काठमाडौं, चैत २५ (नागरिक) – प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबारसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिन सहमत भएका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा नेताहरु मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिन सहमत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बताए।
स्रोतको भनाईमा फोरम अध्यक्ष यादवले आफनो पार्टीलाई चार वटा मन्त्रालय दिनुपर्ने माग गरेका छन् भने प्रधानमन्त्री खनालले तीनवटा सम्म मन्त्रालयको जिम्मेवारी दिन सकिने बताएका छन्। माओवादी अध्यक्ष दाहालले भने अहिलेको मन्त्रीपरिषदमा मधेशलाई उचित स्थान दिइने प्रतिवद्धता ब्यक्त गरेका छन्। शुक्रवार फेरी हुने वैठकमा मन्त्रालयको टुंगो लाग्ने छ।
प्रधानमनन्त्री खनालले परराष्ट्र र उद्योग गरी दुई मन्त्रालय दिने बताएपनि फोरमले चारवटा मन्त्रालयको दावी गर्दै आएको छ। फोरमले थप मन्त्रालय माग गरेपछि आपुर्ति तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी समेत पाउने संभावना वढेको छ। फोरमले यसअघि एमाले र माओवादीको जिम्मामा परेको स्थानिय विकास र भौतिक योजना मन्त्रालय समेत दावी गरेपछि उसको सत्तारोहणमा ढिलाई भएको हो।
वैठकमा फोरम लगायत अन्य साना राजनीतिक दललाई समेत सरकारमा ल्याउने विषयमा समेत छलफल भएको थियो। माओवादी अध्यक्ष दाहालले आफनो पार्टीवाट मन्त्री हुने नेताहरुको नाम छिट्टै दिने बताएका छन्। यता एमालेले भने मन्त्रीहरुको छनौट गर्ने जिम्मा प्रध्ानमन्त्री खनाललाई नै दिएको छ। खनालले नरेश खरेल, गोकर्ण विष्ट, भानुभक्त जैसी, उर्मिला अर्याल र रघुवीर महासेठलाई मन्त्रीका लागि छनौट गरेको स्रोत बताउछ। यसअघि पार्टीको स्थायी कमिटी वैठकमा पनि खनालले मन्त्रीका लागि यही सुची प्रस्तुत गरेका थिए।
त्यस्तै विहीवारको नेतात्रयको वैठकमा शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा समेत नेताहरुवीच छलफ्कल भएको प्रधानमन्त्रीका सल्लाहकार थापाले बताए। माओवादी लडाकुहरुको समायोजनका लागि क्यालेण्डर निर्माण गरी त्यसलाई कार्यनवयन गर्दै शान्ति प्रक्रियालाई तीव्रता दिने कुरामा समेत नेताहरु सहमत भएका छन्। शान्ति प्रक्रियालाई तीव्रता नदिएसम्म संविधान निर्माण प्रक्रिया अघि वढन नसक्ने भन्दै प्रधनामन्त्री खनाल र फोरम अध्यक्ष यादवले लडाकु समायोजनको प्रक्रिया अघि वढाउन दाहाललाई आग्रह गरेका थिए। वैठकमा दाहालसँगै उपाध्यक्ष मोहन वैद्य पनि थिए।
Posted by: Shiva Paudel
Source: Nagarik