ठमेलमा यौनकर्मीले ग्राहक बोलाउन छाडे


जितेन्द्र साह/काठमाडौं, वैशाख ८, सञ्चयकोष र ज्याठाका सडकमा यौनकर्मीको गतिविधि कम भएको छ । आक्कलझुक्कल देखिए पनि उनीहरू पहिले झैं सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी मोलमोलाइ गर्दैनन् । केही दिनदेखि स्थानीय र पैदल यात्रुलाई टाउको निहुराएर हिंडिरहनु परेको छैन ।  

ठमेलका पर्यटन व्यवसायी दीपेन्द्र अधिकारीले छोटो समयमा ठमेलमा देखिएका यी परिवर्तनले धेरै आस जगाएको बताए । ‘अधिकांश मसाज व्यवसायीहरू संयमित र अनुशासित देखिएका छन्,’ उनले भने । मसाजको राजधानीका रूपमा चिनिने ठमेलको भगवती बहाल, नरसिंह चोक, ज्याठा र पकनाजोल क्षेत्रमा झ्याल र गल्लीमा उभिएर यौनकर्मीले ग्राहक बोलाउन छाडेका छन् ।

‘पहिले झैं सीधै कुरा गर्न आउँदैनन्, ग्राहक भएर अनुगमन गर्दा पहिले झैं ग्राहकसँग यौनसम्पर्कका लागि मानेको कमै देखिएको छ’ अधिकारीले भने । धेरै वर्षदेखि विकृति र विसंगतिविरुद्ध लड्दै ठमेललाई ‘पारिवारिक र पर्यटक गन्तव्य’ बनाउन लागेका युवा पर्यटन व्यवसायी रमेश पौडेलले आशाका किरण देखिए पनि अझै चमत्कार भइनसकेको बताए ।

‘पहिलेभन्दा निःसन्देह विकृति र विसंगतिमा अल्पविराम लागेको छ,’ उनले भने, ‘सुरक्षा निकाय, पर्यटन निकाय र वडा कार्यालयले दैनिक अनगुमन र कारबाही गर्न छाड्नु हुन्न ।’ पौडेलले ठमेलप्रतिको सोच परिवर्तन हुनलाई चमत्कारिक परिवर्तनको आवश्यकता रहेको बताए ।

ठमेल पर्यटन विकास परिषद्ले राखेको सडक बत्तीले समेत आवागमन र सुरक्षामा सहयोग पुर्‍याएको छ । ‘ढिलो भए पनि सरोकारवाला व्यवसायी र स्थानीयसमेत आन्तरिक र बाह्य पर्यटकमा ठमेलको बन्न गएको गलत छविप्रति सचेत देखिए,’ परिषद्का अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले भने, ‘डान्स बार, होटेल, रेष्टुरेन्ट व्यवसायी र घरबेटीसमेत सचेत देखिए ।’

उनीहरू विगतका गल्ती सच्याउँदै गर्न सक्ने सुधार’bout सल्लाह माग्दै परिषद्, वडा कार्यालय र प्रहरी कार्यालय पुगिरहेका छन् । उनले भने- ‘पहिले झैं उनीहरूलाई खोज्दै हिंड्नुपरेको छैन ।’ मसाज र रेष्टुरेन्टको नाउँमा घर भाडा लिएर यौन अखडा सञ्चालन गर्नेलाई घर नदिने प्रतिबद्धता घरबेटीहरूले व्यक्त गरेको श्रेष्ठले जानकारी दिए ।

‘हामीले व्यवसाय होइन विकृतिमा रोक लगाउन खोजेको बल्ल उनीहरूले बुझ्न थालेका छन्,’ उनले भने । एक मसाज सञ्चालिकाले प्रहरी र परिषद्ले भनेपछि यौन व्यवसायलाई पूरै बन्द गरेको बताइन् । ‘तर, नियमित आउने ग्राहकसँग मसाजमा काम गर्ने केटीहरूको घनिष्टता हुन्छ, उनीहरू मन मिलेर बाहिर कुनै होटेल र लजमा गएर यौन सम्पर्क गरेमा हामी केही गर्न सक्दैनौं,’ उनले भनिन्- ‘यो पैसाको प्रलोभन, माया र मित्रताको कारणले पनि हुन्छ ।’

