‘कुवेत गएका’ थुप्रै युवती हराए


रुद्र खड्का/निर्मल घिमिरे,

 बर्दिया,- विदेश जानुअघि एक वर्षपहिले गुलरिया-१ बेलगाडीकी १७ वर्षीया राजकुमारी चौधरीले बुबाआमालाई भनेकी थिइन्, ‘पैसा कमाएर टायल किन्ने पैसा पठाइदिन्छु, घर छाउन।’  आफ्नी ‘राजकुमारी’ को विदेशमा कमाएर पैसा पठाउने ढिपी बुबाआमाले टार्न सकेनन्। खरको छानाबाट बर्सेनि बर्खामा पानी जो चुहिन्थ्यो! गाउँकै दलाल नारायण सुनार र डिलाराम पौडेलले राजकुमारीलाई ‘कुवेत लगिदिने’ भन्दै थिए। उनीहरूले बुबाआमालाई फकाए पनि, ‘कुवेतमा राम्रो काम पाइन्छ, कामअनुसारै पारिश्रमिक पनि।’

  ‘पुगेकै भोलिपल्ट फोन गर्छु’ भन्दै दलालसँग ‘कुवेत हिँडेको’ एक वर्ष भइसक्दा पनि छोरीले फोन गरिनन्। अहिले छोरीको अत्तोपत्तो छैन। चिन्तित बुबाआमालाई शंका लागेको छ, ‘कतै दलालहरूले छोरीलाई त बेचेनन्!’

छोरीले पैसा पठाउली भन्ने आशामा बुबा देवारीले ऋण काढेरै घरमा नौ महिनाअघि टायल लगाए। ‘अहिलेसम्म छोरीको पत्तो छैन, ऋण तिर्न पैसा पनि छैन,’ उनले भने।

आमा देवीकुमारी भन्छिन्, ‘छोरीको फोन अहिले आउला, भरे आउला भन्दै एक वर्ष बितिसक्यो।’ पैसा कमाएर घरमा भरथेग गरूँला भन्ने छोरी सम्पर्कविहीन भएपछि चौधरीदम्पती अहिले छोरी खोजिदिन विभिन्न संघसंस्था चहारिरहेका छन्, केही पत्तो लाग्ला कि भन्दै। कहिलेकाहीँ गाउँमा झुल्कने सुनार र पौडेललाई ‘छोरी कहाँ गएकी’ भनी सोध्दा उनीहरू पनि ‘खोजिरहेको’ भन्दै उम्कने गरेको बुबाआमा गुनासो गर्छन्।

गुलरिया नगरपालिका ’roundबाट मात्र विदेश जान भन्दै घर छाडेका २६ युवती अहिले बेखबर छन्। आर्थिक अवस्था कमजोर भएका ती युवतीलाई कुवेत लैजाने भन्दै दलालले दिल्ली वा मुम्बई पुर्‍याउने र त्यसपछि उनीहरूसँग सम्पर्कै नहुने प्रहरी बताउँछ। बर्दिया प्रहरी कार्यालयकी प्रहरी सहायक निरीक्षक कल्पना रानाका अनुसार दुई वर्षभित्र यी युवती हराएका हुन्।

गुलरिया-१ बेलगाडीका बुद्धिराम थारू पनि एक वर्षयता निराश छन्। आर्थिक संकटमा परेपछि उनले चार बच्चालाई आफैं स्याहारसुसार गर्ने भन्दै २९ वर्षीया पत्नी राजकुमारी थारूलाई ‘कुवेत’ पठाएका थिए। ‘गत वर्ष चैतमा कुवेत जान भनी दलालसँग दिल्ली गएकी थिइन्, त्यसपछि पत्तो छैन,’ थारूले दुःखी हुँदै भने, ‘धनको आशले साना बालबालिका छाडेर पत्नीलाई विदेश पठाएँ, अहिले यस्तो भयो!’ उनलाई पनि सुनार र पौडेलले नै कुवेत लैजाने भन्दै दिल्ली पुर्‍याएका थिए।

देवारीका अनुसार विदेशबाट रकम पठाएपछि १० हजार दिने सर्तमा दलालले दुवैलाई विदेश पठाएका हुन्। पासपोर्ट बनाउँदा लाग्ने खर्चसमेत दलालले ब्यहोरेको उनले बताए।

पछिल्लो समयमा बर्दियाका गाउँगाउँबाट राम्रो कमाइको आशामा विदेश जाने भन्दै महिला हराउने क्रम बढेको प्रहरी बताउँछ। ‘हराउने महिला कहाँ जान्छन् भनेर पत्ता लगाउन निकै गाह्रो भएको छ,’ रानाले भनिन्, ‘कतिपय महिला भाषाको समस्याले पनि सम्पर्कविहीन भएका हुनसक्छन्।’

महिला हराउने क्रम बढेपछि भारतसँग सीमा जोडिएका बलैगाउँ र कालिका नाकामा जाँच कडा पारिएको उनले बताइन्। विदेश पठाउने दलाल सम्पर्कविहीन भएकाले हराएका महिलाको खोजी गर्न गाह्रो परेको प्रहरी बताउँछन्। गुलरिया नगरपालिकाअतिरिक्त सानोश्री, कालिका, बाँसगढी, राजापुरलगायतका गाउँबाट महिला हराएका छन्।

Posted by; Shiva Paudel

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.