चैत्र १९ – अफगानिस्तानको मजार-ए-सरिफस्थित राष्ट्रसंघीय कार्यालयमा आक्रोशित मुस्लिमहरूले शुक्रबार गरेको सांघातिक आक्रमणमा ५ नेपालीसहित १३ जनाको मृत्यु भएको छ ।राजधानी काबुलको सुदूर उत्तरी भेगमा पर्ने मजार-ए-सरिफमा रहेको मस्जिदमा शुक्रबारको प्रार्थना सभा पूरा भएपछि सोही प्रार्थनासभामा आएकाहरूले नजिकैको राष्ट्रसंघीय कार्यालयमा अचानक हमला सुरु गरेका थिए । हमला गर्न गएका समूहले सुरक्षाकर्मीको बन्दुक र हतियार खोसेर उनीहरूमाथि प्रहार सुरु गरेका थिए । हमलामा सुरक्षा गार्ड रहेका नेपालीमध्ये दुईको टाउको छिनालिएको र अरू तीनले झडपमा ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमका काबुलस्थित एक प्रतिनिधिले बताए । ती नेपालीको परिचय भने खुल्न सकेको छैन ।
अमेरिकाको फ्लोरिडास्थित एउटा सानो चर्चमा रहेका पादरीले इस्लाम धर्मग्रन्थ कुरानलाई गत महिना जलाएको विषयलाई मजार-ए-सरिफ मस्जिदका इस्लाम धर्मगुरुले सुनाएपछि प्रार्थनारत समुदाय राष्ट्रसंघ कार्यालयमा हमला गर्न तयार भएको थियो । राष्ट्रसंघीय कार्यालय परिसरमा धर्नाबाजी हुँदै इस्लामिक समूहले आगजनी र प्रतिकार सुरु गरेका थिए । घटनामा हमला गर्न आएका मुस्लिम समुदायका आठ जनासमेत मारिएका छन् ।
विद्रोही तालिवान समूहको कुनै प्रभाव नरहेको र मुलुककै सात सुरक्षित स्थलमध्ये एक मानिएको मजार-ए-सरिफमा अहिले सयौंको संख्यामा राष्ट्रसंघीय सुरक्षाकर्मीहरू तैनाथ गरिएको एसोसिएट प्रेसले जनाएको छ । फ्लोरिडाको चर्चमा भएको घटनालाई लिएर अफगानिस्तानका अन्य सहरहरूमा पनि अमेरिकाविरोधी विद्रोहहरू देखिन थालेको समाचारमा जनाइएको छ । पश्चिमी अफगानिस्तानको हेरात सहरमा अमेरिकी झन्डा जलाउँदै इस्लामिक समुदायको जुलुसमा ‘अमेरिकीको मरण होस्’, ‘अमेरिकाले इस्लामको मुटु टुक्र्याए’ भन्दै नाराबाजी भइरहेको जनाइएको छ । काबुलस्थित अमेरिकी दूतावासमा पनि स्वःस्फुर्त इस्लामिक समुदायको भेला सुरु भएको जनाइएको छ । अफगानिस्तानमा २५ हजारभन्दा बढी नेपाली श्रमिक छन् भने अफगान मामिला पाकिस्तानको इस्लामावादस्थित नियोगले हेर्दैर् आएको छ ।
अफगानिस्तानको राष्ट्रिय कार्यालयमा आक्रमण / कम्तिमा ४ नेपाली सुरक्षा गार्डको मृत्यु
दिनेश रेग्मी
अफगानिस्तानको उत्तरी शहर मजारे सरिफस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा भएको हिंसात्मक आक्रमणमा कम्तिमा ४ नेपाली सुरक्षा गार्ड सहित १२ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपाली विस्तृत विवरण प्राप्त भएको छैन ।
अमेरिकाको फ्लोरिडमा २० मार्च (चैत ६) मा एक पादरीले मुस्लिम धर्माबलम्बीको पवित्र ग्रन्थ कुरान जलाएको विरोधमा निस्केको शान्ति पुर्ण जुलुस हिंसात्मक भएपछि राष्ट्र संघीय कर्मचारी, सुरक्षा गार्ड र प्रदर्शनकारीको मृत्यु भएको हो ।
प्रार्थनापछि शान्तिपुर्ण रुपमा विरोध गरेको जुलुसबाट केही प्रदर्शनकारीले एक्कासी राष्ट्र संघको भवनमा ढुंगा मुढा, तोड-फोड र सुरक्षा गार्डको हतियार खोस्न थालेपछि हिंसात्मक बनेको थियो । सोही क्रममा राष्ट्र संघको सुरक्षार्थ खटिएका नेपाली गार्ड, राष्ट्र संघीय सहायता मिसनमा कार्यरत कर्मचारी र प्रदर्शनकारीको मृत्यु भएको थियो ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले राति अबेरसम्म जनाए अनुसार मारिने राष्ट्रसंघीय कर्मचारीमा स्वीडेन, नर्बे र रोमानिया र सुरक्षा गार्ड सबै नेपाली छन् । घटनामा ५ प्रदर्शनकारीको मृत्यु भएको र २० भन्दा बढी घाइते छन् । घाइतेमा राष्ट्र संघीय कर्मचारी र सुरक्षा गार्ड पनि परेको हुन सक्ने जनाईएको छ ।
मुजारे सरिफमा सेनाले संकास्पद दर्जनौं आक्रमणकारीलाई पक्राउ गर्दै कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । राष्ट्र संघीय कार्यालयमा लामो समयपछि भएको यो ठुलो आक्रमण हो
posted by: DPR Source: ekantipur