मधुर छैन मधुको क्षेत्रीको कथा


दुइ जोर खुट्टा थियो, चप्पल चाहिँ एकै जोर। दुई वटा पेट थियो तर थाल एउटै, गिलास एउटै। काठमडौंमा बाँच्नुको  मात्र मतलब थियो। कतिबेला कताबाट अबसर पाइएला भन्नुबाहेकको अर्को ध्याउन्न थिएन। सँगैको दौतरी मौका  मिलेर बम्बईको हावा खान पुग्दा आफूचाहिँ फेरि वीरगञ्जको बिर्ता पुग्नु पर्दा जीवनको नाममा उनले थुप्रै्र विरक्तिका गीत गाए। समयान्तरमा दिन बदलियो, समय आफ्नो पक्षमा क्रमश घिसि्रँदै आयो र आजको सङ्गीत बजारले पानी  खाने निहँले तिम्रो घरमा आउँला भन्दै गीतजस्तै एउटा मीठो मधु क्षेत्री पायो।  

समकालीन सङ्गीतक्षेत्रका सर्वाधिक लोकप्रिय गायक उदितनारायण झा र मधु क्षेत्रीले एकताका एउटै सूत्रको जीवनमा  भोगेका कठिनाई अघिल्लो हरफमा पाउँदा लाग्न सक्थ्यो कुनै चलचित्र पटकथाको अंश हो। तर, होइन। उदित र  मधुले भोगेका जीवनको स्वर्णिम भोगाइ हो त्यो, साझा भोगाई। पुतलीसडकको बसाइ। दुबै भाइ दिनमा एकपटक  देश नै सञ्चालन गरिने सिंहदरवारस्थित रेडियो जानै पर्ने परिस्थिति। एक भाइको जागिर, अर्को भाइ अवसरको  खोजीमा। उदित चप्पल लगाएर रेडियो नेपाल जान्थे, मधु उपन्यास पढेर एक घन्टा काट्थे। फेरि, उदित हाजिरी  बजाएर आउँथे अनि त्यही चप्पल लाएर मधु जान्थे रेडियो नेपाल।
 
२०३१ सालको असोज ८ गते वीरगञ्जबाट काठमाडौं पुग्ने नाइटबसमा चढेदेखि नै मधु क्षेत्रीमा काठमाडौंबाट देशदेशावरमा चिनिने अभिष्ट जन्मियो। र, एकदिन वीरगञ्ज, माईथानको घन्टी बजेसरी एउटा गीत धन्कियो,  वीरगञ्जस्थित बिर्ताको माटोलाई उन्नत साबित गर्दै। उर्जाशील वीरगञ्जले अर्को सन्तति पाएको त्यो गीत थियो  साईंली र माइली पोइल गएछन्, गाउँघरलाई शून्य पारेर…..। गीत थियो उदितनारायण झा र मधु क्षेत्रीको आवाजमा।
 
मधु क्षेत्रीको हातमा रेडियो नेपालले २०३२ सालमा ग श्रेणीको आधुनिक गायकको एउटा प्रमाणपत्र नामधारी खोस्टो त  थमायो तर त्यसको कुनै मतलब रहेन। तराईबाट भर्खर आएको ठिठो, त्यो भैया ले सिंहदरवारको मस्तुललाई जतिपटक ढोगे पनि, रेडियोका माड्साबहरुलाई जति भनसुन गरे पनि केही सीप चलेन। एकदिन रेडियोका डाइरेक्टर कृष्णबहादुर खत्रीसँग लौन हजुर, केही सोचिदिनू पर्‍यो भनेर आग्रह गरेपछि आधुनिक गीतमा ग श्रेणीको प्रमाणपत्र पाउने मधु क्षेत्रीलाई मौका मिल्यो बालगीत गाउने। र, स्वाभिमान मधुले तत्कालै जवाफ फर्काए धत् म बेकामे हुँ र! वरिष्ठ उद्योगी गोपालजी नेपाली मधुको आफ्नै काका। शुरुका दिनहरु काकाकोमा बिते पनि कमाईधमाई बिना  आफन्तकोमा बसिरहनु उपयुक्त लागेन उनलाई। उदितले आइज पुतलीसडकमा डेरा हेरेको छु, त्यतै बसौं भनेपछि  मधुका सुखद् संघर्षका दिनहरु शुरु भएका हुन् पुतलीसडकबाट।

उदितसँग गाएको गीत साईली र माइली…. पछि मधुका हातमा अवसरहरुको ओइरो नै लाग्न थाल्यो। बासुदेव मुनालसँग गाएको पानी खाने निहुँले तिम्रो घरमा आउँला… भन्ने गीतले पनि बजार पिट्यो। त्यहीबेला हो रेडियोबाट  अर्को लोकगीत चर्चामा आयो 
घर त लगनखेल
हासौं खेलौं पातली दुई दिन बाचुञ्जेल।  
 
