कार्य दलले सर्वेक्षण गरेका अधिकांश होटल चोकमा सञ्चालित छन् । ती होटलमा प्रायः जसो गाडीहरू रोकिँदैनन् । चोकका होटलले स्थानीयस्तरका जनतालाई सेवा दिइरहेका हुन्छन् । नौबीसेदेखि करिव ५ किलोमिटर दक्षिण रहेका धार्के, थार्के र सिम्लेलगायतका स्थानमा खाना तथा खाजा खुवाउने यात्री बसको घुइँचो लाग्छ तर सो प्रतिनिधिमण्डलले ती स्थानका कुनै पनि होटलमा निरीक्षण गरेन । खानामा सबैभन्दा बढी गुनासो आउने भनेको चितवनको रामनगरमा हो तर सरकारी निकाय त्यहाँसम्म पुग्न सकेको छैन । सिम्लेको कान्तिपुर होटलमा दैनिक ८० देखि ९० वटाको हाराहारीमा बसले यात्रुलाई खाजा र खाना खुवाउने गरेको तर सो होटलमा सो सरकारी प्रतिनिधिमण्डलको आँखा त्यसतर्फ गएन ।

नारायणघाटसम्म सर्वेक्षण गर्ने योजना भए पनि पहिलो चरणमा पकेट एरियाको रूपमा रहेको खानीखोला नौबीसे, मलेखु र मुग्लिनका २२४ वटामा सो प्रतिनिधिमण्डलले अनुगमन गर्‍यो । सो प्रतिनिधि मण्डलले ४२ वटा चिया पसल, १२५ वटा चियादेखि खाना र मदिरासमेत बिक्री गरिने पसल र ६७ वटा खाना र लज मात्रै भएको होटलको सर्वेक्षण गरेको थियो । त्यस क्रममा खानीखोला नौबिसेका ६० वटामध्ये ४५ वटा मात्र होटल दर्ता गरेको, ३५ वटाले साइनबोर्ड राखेको र ४० वटाले शौचालयको प्रयोग गर्ने गरेको पाइएको थियो । मलेखुका ५० वटा होटलमध्ये ३५ वटामात्र दर्ता गरिएका, ४२ वटामा साइनबोर्ड राखिएको र ४२ वटाले शौचालय प्रयोग गर्ने गरेको तथा मुग्लिनका ११४ वटामध्ये ८७ वटा मात्रै स्थानीय निकाय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको पाइएको थियो । बाँकी २७ वटा भने अवैध रूपमै सञ्चालन गरिएका छन् । जसलाई कुनै निकायले कारवाही गर्न सकेको देखिँदैन । मुग्लिनमा ८५ वटा होटलले शौचालय प्रयोग गर्ने गरेको सर्वेक्षणमा संलग्न वाणिज्य विभागका शाखा अधिकृत शरद उप्रेतीले बताए । उनका अनुसार सबै स्थानका होटल भने अव्यवस्थित र फोहोर थिए ।

ड्राइभरको मनोमानी

दुई वर्ष अगाडि मुग्लिनदेखि उत्तर नौबीसेसम्मका होटल व्यवसायीले राजमार्गमा शुद्ध खाना खुुवाउन ड्राइभरलाई भत्ता दिन बन्द गरेका थिए तर चितवन रामनगरका होटल व्यवसायीले मनपरी भत्ता दिन थालेपछि नौबीसेसम्मका केही होटल बन्द भएका थिए । गाडी नरोक्लान भन्ने डरले पनि होटल व्यवसायीले ड्राइभरलाई भत्ता दिन थालेका छन् । ‘भत्ता नदिए कुनै पनि ड्राइभरले बस रोक्दैनन्’ एक व्यवसायी भन्छन् -‘रामनगरसम्म खाना नखुवाई गए ड्राइभरले एक हजार पाँच सय रुपियाँ भत्ता पाउँछन्, भत्ता पाए उनीहरूलाई पुग्छ, यात्रुको के चिन्ता ?’

