कुवेतबाट उम्कन सफल १८ महिलामध्ये झापाकी कुशुम शर्मा निकै आँटिली


होम कार्की ( कान्तिपुर संवाददाता )

कुवेतबाट उम्कन सफल १८ महिलामध्ये झापाकी कुशुम शर्मा निकै आँटिली देखिइन् । उनी ‘बन्धक’को अवस्थाबाट मुक्त भएर घर फिर्न पाएकोमा जति खुसी देखिन्थिन्, त्योभन्दा बढी यहाँबाट अवैध रूपमा मानिस पठाउने दलालले त्यहाँको एजेन्सीसँग मिलेर गर्ने ‘मानव कारोबार’ देखेर चिन्तित थिइन् । यस्तै सोचाइ र भोगाइ अरू भुक्तभोगीहरूको पनि रहेको छ । त्यहाँबाट निकै तीता अनुभव बोकेर आएका उनीहरू मानव बेचबिखन गर्ने र श्रमको शोषण गर्ने दलालविरुद्ध कानुनी लडाइँ लड्ने सामूहिक योजनामा रहेका भए पनि त्यो यता आउनेबित्तिकै तुहिएको छ । ‘यहाँ आएपछि दलालविरुद्ध लड्न अरू तयार देखिएनन्’, शर्माले भनिन््- ‘तर म कुनै हालतमा छाड्दिन ।’

पछिल्ला दुई वर्ष मानवतस्करका रूपहरू, शोषणाका तरिकालाई  नजिकबाट नियाल्न र अनुभव गर्न पाएकी उनी कुवेत पठाउने झापाकै देवराज कुइँकेल, त्यहाँ शोषण गर्ने बेलबारीका रिता गुरुङलाई कारबाही गरेरै छाड्नेमा दृढ छिन् । मान्छेलाई बेच्न पाइन्छ ? प्रश्न गर्दै भनिन्-‘त्यतिकै छाड्ने कुरो हुँदैन ।’ त्यहाँ नेपाली महिलाको खरिददर भाषाको ज्ञान र कामको अनुभवको आधार तोकिन्छ । भाषा नजान्नेलाई ३ सय ६० दिनार (७९ हजार रुपैयाँ) र भाषा जान्नेलाई ४ सय ८० दिनार (१ लाख ५ हजार रुपैयाँ) मा किनबेच हुन्छ । नेपाली महिलालाई एजेन्सीहरूले आफ्नै सेल्टरमा राखेर बिक्री गर्छन् । त्यहाँबाट कुवेती साहुले छानेर लैजान्छन् । ‘सुरुमा ३ सय ६० दिनारमा बिक्री गरेछन्’, भनिन्- ‘अहिले सजिलै ४ सय ८० दिनार तिर्न तयार हुन्छन् ।’ खाडीका साउदी अरेबियामा यही अवस्था छ । साउदीको रियादस्थित दूतावासले भनेको छ- ‘एजेन्टले भिसा उपलब्ध गराएपछि धेरैजसो झन्डै ८ हजार तलबमा सहमति जनाई साहुको घरमा काम गर्न पुग्छन् । त्यहाँबाट साहुले महिलाको उमेर, जीउडाल, रूप, अरबी/अंगेजी भाषाको ज्ञान भए/नभएको आधारमा १२ हजारदेखि १६ हजार साउदी रियाल (३ लाख २० हजार  रुपैयाँ) मा खरिद गरी लान्छन् ।’ अझ लेबनानका एजेन्सीहरूले नेपाली महिला पठाउने एजेन्टलाई ५ सय अमेरिकी डलर दिन्छन् ।

