ध्रुव दङ्गाल, सुकुटे सिन्धुपाल्चोक, चैत १९ – एकीकृत नेकपा माओवादीको स्थायी समिति वैठक सिन्धुपाल्चोकको सुकुटेस्थित इक्वेटर विच रिसोर्टमा सुरु भएको छ। पार्टीको आन्तरिक विवाद, सरकार विस्तार लगायतका विषयमा छलफल गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल, तीन उपाध्यक्ष र नेताहरु भोटेकोशी किनारको रिसोर्टमा पुगिसकेका छन्।
‘खुला वातावरणमा खुला दिमागले छलफल गरौ भनेर यहाँ आएका हौं,’ माओवादी नेता तथा शान्ति मन्त्री वर्षमान पुनले भने, ‘मुलुकको राजनीतिक अवस्था जटिल मोडमा भएकाले यहाँ बसेर वैठक गर्ने निर्णय गरेका हौं।’
उनले लडाकु समायोजनको विषयमा नेपाली सेनाले अघि सारेको प्रस्ताव सकारात्मक भएको बताए। ‘समायोजन सम्वन्धि अरु काम सबै विशेष समितिले गर्छ,’ उनले भने। ठूला राजनीतिक दलको रुचिमा संविधान निर्माण प्राथमिकतामा नरहेकाले अवका दिनमा कसरी अगाडि बढ्ने भन्नेमा वैठकमा छलफल हुने उनले जानकारी दिए।
माओवादी नेता अग्नी सापकोटाले वैठक दुई दिनसम्म चल्ने बताए। उनका अनुसार पार्टीभित्रको आन्तरिक विवाद, सरकार विस्तार, संविधान निर्माण लगायतका एजेन्डामा वैठक केन्द्रित रहने छ।
Posted by: Shiva Paudel
Source: Nagarik