नौमुलेमा मेटिंदैछन्,’द्वन्द्वका दृश्य’


 दैलेख, चैत्र २४ – ‘गोलीले छियाछिया बनेको शरीर लिएर बचाउनुस् आमा भन्दै चौकीबाट म सुतेको खाटमा आयो । माओवादीहरू घरभित्र पस्ने डरले छोरालाई भकारीमा लुकाएँ । केहीबेरमै उनीहरूको हूल आयो । हामीलाई कुटेर बाहिर ल्याए र भकारीमा बम बर्साएछन् । छोराको प्राण भकारीमै गयो ।’

०५७ चैत २४ को त्यो घटनाको बेलीविस्तार सुनाउँदै गर्दा ७२ वर्षीया रत्नाकला जैसीको मन थामिनसक्नुभयो । बोल्दाबोल्दै शब्दहरू रोकिए । जुन रात दैलेखको तोली-५ स्थित नौमुले इलाका प्रहरी कार्यालय माओवादी निशानामा परी पूर्णरूपमा ध्वस्त भएको थियो । त्यही आक्रमणमा परी स्थानीय रत्नाकलाको छोरा महेशसहित ३२ प्रहरीको ज्यान गयो ।

आक्रमणमा बच्न आमाको काखमा पुगेका प्रहरी जवान महेश घरमै खरानी भए । आक्रमणकारीले रत्नाकलाको छोरा महेशसँगै अन्य प्रहरीहरू लुकेको आशंकामा चौकीनजिक रहेको उनको घर पनि ध्वस्त पारे ।

‘घटना सम्झनै डर लाग्छ यस्तो दृश्य कसैले नदेखुन्,’ रत्नाकलाले भनिन्, ‘काखैमा छोरो गुम्दाको जस्तो पीडा अब कुनै आमाले भोग्नु नपरोस् । म सम्झन पनि चाहन्नँ अब ।’ चौकी आक्रमणमा पड्केका बम बारुदका आवाजले गर्दा रत्नाकला र ७६ वर्षीय श्रीमान् पतिरामका दुवै कान कमजोर भएका छन् । ‘श्रीमान्ले पटक्कै सुन्नुहुन्न्,’ उनले भनिन् । त्यसै रात माओवादीबाट मरणासन्न हुने गरी कुटिएका उनीहरूका शरीरभरि नीलडाम छन् ।

शान्ति स्थापनापछि काठमाडौंबाट फर्केर उनीहरूले पुरानै स्थानमा घर बनाएर बसेका छन् । ‘प्रहरीलाई देख्दा छोराको झलझली याद आउँछ । आफ्नै छोरा सम्झेर तिनीहरूलाई माया गर्छुं,’ उनले भनिन् । घटनापछि उनीहरूका जेठो छोरा विद्या ढकाल परिवारका साथ काठमाडौंमा बस्छन् । पूर्वएमाले कार्यकर्ता ढकाल हाल नेपाल परिवार दलसँग सम्बद्ध किसान महासंघका केन्द्रीय अध्यक्ष हुन् । हाल घरमा यी वृद्ध दम्पतीमात्रै छन् ।

माओवादी द्वन्द्व रोकिएर यो परिस्थिति आउला भन्ने कल्पनासम्म नगरेकी रत्नाकला ती दिन सम्झन पनि चाहन्नन् । उनले भनिन्, ‘ती दुर्दशा सम्झेर के गर्नु ? यहाँ बसेका पुलिसलाई देखेर छोराको याद मेटाउँछु ।’ उसबेला र आजको नौमुले देखेर उनी आफैं दंग छिन् ।

तत्कालीन माओवादीको भनाइमा नौमुले पहिलो ठूलो र सफल आक्रमण थियो । यस क्षेत्रकै आड लिएर माओवादीले दैलेख, कालीकोट र जाजरकोटका विभिन्न प्रहरी चौकी र सेनाको क्याम्पमा आक्रमण गरी आफ्नो प्रभाव दरिलो बनाएका थिए । यसै घटनापछि सरकारले ग्रामीण भेकमा रहेका प्रहरी चौकीहरू सदरमुकाममा गाभेको थियो ।

माओवादी ज्यादतीको विरोध गर्दा यहाँका दर्जनौं सर्वसाधारण मारिए भने सयौं परिवार विस्थापित भएका थिए ।

