पोखरा, २२ चैत । जिल्ला जनगणना कार्यालय कास्कीले आगामी असार ३ देखि १३ गतेसम्म जिल्लाका दुई नगरपालिका र ४३ गाविसमा गर्ने जनगणनाको तयारी पुरा गरेको छ । जनगणनाका लागि कार्यालयले करिब १४० जना सुपरभाइजर र ५०० जना गणक खटाउने भएको छ । कार्यक्रम सञ्चालनका लागि एक जिल्ला कार्यालय र चारवटा इलाका कार्यालय सञ्चालन गरिएको छ ।
वि.सं २०६८ जेठ १ देखि १८ गतेसम्म गणना सुपरीवेक्षकले हरेक घरपरिवारको सूचीकरण गर्ने र त्यसपछि असार ३ देखि १३ गतेसम्म गणकले विस्तृत जनगणना तथ्याङ्क सङ्कलन गर्नेछन् ।
सुपरभाइजरका लागि ना.सु वा नि.मा.वि.स्तरका शिक्षक र गणकका लागि खरिदार वा प्रा.विस्तरका शिक्षक खटाइने बताइएको छ । एक सुपरभाइजरले आठसयदेखि एक हजार घरपरिवारको सूचीकरण र एक गणकले दुईसयदेखि तीनसय घर परिवारको गणना लिनुपर्ने हुन्छ ।
जनगणनामा कोही नछुट्ने र कोही नदोहोरिने गरी व्यक्तिको गणना अक्सर बसोबास गर्ने ठाउँबाट गरिने नियम भएकाले सोही अनुसार हरेक व्यक्तिले आफू धेरैजसो जहाँ बस्ने गरेको हो, त्यही स्थानबाट मात्र विवरण लेखाउन जनगणना कार्यालयले सबैसँग आग्रह गरेको छ । जनगणनामा विदेशमा बस्ने नेपालीको सङ्ख्या उल्लेख गरिएपनि व्यक्तिगत विवरण भने नभरिने थाहा भएको छ । यसैबीच कार्यालयले आज यहाँ लैङ्गिक तथा सामाजिक समावेशीयुक्त राष्ट्रिय जनगणनासम्बन्धी सचेतना गोष्ठीको आयोजना गरेको छ ।
Posted by: अमर गुरुङ, कुवेत