नारायण गोपाल ’bout थाहा नपाएका कुरा


– अच्युत कोईराला
नेपाली जातिका सर्वप्रिय गायक नारायणगोपालको जन्म वि.सं. १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । बुवा आशागोपाल गुरुवाचार्य र आमा राममाया गुरुवाचार्यका नौ सन्तानमध्ये माइला नारायणगोपालले बीएसम्मको अध्ययन गरे ।

सानामा लजालु स्वाभावका नारायण भजन मण्डलीहरुमा प्रशस्त जाने गर्दथे । उनका बुवा आशागोपाल सानो उमेरमा नै आफ्नो छोरोले तबलामा साथ दिन थालेकोमा निकै खुशी थिए । दिनभरको स्कूल र साँझ पर्ने बित्तिकै भजन मण्डलीको मनोरञ्जनले नारायणलाई सानैदेखि सङ्गीतको सङ्गत लागेको थियो । उनी किशोर अवस्थामा पुग्नासाथ दुइ कुराको आदि भए । एउटा चूरोट पिउने र घरनजिकैकी बेबीलाई एकतर्फी प्रेम गर्ने ।

पुराना कुरा सम्झदै प्रेमध्वज प्रधान सम्झन्छन्- “दुइ वर्षेदेखि बेबीलाई मन पराउँदो रै’छ, केटीले भने एकरत्ति नगन्ने । धेरैपछाडि हामीलाई थाहा भयो । हामीले उसलाई सम्झायौँ, घाँस पनि नहाल्ने यस्तालाई के मरिहत्ते गर्छस् ! गोडा भए जुत्ता कत्ति कत्ति भन्थ्यौँ । निकै पछाडि मात्रै उसले बेबीलाई ध्यान दिन छाड्यो ।”

“उसको एकतर्फी प्रेम छुटाउन मैले मेरी आमाको उदाहरण दिने गर्दथेँ,” प्रेमध्वज आफ्नो किशोरकालीन साथीको सम्झना गर्दै भन्छन्- “मेरो बुवा आमाको पनि लब म्यारिज थियो, तर उहाँहरुको प्रेम सफल हुन सकेन । पछि आमा बेग्लै बस्न थाल्नुभयो । प्रेम गर्यो भने दुःख पाइन्छ, मेरी आमाको हालत हुन्छ भनेर सम्झाएपछि उसले बल्ल बेबीलाई छोडेको थियो । धेरैपछि नारायणगोपाल हिट भएपछि बेबी पछुताएकी थिई ।”
“उसबेला नै गँजडी थियो, दिनभर पढाइबाहेक अरु काम थिएन त्यसैले उसलाई नपत्याएकी हुनसक्छ”, नारायणगोपालको पहिलो प्रेमको अन्त्यका ’bout प्रधान हाँस्दै बताउँछन् ।

यो त्यो बेला थियो, साइँला उस्तादका छोरा रत्नमान, माणिकरत्न, प्रेमध्वज प्रधान, नरेन्द्र बाटाजु, उमेरमा केही सानो भए पनि योगेश वैद्यजस्ता सङ्गीतप्रेमीहरु अर्का एक सङ्गीतप्रेमी लक्ष्मण श्रेष्ठको घरमा भेला हुन्थे । लक्ष्मण श्रेष्ठ सम उमेरका र उनी दिनभर पसलमा बस्ने हुनाले उनीसँग थोरबहुत पैसा हुने गर्दथ्यो । कहिलेकाहीँ लक्ष्मणको निगाहले त्यो समूह साँझ परेपछि मनपर्दी खान पाउँथे । उनको घरमा गीतकार राममान तृषितले एउटा कोठा भाडामा लिएका थिए नवकला परिवार संस्थाका लागि । क्लबजस्तो थियो त्यो कोठा । त्यही कोठामा नारायणगोपाल बेञ्च तानेर त्यसलाई ठटाउँदै गुन्गुनाउने गर्दथे तर साथीहरुले अलि राम्रो स्वर निकालेर गीत गाउन अनुरोध गरे भने लजाउँथे । तर बेञ्जलाई तबला ठटाएसरी अरुलाई गाउनमा स्वर खाप्न भने खप्पिस थिए ।
कहिलेकाहीँ यी साथीहरुले नारायणलाई ‘जौँ रेडियो’ भन्दा लजाउँथे ।
यो समूहको साँझको काम निकै रमाइलो हुन्थ्यो । १० रुपियाँमा माइक भाडामा ल्याउँथे । माइक भाडामा ल्याउने उत्रो रकम यो समूहमा लक्ष्मण श्रेष्ठबाहेक अरुसँग हुँदैनथ्यो । चार पैसामा फूलमार चूरोट आउँथ्यो, त्यो फुर्माइसी पनि लक्ष्मणले नै गरिदिन्थे । उसबेलाको एउटा रेडियो यस्तो हुन्थ्यो, माइकलाई रेडियोमा जोड्यो भने रेडियोबाट बोलेको आवाज आउँथ्यो र रेडियोमा गाएको आनन्द ती युवाहरु लिने गर्दथे ।
यो बेलासम्म प्रेमध्वज र माणिकरत्नले रेडियो नेपालमा हिन्दी गीत गाएर आफ्नो स्वर परीक्षण मात्र गराएनन्, पास पनि भए । तर नारायण स्वर परीक्षा दिन डराए ।