सम्पूर्ण भौतिक संरचनाहरू क्षतविक्षत बने । स्थानीय वीरबहादुर तारामीले शान्ति स्थापनाका लागि नौमुलेका जनताले धेरै योगदान गरेको बताउँछन् । ‘दुवै पक्षबाट धेरैले रगत बगाएका छन्,’ तारामी भन्छन्, ‘अब बल्ल नौमुलेवासीका सुदिन आउन थालेका छन् ।’

 

नौमुलेको सम्भावना

नौमुलेको पुरानो पहिचान सशस्त्र द्वन्द्व प्रभावित क्षेत्रमात्रै होइन । राजनीतिक, आर्थिक, सामाजिक, भौगोलिक विकटता र विकासका हिसाबले जिल्लाकै पिछडिएको क्षेत्र पनि हो । इलाका नं २ का ७ गाविसको मुकाम हो, नौमुले । यहाँका ७ वटै गाविसमा जनजातिहरूको अधिक जनसंख्या छ ।

शान्ति स्थापनादेखि यता नौमुलेबजारको पहिचान बदलिएको छ । आसपासका गाउँहरू झलमल्ल छन् । लघुजलविद्युत् आयोजना बनेपछि यहाँ अँध्यारोको गुञ्जायस छैन । बिजुलीसँगै कम्प्युटर इन्स्िटच्युट, फोटोकपी, हुलाक टेलिसेन्टर, फिल्म हल सञ्चालनमा आएका छन् । द्वन्द्वका क्रममा विस्थापित बनेका प्रहरी, वन, कृषि, हुलाक, पशुसेवालगायतका सरकारी कार्यालयहरू पुनस्र्थापित भएका

छन् । उच्चमावि सञ्चालनमा आएपछि यहाँका युवाहरूलाई ‘प्लस टु’ पढ्न सदरमुकाम या जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।

मोटरबाटो पुगेपछि दिनहुँ मालबाहक र यात्रुबाहक सवारी साधनहरूको चहलपहलले नौमुलेमा रमाइलो छाएको छ । इलाका प्रहरी प्रमुख हिक्मतबहादुर थापा नौमुलेलाई यातायात सञ्जालले छोएपछि आसपासका गाउँहरूमा मोटरबाटो लैजान सजिलो भएको बताउँछन् । उनी भन्छन्, ‘सडक पहुँचले गर्दा प्रहरीलाई पनि काम कारबाहीमा सहजता ल्याएको छ ।’

जिविसका योजना अधिकृत पदम सापकोटाका अनुसार त्यस क्षेत्रका बालुवाटार, तोली, कालिका, नौमुले, सल्लेरी र द्वारी गाविसका डाँडाकाँडाहरूमा सडक पुगेको छ । ‘सडकमा आएको क्रान्तिले गर्दा गाउँ गाउँमा साना बजारको संख्या बढेको छ । स्थानीय उत्पादनले राम्रो मूल्य पाउन थालेका छन्,’ सल्लेरीका स्थानीय वासिन्दासमेत रहेका योजना अधिकृत सापकोटाले भने । घरजग्गाको कारोबार र होटल तथा बजार व्यवसाय बढेको छ ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयले द्वन्द्व प्रभावित नौमुलेको विकासका लागि क्रमागत बस्ती विकास योजना लागू गरेको छ । स्थानीयको मागबमोजिम नौमुले बजारमा सुविधासम्पन्न तालिम तथा सभाहल, इलाका प्रहरी भवन, प्राथमिक स्वास्थ्य केन्द्र, प्रसूतिगृह निर्माणको अन्तिम चरणमा पुगेका छन् ।

माओवादी सशस्त्र द्वन्द्व समाप्तिपछि यहाँको विकास र समृद्धिका लागि सरकारीसँगै गैरसरकारी संघसंस्थाहरूले पनि उत्तिकै लगानी गरेका छन् । जिल्ला विकास समिति सामाजिक विकास शाखाका अनुसार यस क्षेत्रमा झन्डै एक दर्जन एनजीओहरूले विकास निर्माण र आयआर्जनका क्रियाकलापहरू सञ्चालन गर्दै आएका छन् ।

Posted by: DPR                                                                  Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.