निःशुल्क पाइने भिसामा असुली


– मोहन गुरुङ

वैदेशिक रोजगारको मुख्य गन्तव्य खाडी मुलुकमा श्रमिक निःशुल्क जान पाउने भए पनि व्यवसायीहरू बीचको अस्वस्थ प्रतिस्पर्धाका कारण सर्वसाधारण कामदारले प्रतिव्यक्ति झन्डै १ लाख रुपैयाँ खर्च गर्नुपरेको छ । व्यवसायीहरूले प्रतिव्यक्ति भिसा शुल्क ३५ हजार, टिकट शुल्क ३० हजार, सेवा शुल्क १५ हजार र कमिसन शुल्क १० हजार रुपैयाँभन्दा बढी लिएर औसतमा १२ हजार मासिक कमाइ हुने काममा पठाउने गरेका छन् । प्रतिमहिना १२ हजारको हाराहारीमा कमाउन कामदारले १ लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपर्छ ।

खाडी देशको श्रम कानुनमा विदेशी कामदार लिँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने प्रावधान रहे पनि नेपालका अधिकांश म्यानपावर व्यवसायीले विदेशी एजेन्टलाई भिसा शुल्क तिरेर कामदार कोटा ल्याउने गरेका छन् । यसका अतिरिक्त विदेश जाँदा लाग्ने हवाई भाडा र अन्य खर्चसमेत कामदारबाट नै लिने गरिएको छ ।

फिलिपिन्स, भारतलगायतका मुलुकबाट खाडी मुलुकमा कामदार जाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै दिने गर्छन् । नेपाल, बंगलादेश, पाकिस्तानलगायतका मुलुकले भने खाडीको श्रम कानुनअनुसार कामदार जाँदा लाग्ने सम्पूर्ण खर्च पाइने अवस्था भए पनि झन्डै १ लाख रुपैयाँ खर्च गरेर ती देशमा रोजगारीका लागि जाने गरेका छन् ।

वरिष्ठ वैदेशिक रोजगार व्यवसायीहरू विदेशबाट निःशुल्क भिसा ल्याए पनि रकम लिने प्रवृत्ति विकसित भएकाले कामदारले वैदेशिक रोजगारमा जान बढी खर्च गर्नुपरेको बताउँछन् । उनीहरूका अनुसार खाडीका अधिकांश ठूला र राम्रा कम्पनीले निःशुल्क भिसा दिए पनि नेपाली व्यवसायीले तथ्य लुकाएर कामदारसँग रकम असुल गर्दै आएका छन् ।

एसओएस, ब्लुस्काई इन्टरनेसनल, स्काई ओभरसिज, जेरी भर्घिज र दि रिभर ओभरसिजले विदेशमा पठाउने कामदारमध्ये ७६ प्रतिशत भिसा निःशुल्क ल्याएको भन्दै १५ देखि २५ हजार रुपैयाँसम्म रकम लिएर कामदार पठाउने गरेका छन् । यति रकम तिरेर लैजाने कम्पनीले यहाँ आएर आफैं कामदार छनोट गर्छ । कतिपय नेपाली कामदार विदेशी कम्पनीको छनोट परीक्षामा पर्न नसक्ने भएकाले आफैं साना एजेन्सी खोजेर १ लाख रुपैयाँको हाराहारीमा रकम तिरेर विदेश जाने गर्छन् । अहिले वैदेशिक रोजगारमा गएका कामदारमध्ये ९० प्रतिशतभन्दा बढी म्यानपावर व्यवसायीलाई भिसा र अन्य शुल्क तिरेका छन् ।

अधिकांश वैदेशिक रोजगार व्यवसायीले रोजगारदाता कम्पनीसँग सीधै कामदार कोटा ल्याउनुभन्दा विचौलिया दलाललाई शुल्क तिरेरै भए पनि कामदार ल्याउने प्रवृत्ति हावी भएको व्यवसायीले बताउने गरेका छन् ।

व्यवसायीबीच तीव्र प्रतिस्पर्धा, दक्ष कामदारको कमी, अन्य मुलुकसँग प्रतिस्पर्धा र विदेशी तथा स्वदेशी एजेन्टको चलखेलका कारण नेपाली कामदारले फ्रि भिसा र फ्रि टिकट पाउने क्रममा कमी आएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष तिलक रानाभाटले बताए । “पहिला म्यानपावर व्यवसायी सबैजसोले निःशुल्क भिसा ल्याएका थियौं,” उनले भने, “तर स्वदेशी एजेन्टले फ्रि भिसामा पनि ८० हजार रुपैयाँभन्दा बढी रकम लिइरहेको थाहा भएपछि रोजगारदाता कम्पनीले नेपालीलाई निःशुल्क भिसा दिन बन्द गर्न थालेका छन् ।”