नारायणगोपालको घर खान्दानी । नेवार समुदायमा सबैभन्दा उच्च जात मानिन्छ गुरुवाचार्य । नारायणगोपालको घर ९० सालको भुइँचालोमा पनि केही क्षति नभएको । त्यति मजबूत थियो उनीहरुको बुनियाद ।
नारायण किशोरावस्थामा निकै बलिया बाङ्गा । कतिसम्म भने आफ्ना काकाको चुनावमा उहाँलाई सघाउन प्रेमध्वजले आफ्नो हितैषी साथी नारायणलाई चौतारा लगेका थिए । दुइ दिन लाग्ने बाटो यी दुइ ठिटाले ११ घण्टामै पार गरेका थिए ।

नारायण पढाईमा उति उत्कृष्ट थिएनन् । उनलाई स्कूले हिसाबबाट निकै घृणा थियो । हिसाब नै उनको दुश्मन थियो । अँग्रेजीमा निकै राम्रो थिए उनी । १० कक्षामा नै एक पटक हिसाबका कारण झण्डै फेल भएका थिए । १३ सालमा नै एसएलसी पास गर्नुपर्ने नारायणले १६ सालमा पास भएका थिए । राममान र प्रेमध्वजले उनको पढाईमा निकै सहयोग गरेका थिए ।

एसएलसी पास नगरी रेडियोमा स्वर परीक्षा दिन नजाने अड्डी कसेका उनले एसएलसी पासलगत्तै राममानको शब्दसङ्गीतमा पंक्षीको पंखमा धर्तीको याद दियो… गाएर भ्वाइस टेष्ट पास गरेका थिए ।
कलेज पढ्दाताका उनका साथीमा थपिए रत्नशम्शेर थापा र अन्य । यो समूहले उनको साङ्गीतिक ऊर्जालाई अझ मौलाउने अवसर प्रदान गर्यो ।
यसबीचमा उनले आँखाको भाका आँखैले…, मधुमास यो दिलको बाग नफुलिकन…, म भोरका किरण हुँ…, स्वर्गकी रानी मायाकी खानी…, भो भो नसोध मलाई…, कुञ्जमा गुञ्जियो…जस्ता हिट गीत गाए । यीमध्ये अधिकांश गीत रत्नशम्शेरका थिए । यीमध्ये कतिपय गीतहरु हिन्दूस्तानी, पाश्चात्य रक तथा पप शैलीमा गाएका थिए ।

यहाँ हिट भएपछि एक पटक नगेन्द्र थापालाई नारायणगोपालका पिताले भने- “ए, थापाकाजी लौ न मेरो छोरो त सस्ता गीत गाएर बिग्रन थाल्यो । अलि राम्रा गीत गाउन लगाउनु पर्यो ।”

नगेन्द्र यतिबेला सम्झन्छन्- “छोरो प्रेमप्रणयका गीतमा मात्र अल्झ्यो, शास्त्रीय सङ्गीतमा रत्ति मन दिएन भनेर बाबु चिन्तित थिए । त्यही भएर शास्त्रीय सङ्गीत सिकाउन बडोदा (भारत) पठाउने योजना थियो । पछि बाबुको इच्छा पूरा गर्न ऊ बडोदा गयो ।