वडा कार्यालय सचिव सुमन अधिकारीले मसाजको नाउँमा बालयौन व्यवसाय र यौन व्यवसाय सञ्चालन गर्ने केही मसाजहरूलाई कालोसूचीमा राखिएको र आचारसहिंताको पालना नगरेसम्म उनीहरूको व्यवसायको नवीकरण नगरिने बताए ।

लैनचौर प्रहरी प्रभागले ठमेलमा यौनजन्य गतिविधि र पर्यटकलाई दुःख दिने हुल्याहाहरूलाई रोक्न सामुदायिक प्रहरीका ६ जना प्रशिक्षित प्रहरीसहित १६ जना नियमित सुरक्षाकर्मी परिचालन गरेको छ । ‘एक्लै गर्दा केही हुँदो रहेनछ, हाम्रो निरीक्षण र अनगुमन अभियानमा स्थानीयबासीले समेत साथ दिएपछि सकारात्मक परिवर्तन आएको छ’ प्रभागका प्रमुख निरीक्षक शिवबहादुर सिंहले भने, ‘९५ प्रतिशत सफल भएको लाग्छ, अब त शतप्रतिशत सफल हुने आस जागेको छ ।’

उनी अहिले आफै हिंडेर दैनिक अनुगमनमा ठमेलका हरेक टोल, गल्ली र चोक पुग्दै स्थानीयको प्रतिक्रिया बुझिरहेको बताए । उनले अहिले कडाइका साथ राति १२ बजेपछि ठमेल बन्द गरिंदै आएको बताए । ठमेल सुधार समितिका अध्यक्ष मोहन श्रेष्ठले  ठमेलमा देखिएको परिवर्तनको संकेतले स्थानीयले आरामले सुत्न र हिंड्न पाउने आस जागेको बताए । ‘अब पोहरपरारझैं रात्री गस्ती नगर्नु पर्ला कि ?’, उनले भने ।

उता दरबारमार्ग प्रहरी प्रभागले समेत ठमेललाई छुने आफ्नो सीमामा निगरानी बढाएर दुई दिनभित्र दुई ग्राहकसहित ८ जना यौनकर्मी महिलालाई पक्राउ गरेर फेरि उक्त क्षेत्रमा नदेखिने सर्तमा छाडेको छ । प्रभागले साँझ र राति सडकमा आएर ग्राहक खोज्ने पेसेवर यौनकर्मीको सूची नै बनाएर नियमित अनुगमन गरिरहेको छ ।

प्रभागका प्रमुख निरीक्षक कृष्णप्रसाद कोइरालाले सञ्चय कोष भवन र ज्याठा क्षेत्रको मसाजमा हरेक दिन ग्राहक बनेर सादा पोसाकमा सुरक्षाकर्मी र सुराकीहरू पुग्ने गरेको बताए । ‘अधिकांशले अहिले मसाजलाई मात्र पेसाका रूपमा अघि बढाएको देखिएको छ, धेरै रकम पाउने प्रलोभनमा कसैले यौनसेवा दिएको देखिएमा तत्काल समाएर ल्याउँछौं’ उनले भने । निरीक्षक कोइरालाले भने- ‘सादा पोसाकमा सुरक्षाकर्मीसहित सुधारको चाहना राख्ने स्थानीय युवाको समेत सहयोग लिइरहेका छौं ।’

Posted by: Jay Ale                                Source: ekantipur

One response to “ठमेलमा यौनकर्मीले ग्राहक बोलाउन छाडे

  1. i am happy because i lition this news

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.