रामेश्वर कार्की, वैशाख २८ । धादिङ जिल्लाको पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाविस ९ खयारघारीमा हिजो बिहान चार बजेतिर भएको बस दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । तिव्र गति र चालक निदाएर दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।
बाग्लुङबाट काठमाण्डौतर्फ जाँदै गरेको ना३ख ९६८१ नम्बरको बस सडकबाट अन्दाजी ७० फिट तल महेसखोलामा पल्टिएर दुर्घटना भएको हो । मृत्यु हुनेमा बाग्लुङ जिल्ला माल्मा घर भई हाल भक्तपुर टेक्निकल कलेजका प्रिन्सिपल रहेका अन्दाजी ३५ वर्षीय सूर्यबहादुर मल्ल रहेका छन् । अन्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी चौकी बैरेनीले जनाएको छ ।
घाइते सबैलाई उपचारका निम्ति काठमाण्डौ लगिएको छ । घाइते हुनेहरुमा बाग्लुङ माल्मा ७ का शेरबहादुर साहनी, बाग्लुङ हरियाका गोकुल बोहारा, बाग्लुङ पिखुका अमर नेपाली, उनकी श्रीमति स्मृति र २ वर्षीय छोरा, बाग्लुङ बिउका कमल कंडेल, राजेन्द्र कंडेल, राजु कार्की, तनहुँ राइकोटका भवित्सन विक लगायत रहेका छन् ।
Posted by: Jay Ale