बडोदा जाउञ्जेलअघि “ए कान्छा ठट्टैमा…” निकै हिट भइसकेको थियो । धेरै केटीहरु यो गीत आफैँमाथि लेखेको ठान्थे, आफैँलाई सम्झेर नारायणले गाएको ठान्थे । त्यस्तो ठान्नेमध्ये दार्जिलिङ सुकियापोखरीकी पेमाला लामा पनि थिइन् । जो सुकियापोखरीमा बीए पास उपरान्त स्थानीय स्कूलमा पढाउन थालेकी थिइन् । पेमाला मनमनै नारायणलाई मन पराउन थालेकी थिइन् र पत्रव्यवहार शुरु भइसकेको थियो । यसैबीच उनी बरोडा गए, शास्त्रीय सङ्गीत पढ्न ।

पत्रव्यवहार जारी नै थियो । खासगरी नारायणको प्रशंसामा पत्रहरु कोरिएका हुन्थे र नारायण पेमालाको लेखाईको प्रशंसक थिए ।
बडोदामा उनलाई पढ्न उति रुचिकर लागेन । “सबै थाहा भएकै त कुरा हो, नयाँ कुरा सिक्ने केही छैन”, साथीहरुसँग कहिलेकाहीँ गुनासो गर्ने गर्थे । उनी आफ्नो रुचिले भन्दा पनि बुवाको रुचिका कारण त्यहाँ पढ्न गएका हुनाले पढाईमा मन थिएन ।

अर्को कुरा, चूरोटमा गाँजा हालेर मजाले तान्नु उनको गायन जत्तिकै शोख थियो । बडोदामा विशेषगरी, पाठशालामा चूरोट पिउनु अपराध नै ठानिन्थ्यो । तलतल लाग्ने बित्तिकै उनी शौचालयमा शौचको बहानामा गाँजा र चूरोटको सर्को तान्थे । तर पछि गुरुहरुलाई पनि शंका लाग्न थालेपछि शौच पुग्न पाएको छैन, जासूसहरु आइपुगिहाल्ने । उनले बरोडामा सङ्गीत छोड्नुको मुख्य कारण यही थियो- मजाले चूरोटसँग गाँजा तान्न पाइँदैनथ्यो । धेरै केरकार हुन थालेपछि उनले पर्ढाई त्यागे र सीधै नगेन्द्र थापाकहाँ दार्जिलिङ पुगे । दार्जिलिङ पुग्नुको अर्को कारण चाहिँ सुकियापोखरीकी सुकन्या पेमाला थिइन् ।

पेमालालाई पहिलो पटक हेर्न उनी सन् १९६५ मा दार्जिलिङ गए । यसैबेला गोपाल योञ्जनसँग उनी पनि निकै नजिकिए । थोरै दिनका लागि आएका नारायण त्यहाँ पुग्दा नगेन्द्र थापाले पेमालासँग पहिलो पटक भेट गराइदिए । शुरुमा त पेमालाले नगेन्द्रलाई नारायण ठानेर अनौठो व्यवहार देखाइन् तर पछि नगेन्द्रले म नारायण होइन, ऊः पर छ भनेर देखाएपछि भने हाँसोको फोहोरा छुट्यो । त्यो बेला दुइ जनाको रोमाञ्चक भेटघाट हेर्न लायक् थियो । नारायण, गोपाल, नगेन्द्र र पेमाला नजिकैको सिमाना डाँडामा बसेर नारायणले पेमालाको अनुरोधमा “यो मौसम यो हरियाली” गीत गाए ।

यही बेला हो, नारायणगोपाल र गोपाल योञ्जनले मीत लगाएको । दार्जिलिङ बसाईकै क्रममा इश्वर बल्लभ, नारायणगोपाल, गोपाल योञ्जन, नगेन्द्र थापा, डा. गम्भीर योञ्जनसहित महाँकाल डाँडोमा मीत लगाउने कार्य सम्पन्न भयो । अँगेटी बालेर्रर् इश्वर बल्लभले केही पढे र दुवै आजदेखि मीत भयौ भनी मीत लगाइदिए ।

कल्पनाका उडन्ते कुरा गर्नु, जोक् गर्नु, खाना बनाउनु उनका अचम्मका शोख थिए । मेथीको अचार, बोसो भएको मासु, हलुवा, गुँदपाक, जेरी आदि शानदार ढङ्गले खाने उनको शोख थियो । खानुलाई उनी ‘भत्काउनु पर्छ’ भन्थे । खेलकूदमा फूटबल उनको सबैभन्दा मनपर्ने खेल थियो र उनी जीवित रहुञ्जेल काठमाडौँमा भएका फूटबल म्याच शायदै छुटे होलान् । चेस र तासको पप्लु खेलमा उनलाई विशेष प्रेम थियो ।