सरकारले सबैभन्दा पहिले स्वदेशी एजेन्टको चलखेललाई रोक्नु आवश्यक रहेको उनको भनाइ छ । केही व्यवसायीबीच एजेन्टलाई तिर्ने कमिसनमा पनि होडबाजी चलेको उनले बताए । म्यानपावर व्यवसायीले  सीधै रोजगारदाताबाट कामदार माग ल्याउँदा टिकट, भिसा शुल्क र अन्य खर्च बेहोर्ने गरिएको रानाभाटले जानकारी दिए ।

“अहिले व्यवसायी र एजेन्टकै कारण सीधै रोजगारदाता कम्पनीबाट कोटा ल्याउन सकिदैन,” उनले भने “त्यसैले विदेशी एजेन्टबाट (कोटा) ल्याउन बाध्य छन्, जसले गर्दा नेपाली कामदारले बढी रकम तिर्दै आएका छन् ।”

२०४० सालताका विदेशी रोजगारदाता कम्पनीले नेपालको एजेन्सीलाई ५ सय डलर (३६ हजार रुपैयाँ) सेवा शुल्क, कामदारको टिकट र अन्य खर्चसमेत दिएर कामदार लैजाने गरेका थिए । नेपाली व्यवसायीमा अस्वस्थ्य प्रतिस्पर्धा बढ्दै गएपछि सेवा शुल्कको रकम घटाउने, शून्य कमिसनमा काम गर्ने, रोजगारदाता कम्पनीका एजेन्टलाई कसिमन तिर्ने, भिसा शुल्क तिर्ने, कामदारलाई टिकट खर्च हाल्न लगाउने र अन्य सेवा शुल्क लिने चलन अहिले उत्कर्षमा छ ।

एसओएस म्यानपावरले पठाउने कामदारमध्ये ७५ प्रतिशतले २० हजार रुपैयाँको हाराहारीमा औसतमा सेवा शुल्क तिरेका छन् । यो रकम म्यानपावरको शेवा शुल्क, सरकारबाट स्वीकृति लिँदा तिर्नुपर्ने शुल्कलगायतको हो । यो कम्पनीले वार्षिक ५ हजारभन्दा बढी नेपाली कामदार पठाउँछ ।

संघका अध्यक्ष सोमलाल बटाजूले अझै पनि रोजगारदाता कम्पनीसँग सीधै कामदार माग ल्याउन सकिने स्थिति भएको जानकारी दिए ।

स्काई ओभरसिज र जेरी भर्घिजले ७५ प्रतिशत कामदार निःशुल्क भिसामा पठाउने गर्छन् । अधिकांश रोजगारदातासँग सीधै ‘डिल’ गरेकाले नेपाली कामदारको टिकट र भिसा शुल्क पनि तिर्नु नपरेको कम्पनीका प्रबन्ध निर्देशक बलबहादुर तामाङले बताए । “अधिकांश फ्रि भिसा साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सबाट आउने गर्छ,” उनले भने, “त्यहाँ नियम कडाइ भएकाले एजेन्टको चलखेल कम हुन्छ ।” कामदारसँग आफूहरूले केही प्रवद्र्धन खर्च भने लिइरहेको उनले बताए ।

ब्लु स्काई इन्टरनेसनलका सञ्चालक प्रेम कटवालले आफूहरूले ८० प्रतिशत नेपाली कामदारको माग फ्रि भिसामा ल्याउने गरेको बताए । “४० प्रतिशत नेपाली कामदार फ्रि टिकट र फ्रि भिसामा जाने  गर्छन्,” उनले भने, “४० प्रतिशतले टिकट खर्च र २० प्रतिशतले भिसा तथा टिकट खर्च तिर्ने गरेका छन् ।” बिदेसिने कामदारबाट आफूहरूले ५ देखि १० हजार प्रवद्र्धन खर्च, कल्याणकारी कोष र बिमाबापत लिँदै आएको उनले बताए ।

कुनै पनि मुलुकमा सीधै कम्पनीबाट कामदारको माग ल्याउन सकिए नेपालबाट कुनै शुल्क तिर्न नपर्ने उनको भनाइ छ ।

लक्की ओभरसिजका सञ्चालक यामबहादुर केसीले मलेसिया र कुवेतमा सीधै रोजगारदाताबाट कामदारको माग ल्याउन नसकिने उल्लेख गरे । “त्यहाँ एजेन्टको चलखेल भएकाले कमिसन तिरेर माग ल्याउनुपर्छ,” उनले भने ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.