राजमार्गमा चल्ने अधिकांश यात्रीबाहक बसका ड्राइभरले आफू अनुकूलका होटलमा लगेर खाना खुवाउने गरेका छन् । एक पटक खाना खुवाउन होटलमा बस रोकेेवापत ड्राइभरले दैनिक छ सय रुपियाँ र खाजा खुवाउन गाडी रोकेवापत मात्रै पनि तीन सय रुपियाँ भत्ता पाउने गरेका छन् तर यो विषयमा नेपाल यातयात व्यावसायी राष्ट्रिय महासङ्घ अनभिज्ञजस्तै बनेको छ । महासङ्घका अध्यक्ष दिनेश भण्डारी महासङ्घमा आवद्ध व्यवसायीले यस विषयमा आवाज नउठाएको बताउँछन् । उनको भनाइमा महासङ्घमा आवद्ध भएका बस व्यावसायीले आफ्ना मजदुरलाई यस विषयमा जानकारी दिनुपर्ने हो ।

अधिकांश होटल व्यवसायीले बसका स्टाफलाई निःशुल्क खाना र नास्ता खुवाउने गरेका छन् जसको बोझ यात्रीलाई पर्ने गरेको छ । भत्ता दिने होटलले भने नमीठो र अस्वस्थ्यकर खाना खुवाउने गरेको एक कन्डक्टरले बताए । तर आम नेपालीको स्वास्थ्यसँग सरोकार राख्ने यस विषयमा उनीहरू किन मौन रहन्छन् ? महासङ्घका अध्यक्ष भण्डारी भन्छन्, ‘यातायातकर्मीलाई सुधार गर्दा यात्रुको स्वास्थ्यमा सुधार हुने भए तुरून्त पहल गर्छौं ।’ ड्राइभर पनि आफूहरूले होटल व्यवसायीबाट भत्ता लिने नगरेको बताउँछन् तर यात्रुका गुनासा र राजमार्गमा हुने लापरवाहीलाई हेर्दा यातायातकर्मीले भनेका कुरा पत्याउने ठाउँ छैन ’cause धेरैजसो बसले खाजा तथा खाना खुवाउन एकान्तको होटेलमा बस रोक्ने गरेका छन् ।

राजधानीबाट दैनिक रूपमा दुई हजार आठ सय सवारी साधन थानकोट नाका हुँदै बाहिरिने गर्छन् । त्यहीँ मात्रामा भित्रिने पनि गर्छन् । त्यसमध्ये राजधानीबाट ५५० वटा यात्रुवाहक बस बाहिरिने र भित्रिने गर्छन् । यी यात्रुबाहक बसमा दैनिक रूपमा ४५ हजारको सङ्ख्यामा यात्रुको ओहोरदोहोर हुने गर्छ । राजधानीबाट बाहिने अधिकांश यात्रुबाहक बसले नौबीसेबाट खाजा खुवाउन सुरू गर्ने गरेका छन् । नागढुङ्गास्थित ट्राफिक प्रहरी सहायक निरीक्षक टीकाराम पुरीका अनुसार पूर्व र पश्चिमका लामो दूरीमा मात्रै झण्डै २५० को हाराहारीमा बस चल्ने गरेका छन् ।

वाणिज्य विभागले सार्वजनिक स्थलमा होडिङ बोर्ड राख्ने र खाना वा खाजा खानुअगाडि मूल्यसूची हेर्न आग्रह गर्दै जनचेतनामूलक कार्य गर्ने योजना बनाएको बताएको छ । वाणिज्य विभागका निर्देशक खिलनाथ बस्ताकोटी भन्छन् ‘राजमार्गमा यात्री नठगिउन भनेर जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएका छौँ ।’ तर सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखानझैँ योजनामै सीमित हुने देखिएको छ । हुन त खाद्य तथा गुण नियन्त्रण विभागले राजमार्ग केन्दि्रत गरेर शिक्षामूलक कार्यक्रम चलाएको थियो तर त्यो सफल हुन सकेको थिएन ।

‘यस वर्षदेखि फेरि पुरानो कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ’ विभागकी महानिर्देशक जीवनप्रभा लामा भन्छिन् – राजमार्गसँग सम्बन्धित अन्य निकायले ध्यान नदिएमा र सरकारले आर्थिक सहयोग नगरे त्यो पनि असम्भव छ । यो वहानावाजी मात्र हो, झारा टार्ने तकी होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घ र स्थानीय प्रशासन मिलेर राजमार्गका होटलको अनुगमन र व्यवस्थापन गर्ने हो भने राजमार्गमा यात्रा गर्ने यात्रुले न खानाको समस्या भोग्नु पर्छ न होटल व्यवसायी र यातयात व्यावसायीले यात्रीको गाली नै सुन्नु पर्छ । तर यी निकाय सधँ  मौन छन् ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.