मीत लगाएपछि दुवैको शानदार मितज्यू नाइट सम्पन्न भयो । काठमाडौँदेखि दार्जिलिङसम्म एउटा भव्य टूरको आयोजना भएको थियो । यही कार्यक्रमको सिलसिलामा बिराटनगरस्थित नगेन्द्र थापाको घरमा बसाइँ बस्दा नारायणगोपाल र गोपाल योञ्जनले अनौठो नाम पाएका थिए । नारायणलाई घिऊकुमार र गोपाललाई खोर्सानीकुमार नाम नगेन्द्र थापाकी आमाले राखिदिनु भएको थियो । त्यहाँ बसाईको क्रममा नारायणले घिऊ निकै स्वाद लिएर खाए भने गोपालले थपिथपि खोर्सानी खाइदिए ।

यसपछि उनीहरुको बिहे भयो । बिहेपछि उनलाई किलागलस्थित घर ल्याइएन । त्यसबेला निकै लोकप्रिय भइसकेका हुनाले उनलाई सहयोग गर्न पोखरामा केही साथीहरु तत्पर थिए । तत्पर साथीमध्ये भूपि शेरचन र अन्य । पेमालालाई एउटा स्कूलमा जागीर पहिले नै खोजिसकिएको थियो । नारायण भने त्यसबेला सङ्गीतमै बढी रमाए । तर करिब सात आठ महिना त्यहाँ बसिसकेपछि नारायणलाई पोखराको वातावरणमा आफूलाई प्रतिकूल ठान्न थाले । यसपछि प्रेमध्वजलाई आफ्ना लागि केही जागीर खोजिदिन अनुरोध गरे । प्रेमध्वजले पनि माणिकरत्नलाई भनेर माणिकरत्नका साथी कन्हैया तिमिल्सिनालाई भनियो । कन्हैयाका काका त्यसबेला सांस्कृतिक संस्थानका सहायक महाप्रबन्धक थिए । यसपछि नारायणले नाचघरमा जागीर पाए र पेमालाले भारतीय एउटा जीवन विमा कम्पनीमा जागीर पाइन् । यहीँको जागीरको पैसा जोगाएर दुइ प्राणीले महाराजगञ्जस्थित तत्कालिन भूतबंगला छेउ तीन रोपनी जग्गा किने ।

यसपछि उनी निकै लोकप्रिय पनि अति लोकप्रिय भए ।
बि.सं. २०३६ सालपछि नेपाली राजनीतिक घटनाक्रममा केही परिवर्तन देखापरे । देशमा जनमत सङ्ग्रह घोषणा भयो र सुर्यबहादुर थापा प्रधानमन्त्री बनाइए । सुर्यबहादुर थापाका भाइ नगेन्द्र थापाले यो अवसरलाई त्यत्तिकै खाली जान दिएनन् र नारायण गोपाललाई नाचघरको महाप्रबन्धक बनाइदिए ।

महाप्रबन्धक बनेपछि केही सङ्गीतकर्मीको भनाइअनुसार उनी अलि बढी नै असहिष्णु बन्न थाले । माणिकरत्न उनका लगौँटी साथी थिए, तर उनको महाप्रबन्धकीय पालामा माणिकरत्नले नाचघरबाट हात धुनु पर्यो । नारायणले भन्ने गर्थे- “साथी महाप्रबन्धक भयो भन्दैमा बिहान १० बजे हाजीर बजाएर गायब हुने अनि एकै पटक हप्तौँपछि टुप्लुक्क देखा पर्ने, यो त भएन नि !”

यी महान् गायकहरुमा पछि यति तीतो बढ्यो कि एकअर्काको नामसमेत सुन्न चाहदैनथे ।

नारायणगोपाल नाचघरका एक पालेलाई लिएर साँझसाँझ पिउन बस्थे र सोध्थे- “ए भन्त, माणिकरत्न ठूलो गायक कि म ।”
“कहाँ मलद्वार कहाँ हरिद्वार ! यस्तो पनि तुलना हुन्छ ? गाउन त माणिकरत्न तपाईँभन्दा कहाँ हो कहाँ राम्रो नि !” पालेको र्सकाउने उत्तर हुन्थ्यो र नारायणले उसलाई परसम्म खेद्थे ।

