दक्षिण एसियाली देशहरू भारत, बंगलादेश र श्रीलंकामा आयोजित दसौं विश्वकप क्रिकेट प्रतियोगिता करिब ५ सय अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्दै सम्पन्न भएको छ । फेब्रुअरी १९ बाट सुरु भएको प्रतियोगिताले विज्ञापन, प्रसारण तथा व्यापारमा चलहपहल बढाउँदै भारतीय अर्थतन्त्रलाई गतिशील बनाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ईसपीएन स्टार स्पोर्ट्सलाई करिब २ अर्ब अमेरिकी डलर (१ सय ५० अर्ब रुपैयाँ) मा प्रसारण अधिकार बिक्री गरेको थियो । यो संस्थाले विश्वका २ सय २० देशमा प्रसारण अधिकार लिएको थियो ।
यसका अतिरिक्त ५० करोड अमेरिकी डलरभन्दा बढीको विज्ञापन प्राप्त भएको छ । टेलिभिजन र विज्ञापनमा मात्रै २ सय २५ अर्ब रुपैयाँ खर्च भएको छ । यसबाहेक विश्वका विभिन्न मुलुकका स्थानीय सञ्चार माध्यममा पनि वस्तु तथा सामानको अर्बौंको विज्ञापन प्रवाह भएको थियो । क्रिकेट विश्वकप विश्वमा फिफा र समर ओलम्पिकपछि तेस्रो ठूलो खेल मानिन्छ ।
लगभग २० लाख टिकट बिक्रीबाट कम्तीमा पनि १ सय २५ देखि १ सय ५० करोड भारु आम्दानी भएको छ ।
विश्वकपमा रिलायन्स कम्युनिकेसन, एलजी, पेप्सिको, रिबक, हिरोहोन्डा, इमिरेट्स, याहु, क्यास्ट्रोल र मनीग्रामले रंगशालाभित्र विज्ञापन गरेबापत १२ सय करोड भारु खर्च गरेका छन् । सोनी इन्डिया, हिरोहोन्डा र भोडाफोनले टेलिभिजनमा प्रसारणका लागि संयुक्त रूपमा ५५ करोड भारु खर्च गरेका छन् ।
यसैगरी नोकिया, पेप्सी, मारुती–सुजुकी, फिलिप्स इन्डिया र एयरटेल डिजिटल टिभीले जनही ३५ करोड भारु खर्च गरेका छन् । आइडिया सेलुलरले विज्ञापनमा ४० करोड भारु खर्च गरेको छ । भोडाफोनले विज्ञापनकै लागि ७५ करोड तथा सोनी इन्डियाले १ सय करोड र एलजीले ७० करोड भारु छुट्ट्याएका थिए ।
विश्वकप फाइनलमा विज्ञापन दर संसारभर निकै उच्च भएको थियो । भारतीय टेलिभिजनमा प्रति १० सेकेन्डको विज्ञापनदर भारु ३० लाखसम्म पुगेको थियो । इन्डियन प्रिमियर लिग, सन् २००७ मा भएको भारत–पाकिस्तानबीचको ट्वेन्टी–२० फाइनल खेल तथा कौन बनेगा करोडपति, बिग ब्रदर र इन्डियन आइडियलजस्ता रियालिटी सोभन्दा पनि फाइनलको मूल्य महँगो थियो ।
भारतमा मात्रै १ सय ५० करोड भारतीय रुपैयाँ विज्ञापनमा खर्च भएको छ । उपमहाद्वीपीय उड्डयन र आतिथ्य सत्कारसम्बन्धी उद्योगहरूका अनुसार खेल अवधिभरमा १ सय करोड भारु आम्दानी भएको छ ।
क्रिकेटको अवसरमा हुने विज्ञापन खर्चले व्यापारिक अवसर पनि सिर्जना भएको देखिन्छ । मदिराजन्य वस्तुदेखि नरम पेयपदार्थ र टेलिभिजनलगायतका विद्युतीय उपकरणको बिक्री पनि यो अवसरमा उच्च हुन्छ । यसबाट विश्वभरको अर्थतन्त्रमा उल्लेख्य नगद प्रवाह हुन्छ ।
होटल तथा रेस्टुराँको कारोबारसमेत उल्लेखनीय रुपमा वृद्धि हुने गरेको छ । मनोरञ्जन उद्योगले पनि यो समयमा बढी फाइदा पाउँछ ।
Posted by: Raju Gurung