त्यसरी मालिकले दुई वर्षका लागि हाउसमेडलाई लैजान्छन् । कामदारले पाउने तलब भने छुट्टै हुन्छ । अनिश्चित कामको चाप, तलब नदिने हुँदा त्यस घरबाट भाग्ने र भगाउने गिरोह सक्रिय हुन्छ । अल्पकालीन कामदार चाहिनेहरू धेरै आउने र त्यसबाट बढी फाइदा असुल्न पाइने, कामदारको जिम्मेवारी कानुनी रूपमा लिन नपर्ने हुँदा एजेन्सीहरू पनि साहुको घरबाट कामदार भगाउन सक्रिय हुन्छन् । त्यता पठाउने दलाललाई ठूलो आर्थिक लाभ हुने, पठाएको रेकर्ड नहुने र कानुनी झमेलामा नपर्ने हुँदा दलाल आर्थिक रूपमा कमजोर र एकल महिलालाई फकाइ-फुलाई आफ्नै खर्चमा त्यता उठाउन लागिपर्छन् । अझ त्यता पुगेर मनग्य फाइदा देखेका महिलाहरू गाउँघरबाट त्यता लैजान निकै खप्पिस छन् ।

खाडीमा हाउसमेडमा जान प्रतिबन्ध लगाएको भए पनि झन्डै दुई लाख महिला नाघिसकेको कूटनीतिक तथ्याङ्क छ । यसले महिला झन् ‘मानवतस्कर’को सिकार परेको दूतावासको ठम्याइ छ । जसलाई रोक्ने ‘ठोस’ योजना ल्याएको छैन ।  तत्कालीन सरकारले व्यवस्थित गर्न कतार, कुवेत, साउदी अरेबिया र युएई दूतावासलाई जिम्मेवार बनाई महिलालाई पठाउने निर्णय गर्‍यो । त्यसमध्ये कुवेतले कार्यविधि बनाएर काम गरिसकेको छ ।

एजेन्टलाई कानुनी दायराभित्र नल्याएसम्म महिलाको ओसारपसार रोकिने स्थिति छैन । पीडितले एजेन्टविरुद्ध उजुरी दिँदा प्रमाण नपुग्ने भन्दै प्रहरीले उजुरी नलिने, श्रम विभागमा दाबी नपुग्ने र प्रहरी एक/दुई दिन राखेर छाडिदिने वर्तमान अवस्था छ । अर्कोतर्फ दलालले अध्यागमन, रोजगारी विभाग, कूटनीति निकाय र मानव बेचबिखन नियन्त्रण सम्बद्ध निकायहरूका बीच आपसी तालमेल र समन्वयको अभावको सक्दो फाइदा लिइरहेको छ ।

अहिलेसम्म यससम्बन्धी राज्यसँग स्पष्ट दीर्घकालीन नीति, योजना र कार्यक्रम छैन । वैदेशिक रोजगारी र मानव बेचबिखनलाई स्पष्ट सिमाङ्कन गर्न नसक्नु र महिलासम्बन्धी यस्तो संवेदनशील विषयमा महिला मन्त्रालय दृश्यमा आउन नसक्नु पनि हो । यसको व्यवस्थापनमा अझै ढिलो गर्दै गरेमा झन् भयावह स्थिति भोग्नुपर्छ । अनि हलिउडकी चर्चित नायिका डेमी मुरहरू बेचबिखनमा परेका महिलाहरूको वृत्तचित्र बनाउने कार्यक्षेत्रको रूपमा नेपाल विकसित हुँदै जानेछ । त्यसबेला डेमीहरूले प्रधानमन्त्रीलाई आफू यसबाट निकै दुःखित भएको बताउँदै चेलीबेटी बेचबिखनप्रतिको सरकारको धारणा माग गर्दा प्रधानमन्त्री झलनाथ खनालको जस्तै बनावटी जवाफ आउनेछ- ‘सरकार चेलीबेटी बेचबिखनका लागि चिन्तित छ । गृह र महिला मन्त्रालयले विभिन्न योजनाका साथ काम गरिरहेको छ ।’

Posted by: Dambar Rimal                                            Source: ekantipur

One response to “कुवेतबाट उम्कन सफल १८ महिलामध्ये झापाकी कुशुम शर्मा निकै आँटिली

  1. good job bbc nepal.we can listen everywhere our news on wordwide.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.