यसभन्दा अघि तारादेवीसँग पनि नराम्रो झगडा परेको थियो । उनीहरुले कैयौँ गीत एकअर्कासँग नबोलीनबोली नै गाएका छन् । “ए कान्छा ठट्टैमा…” गाउँदा पनि यी दुइबीच बोलीचाली थिएन । तारादेवीलाई पछिसम्म पनि नारायणगोपालसँग अन्तिम अवस्थासम्म बोलचाल हुन नपाएकोमा ठूलो खेद थियो । दुवैबीच बिना कुनै ठूलो कारण बोलचाल बन्द भएको थियो र कसैले पनि त्यो बोलचाल खोल्न चासो देखाएनन् ।
खानमा कति शौखिन थिए भने, उनलाई डाक्टरले गुलियो पदार्थ खान प्रतिबन्ध लगाइसकेका थिए । न्युरोड आउने काम पर्ने बित्तिकै मोटरसाइकलमा पेमालालाई परै राखेर आधा किलो गुँदपाक एकै बुजोमा सिध्याएर मात्र घरतिर लाग्थे ।

लोकप्रियताको शिखर चुम्न थालेपछि भने नारायण केही अभ्याक्रामी (एग्रेसिभ) हुन थालेका थिए । पहलमान शरीर र पहलमानी सिकेका कारण पनि कसैलाई त उनी चुट्नसम्म अघि र्सर्थे । त्यसैले साथीहरुबीच उनी ‘असनको साँढे’ उपनामबाट पनि परिचित थिए । विशेष गरी साँझतिर केही पिइसकेपछि उनमा यो भावना बढी जाग्दथ्यो । बाहिर उनले यति पिउँथे कि आजीत भएर पेमालाले घरमा नै जाँड बनाउन शुरु गरेकी थिइन्, ताकि नारायण बाहिरतिर गएर नखाऊन्, खाए पनि आफ्नै अघिल्तिर खाऊन् ।

उनी चूरोट यत्ति पिउँथे कि एक दिनमा ४० वटा चूरोट सकिन्थ्यो । पछि विरामी पर्न थालेपछि रक्सी छाडे पनि दिनमा २५ वटा चूरोट त आहार हुन्थ्यो नै !

नारायणलाई खाना तात्तातो खानु पर्दथ्यो । तात्तातो खाना खाएर पसिनापसिना हुनु उनको अर्को शोख थियो ।

नारायणगोपालको कुनै पनि सन्तान भएनन् । ’cause पहिलो पटक पेमाला गर्भवती हुँदा पहिलो बच्चा पाठेघरको देब्रेतिर हुर्कन थाल्यो । जबकि बच्चा बच्चादानीमा हुर्कनु पर्ने थियो । अप्रेसन गरेर बच्चालाई फ्याल्नु पर्दथ्यो । “मलाई पेमालाभन्दा बच्चा प्यारो छैन”, भनेर उनले बच्चा फ्याले र यसपछि उनीहरु जीवनभर सन्तानविहीन बन्नु पर्यो ।

नारायणगोपाललाई अभिनयको शोख थियो भने उनी आफ्ना मनपर्दा साथीसँग भेट हुँदा शुरुमा आँखा झिम्क्याउँथे । नारायणगोपाल ईर्ष्यालु यदि कोहीसँग थिए भने प्रेमध्वज प्रधानसँग थिए । उनले फागुन १३ गते, २०४० सालको गोरखापत्रमा दिएको अन्तरवार्तामा त्यो कुरा व्यक्त गरेका छन् ।

२०४७ साल कात्तिक १८ गते वीर अस्पतालमा रोगले च्यापेपछि भर्ना भएका नारायणगोपालको मृत्युको कारण चाहिँ उनको मुख नै रहन गयो । डाक्टरले खान प्रतिबन्ध लगाएका भोजनहरु पनि उनी साथीहरुसँग झगडा गरीगरी खाइदिन्थे ।

उनको मृत्यु २०४७ साल मंसीर १९ गते वीर अस्पतालमा हुन पुग्यो । उनको मृत्युमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत थुप्रै राजनेता, कलाकर्मीहरुको उपस्थिति थियो । र, उनको लाश जलाउने बेलामा जति जनताहरु उपस्थित थिए, त्यो उपस्थिति कुनै कलाकारको मृत्युमा भएको उपस्थितिको एउटा रेकर्ड थियो । अनुमान अनुसार १० हजारभन्दा बढी श्रोता उनलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न आर्यघाट पुगेका थिए ।

जीवनभर लगभग ५०० गीत गाएका नारायण गोपालको जीवनकालमा भने जम्मा दुइ वटा गीति एल्बम मात्र बजारमा आए- रत्न रेकर्डिङ संस्थानबाट ‘ब्लु नोट’ र म्युजिक नेपालबाट ‘गीति यात्रा भाग-१’ ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )