जिउँदो चौरीको आलो रगत पिउने मेलाको तयारी


मुस्ताङमा चौंरी गाईको रगत खाने मेला हुने भएको छ । धौलागिरी चौरीपालन समूह कोबाङको आयोजनामा वैशाख ५ गते मेला हुने भएको हो । जिउंदो चौरीको गर्दनबाट भुलभुल निक्लेको आलो रगत प्यालाभरी भर्दै मान्छेहरु आँखा चिम्लिएर एकै सासमा घुड्काइ रहेका हुन्छन् ।

चौंरीको गर्धनबाट भुलभुल रगत धारा छुटेर आईरहेको हुन्छ । मान्छेहरु हात-हातमा पचास रुपैयाँको नोट र रगत थाप्न प्याला बोकेर तँछाड-मछाड गरी रहेका देखिन्छन ।

लेकमा रगत पिउन आउनेहरुको भीड प्रत्यक वर्ष बढ्दो छ । चौंरीको आलो रगत पिउंनाले ग्याष्टिक रोग निको हुनुको साथै यौनशक्ति पनि बढ्ने विश्वास यहाँका बासिन्दामा रहेको छ । ‘चौंरीको रगतले ग्याष्टिक रोगलाई राम्रो गरेपनि उच्चरक्तचापका विरामी र धम्कीका रोगीले भने चौंरीको रगत भुलेर पनि पिउनु हुंदैन्’ स्थानीय मुलीखर्कका मुखिया लाल बहादुर गौचनको सुझाव छ ।

चौंरीको रगत पिउने मेला म्याग्दीको खेप्रा लेक र मुस्ताङ्गको मार्चे लेक, मुलीखर्कलेक, बतासेलेक लगाएतका दर्जन बढी ठाउँमा लाग्ने गर्छ । स्थानीय बोलीचालीको भाषामा उच्च हिमाली चरण क्षेत्रलाई लेक वा खर्क भन्ने गरिन्छ । चौंरीको रगत पिउने चलन कहिले देखि सुरु भएको हो भन्ने यकिन तथ्याड्ढ छैन् । तर मुस्ताङ्गको उपल्लो क्षेत्रमा धेरै पहिलेदेखि चौंरीको रगत पिउनेे चलन रहेको पाईन्छ । त्यसैको सिको गरेर बेंशीका गाउँहरुमा दशैंमा ल्याईएका मुस्ताङ्गी च्याग्राको रगत पिउने गरिन्थ्यो । चौंरीको आलो रगत पिउन पल्केकाहरु प्रत्यक बर्ष हजारौंको संख्यामा रगतको प्यास मेट्न कष्टकर यात्रा गरी उच्च हिमाली लेकमा पुग्ने गरेका छन् ।

चौंरीको आलो रगत पिउंन जिल्लाकामात्र नभै पोखरा, काठमाण्डौ,तनहुं, पर्वत र वाग्लुङ्ग सम्मका मानिसहरु पुग्छन् । हिमाली जडिबुटिका साथै यार्सागुम्बा -स्थानीय बोलीचालीमा पुष्टकारी) खाएका चौंरीको रगत आफैमा ओखती भएको ठानी यसरी रगत खाने चलन पुरानो हो । ग्यांष्टिकको उपचार हुने भनिए पनि यो चौंरीको रगत र माशुको ब्यापार गर्ने गतिलो व्यापारिक मेला नै हो ।

म्याग्दीको खोप्रामा गरिने चौरीको रगत खाने मेलाबाट स्थानीय हिमाञ्चल मावि र पाउद्धार माविको राम्रो आम्दानी गरेका छन् । यहा यी विद्यालयले संयुक्त रुपमा चौरी पालन गरेका छन् । विद्यालयको चौंरी गोठमा सयबढी चौंरी छन् । रगत बेचेको पैसा स्थानीय पाउद्धार मावि र हिमाञ्चल माविले बांडेर लिने गर्छन् । ‘चौंरीको रगत र माशु बेचेर हाम्रो विद्यालयले बाषिर्क ६० हजारबढी आम्दानी गर्दै आएको छ’ हिमाञ्चल माविका प्रधानध्यापक रमन पुन बताउंछन् ।

चौंरी गाईको रगत पिउने व्यापार राम्रो भएपनी चौंरीबाट रगत झिक्नभने सजिलो छैन् । चौंरी बस्ने ठाउँलाई खर्क भनिन्छ । रगत झिक्नु पहिले खर्कमा थुनिएका चौंरीलाई पालैपालो समातिन्छ । अनि डोरीले बाँधेर हलचल गर्न नसक्ने बनाईन्छ । आम्जीले चौंरीको गर्धनमा रगत बग्ने नसालाई ठाडो चिरेर रगत झिक्छ । चौंरीको रगत झिक्ने ब्याक्तिलाई आम्जी वा डाक्टर भनिन्छ । ठुलो चौंरीबाट २० देखि ३० गिलास सम्म रगत झिकिन्छ । रगत झिकिसकेपछि घाउमा चौंरीकै गोबर दलेर छोडिन्छ । यसो गर्दा रक्तश्राप पनि हुंदैन र चौंरीलाई समस्या पनि पर्दैन भन्ने उनीहरुको दावी छ । रगत विहान र बेलुका गरी दिनको दुई छाक खुवाईन्छ । पचाउन सक्नेले थप कप रगत पिउँछ । रगत खान केटाकेटीदेखि ७० बर्षे बुढापाका सम्म पुग्छन् । रगतको मुल्य प्रतिकप ७० रुपैया तोकिएको हुन्छ तर विभिन्न खर्कहरुको आ-आफ्नै नियम रहेका हुन्छन् ।

चौंरीको रगत पिउँदा श्वास्थ्यलाई फाईदा मात्र पुर्‍याउंदैन रोगी चौरीको रगत पिउँदा उसका रोग पनि मान्छेमा सर्ने खतरा रहन्छ । चौंरीले उच्च हिमाली जडिबुटि मात्र होइन विषालु घाँस पनि खाने हुंदा चौंरीको आलो रगतले राम्रो मान्न तयार छैनन्, विज्ञहरु । ‘यदी चौंरीको आलो रगत पिउनेनै हो भने त्यस्ता चौंरीको श्वास्थ्य परिक्षण गरि पशु प्राविधिकले निरोगी भनि प्रमाणीत गरेको चौंरीबाट मात्र रगत निकाल्ने व्यवस्था गर्नु पर्ने विज्ञहरुको सुझाव रहेको छ ।

रगत पिउने मेलामा माशु, घ्यू, छुर्पीको समेत विक्री हुन्छ । ठुलो याक वा चौंरीलाई २० देखी ३० हजार मोलेर काटिन्छ । याकको शुकुटी निक्कै स्वादिलो मानिन्छ । चौंरी गाईको घ्यु बाथका रोगीलाई मालिस गर्न राम्रो मानिन्छ । एक माना चौंरीको नौनी घ्यूलाई तीन सय रुपैयां पर्छ । चौरीको पुच्छर पनी महंगोमा विक्री हुन्छ ।

Posted by: Amar Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.