यसरी रामरमाइलो गर्दागर्दै जीवनको गति एकपटक टक्क अडियो। ०३४ साल आयो। जीवनभर नभुलिने भयो, त्यो  ०३४ साल। एउटै खुशीमा रम्ने, एउटै दुःखमा रुने प्रिय उदितलाई भारतीय दूतावासले छात्रवृत्तिमा बम्बई पठायो। र, मधु भए एक्लो। उदितनारायण झा रेडियो नेपालका जागिरे थिए। जाँदा उदितले मधुलाई धेरै केही दिन सकेनन्,  बस् यत्ति भनिदिए मेरो जागिर तैं खा यार! इण्डिया बसाइमा केही सकें भने म तेरो लागि गर्छु। यसो भन्दै उदित  लागे नौतुना रेल स्टेशनतर्फ र मधु वीरगञ्ज पुग्नका लागि सुन्धारा बसपार्क तर्फ। मान्छेले एउटै काम मात्रै गर्नुपर्छ  भन्ने छैन भन्ठानेर मधुले पाकिस्तान र नेपालको संयुक्त लगानीमा निर्मित चलचित्र जीवनज्योतिमा मुख्य सहायक  निर्देशकको काम पनि गरे। र, त्यही चलचित्रमा मधुले गाएको गीत चर्चामा आयो। गीत थियो मेरो माल मलाई  फर्काइ दे बाबु, ज्यान जोगाउनु छ भने। भीम विरागको शब्द र सङ्गीतमा २०३६ सालमा रेकर्ड भएको मधुको गीतले मधुलाई कालजयी गायकका रुपमा  चिनाउन उत्तिकै भूमिका खेल्यो। गीत हो 
फूलै फूल मात्र पनि होइन रैछ जीवन
काँडाबीच फूल्ने फूल रैछ जीवन…।
 
फेरि, कोइलीदेवीको सङ्गीत र भैरवनाथ रिमाल कदमको शब्दमा अर्को गीत आयो 
तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको….  
 
मधु क्षेत्रीको गायकीय जीवन अब यति समृद्ध बन्यो कि जन्मजन्मान्तरका लागि मधु क्षेत्री बाँच्ने आधार बने गीतहरु। स्व. विनोद ढकालले लेखेको र मधुको स्वर रहेको अर्को गीत छ 
हुरीले उडाउन सकेन, पत्थरले टुटाउन सकेन
 
किनकिन आजसम्म उनको मन फर्काउन सकिनँ। विनोद मरेर गए, गीत जिउँदै छ, यस अर्थमा विनोद जिउँदै भएको  मधुको ठहर छ। मधु क्षेत्रीको जन्म २०१३ साल बैशाख ९ गते वीरगञ्जको बिर्ता भन्ने ठाउँमा भएको हो। नेपाली  गायनक्षेत्रमा आफ्नो पृथक पहिचान बनाएर पनि आफूले विगतमा कायम गरेको विशिष्ट गायकीय व्यक्तिवलाई  जोगाउन सक्नुलाई उनी आफ्नो जीवनको ठूलो चुनौतीका रुपमा लिने गर्दछन्। पछिल्लो छिमलमा देखिएका  संगीतकर्मीबाट नेपाली संगीतक्षेत्रले अपेक्षाकृत उपलब्धि हासिल गर्नसक्ने मधुको ठहर छ। तर, नेपाली संगीतको  विशिष्ठ परम्परालाई अस्वीकार गर्ने हो र मनखुशी संगीत सिर्जनाको नाममा आत्मपरकरुपले यसमा लाग्ने हो भने  त्यसबाट नेपाली संगीतले कुनै उल्लेख्य उपलब्धि हासिल गर्न नसक्ने विचारमा पनि उनी दृढ छन्।

आफ्नो पुस्ताका  संगीतकर्मी शम्भूजीत बासकोटा, दीप श्रेष्ठ, राम थापा, शिलाबहादुर, प्रकाश श्रेष्ठहरु नेपाली सङ्गीतबजारमा प्रतिनिधि  पात्रका रुपमा दरिएकोमा मधु खुशी व्यक्त गर्दछन्। भन्छन् साथीभाइको सफलतामा रमाउनु पनि एक किसिमको
 मज्जा नै रहेछ। सङ्गीतको व्यवसायमा आफूलाई प्रवलस्थानमा सुरक्षित राख्न सक्नु आफ्ना छिमलका सहकर्मीको  गौरवगाथा रहेको ठहर गर्ने मधु आफूले पनि सङ्गीतलाई नै दैनन्दिन र जिम्मेवारीका रुपमा नलिएका होइनन्। तर,  बीचका केही समय खाली बस्नुको कारणले आफू केही मात्रामा पछि परेको मधु स्वीकार्छन।  
 
उनी डिजिटल सिम्फोनिक रेकर्डिग स्टुडियाको महाप्रबन्धकका रुपमा लामो समय कार्यरत् रहेका थिए। त्यसबाहेक सिने  साउड,माष्टर रेकर्डिङ्गलगायतका विभिन्न संगीतसम्बद्ध संस्थामा उनी संलग्न रहेका थिए। लामो समय रेडियो नेपालको
 छानामुनि जीवनका उल्लेख्य घामपानी खेप्ने मधुको आवाज रेडियो स्रोताका लागि मनमोहक प्रस्तुतिको रुपमा रहँदै  आएको छ। पछिल्लो समयको एफएम जेनेरेशनलाई मधुले चलचित्रका गीतबाट पनि आकृष्ट गरेका छन्। चमत्कार  चलचित्रको गीत फर्सि मोटाउला, राती राती बास्ने भाले चट्टै छिनाउँलालगायतका उनका गीत चर्चामा रहेको थियो।  उनी विभिन्न नेपाली चलचित्रका संगीतकार पनि हुन्। संघर्षलाई जीवन मान्ने मधु आफूलाई कष्टको फल मधुर र  मनमोहक लाग्ने बताउँछन्।  

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.