सरकारका भावी निर्णयहरू शंकाका घेरामा


अर्थतन्त्र ओरालो लागेको र उद्योग व्यवसायमा कर छलीले प्रश्रय पाइरहेका बेला मन्त्रीसँग गहिरो मतभेद राख्दै अर्थसचिव रामेश्वर खनालले राजीनामा गरेका छन् । मूल्य अभिवृद्धि कर (भ्याट) का नक्कली बिल प्रयोग गर्ने व्यवसायीलाई छानबिन गरी तह लगाउने योजनाका साथ खनाल जसरी बढेका थिए, अब काम त्यही गतिमा बढ्नेमा गम्भीर शंका पैदा भएको छ ।

 खनाल कर्मचारीतन्त्रमा अडान राख्न सक्ने, स्वच्छ छवि भएका व्यक्तिका रूपमा चिनिन्छन् । मन्त्रालयमै अधिक समय बिताउने र सकेसम्म विवादरहित ढंगबाट काम गर्ने सरकारी अधिकारीमा आफूलाई स्थापित गरेका उनले लाउडा जहाज भाडा प्रकरणका बेला पनि आफ्नो इमानदारी देखाएकै हुन् । तत्कालीन शाही नेपाल वायु सेवा निगमका सञ्चालक सदस्य उनले जहाज भाडामा लिँदा मुलुकलाई घाटा हुन्छ भन्ने अडान लिएका थिए । यद्यपि उनको अडानविपरीत जहाज भाडामा लिएर भ्रष्टाचार प्रकरण गराइएको थियो ।

अर्थसचिवकै सक्रियता र नेतृत्वमा गएको मंसिरयता नक्कली बिल प्रयोग गर्ने उद्योग तथा व्यापारिक कम्पनीका खातापाताको अनुसन्धान सुरु भएको थियो । ४२ कम्पनीको खातापाता नियन्त्रणमा लिइएकामा ३३ वटाबाट ३ अर्ब ५४ करोड रुपैयाँ बराबरका नक्कली बिल फेला पर्नुले विकृति/विसंगतिको जरा गहिरिएको स्पष्ट हुन्छ । नक्कली बिलको अनुसन्धानलाई मुलुकभरि विस्तार गर्ने योजनाबाट व्यवसायी समुदाय अत्तालिएका थिए । तिनले गल्ती स्विकार्दै जरिवाना र ब्याज मिनाहा पाउन लबिइङ गरिरहेका थिए । तर खनाल कानुनले तोकेको कारबाहीमा सम्झौता नगर्ने अडानमा थिए । यसपटकको कारबाहीपछि आउँदो दस वर्ष यस्तो जालसाजी गरी कर छल्ने प्रवृत्तिले टाउको उठाउन नपाउनेमा उनी विश्वस्त थिए । अडानबाट पछि नहट्ने देखेपछि व्यवसायीहरू आफूलाई जोगाउन विभिन्न प्रपञ्च रच्दै थिए ।

मन्त्री र सचिवबीच मतभेद बढ्नुमा तिनै व्यवसायीहरूको क्रियाकलापलाई जिम्मेवार ठानिएको छ । ती व्यवसायीहरूले मन्त्री र मन्त्रालयका एकाध वरिष्ठ अधिकारीलाई प्रयोग गरी आफ्नो गलत क्रियाकलाप छानबिनको दायराभन्दा बाहिर पार्न खोजेको देखिन्छ । उद्योग व्यवसायमा छिटो कमाउने चाहनामा सरकारलाई तिर्नुपर्ने कर छल्ने प्रवृत्ति नयाँ होइन । कारबाही अभावमा त्यस्ता क्रियाकलाप मौलाएका थिए । व्यापारीहरूको मिलोमतोमा ‘भ्याट बिल प्रकरण’ लाई किनारा लगाउने योजनाको मतियार अर्थमन्त्री बनेको आरोप छ । सचिवले जुन विषयमा गम्भीर मतभेद प्रदर्शन गरेका छन्, त्यसमा अर्थमन्त्रीबाट जबाफ आउन नसक्नुले मिलोमतोको आशंकालाई बल दिएको छ ।

त्यस अतिरिक्त मन्त्रीले सरकारी संयन्त्रलाई पन्छाएर बाह्य व्यक्तिहरू संलग्न गरी पूरक बजेट ल्याउन खोजेपछि त्यसमा पनि खनाल असन्तुष्ट रहेको बुझिएको छ । मन्त्रालयको बजेट महाशाखालाई बाइपास गरी योजना र नीति ल्याउने खेलमा लाग्नुले झन् संशय बढाएको छ । मन्त्री निवासमा बसेर बजेट बनाउने कार्यमा राजस्व सचिव संलग्न हुनु कर्मचारीतन्त्रमा व्याप्त चाकडीको एउटा उदाहरण हो । ‘ऊर्जा संकटकाल’ को नीति र कानुन ल्याउने क्रियाकलापमा बाह्य संयन्त्र उपयोग भएको र निश्चित स्वार्थी समूहलाई लाभ पुर्‍याउने काममा मन्त्री लागेको देखिन्छ । व्यापक तहमा छलफल नगरीकन सरकारी संयन्त्रलाई बाइपास गर्ने गरी ऊर्जा आयोग बनाउने, विद्युत् खरिद दर २० प्रतिशतले बढाउने अर्थमन्त्रीको प्रारम्भिक क्रियाकलाप जायज ठहरिन सकेको छैन ।

विगतमा अर्थमन्त्री हुँदा जथाभावी कर्मचारी सरुवा गर्ने, भन्सारमा कर्मचारी खटाउँदा लेनदेन गर्ने, निश्चित व्यापारिक समूहको स्वार्थ पोषणमा संलग्न भएको आरोप लागेका अर्थमन्त्री अधिकारी यसपटक प्रारम्भमै विवादित भएका छन् । कर्मचारी सरुवा, नक्कली भ्याट बिल प्रकरण र शंकास्पद सवालहरूमा उनले जसरी कर्मचारीतन्त्रलाई अनुचित दबाब दिएका छन् त्यसले उनबाट निष्पक्ष रूपमा सरकारी कार्य सम्पादन हुन नसक्ने संकेत देखिएको छ । इमानदारपूर्वक खट्नेलाई पुरस्कृत गर्नुका सट्टा आफू र आफ्नो पार्टीप्रति बफादार हुनेलाई पोस्ने परम्परालाई अर्थमन्त्रीले मूलमन्त्र बनाउन खोज्नु दुर्भाग्यपूर्ण कुरा हो । अर्थमन्त्रीले आफूमाथि लागेको सम्पूर्ण आरोपको चित्तबुझ्दो प्रस्टीकरण दिनुपर्छ । अर्थसचिव खनालको राजीनामा स्वीकृत नगरी उनलाई ससम्मान काममा र्फकने वातावरण तयार गर्नुपर्छ । यसो हुन नसक्ने हो भने प्रशासनयन्त्रमा रहेका सीमित योग्य र इमानदार कर्मचारीको मनोबल खस्कनेछ भने सरकारका भावी निर्णयहरू शंकाका घेरामा पर्नेछन् ।

Posted by: DPR                                                    Source: ekantipur 

 

 

 

 

 

 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.