काठमाडौं, चैत १६- नेपाल पत्रकार महासङ्घको ५६ औं स्थापना दिवसको उपलक्ष्यमा आज बिहान काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो। भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सहिदद्वार, नयाँसडक, रत्नपार्क हुँदै सोही स्थानमा पुगेर सभामा परिणत भएको थियो। र्यालीमा नागरिक समाजका अगुवा, मानअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, कानुनव्यवसायी र सञ्चारकर्मीको सहभागिता थियो।
सभामा वक्ताहरुले महासङ्घ अगुवा नागरिक निकाय भएकाले लोकतान्त्रिक प्रक्रियाप्रति सदैव यसको चिन्ता र चासो रहन आवश्यक छ भन्नुभयो। उहाँहरुले मानवअधिकार, प्रेस स्वतन्त्रता, शान्ति र संविधानको पक्षमा पत्रकारले कलम चलाउनुपर्नेमा जोड दिँदै पत्रकारको व्यावसायिक र भौतिक सुरक्षाका लागि महासङ्घ लाग्नुपर्ने धारणा राखे।
प्रजातान्त्रिक संविधान निर्माणमा राजनीतिक दलको भन्दा पत्रकारको चनाखोपन हुनुपर्नेमा पनि उहाँहरुले जोड दिए।
कार्यक्रममा महासङ्घका सभापति धर्मेन्द्र झा, सभासद् शोभाकर पराजुली, नेपाल बार एशोसियसनका अध्यक्ष प्रेमबहादुर खड्का, नेपाल चिकित्सक सङ्घका पूर्व अध्यक्ष डा. केदारनरसिंह केसी, मानवअधिकारकर्मी पुरुषोत्तम दाहाल, चरण प्रसार्इं र सुदीप पाठक, महासङ्घका पूर्व सभापतिहरु सुरेश आचार्य र विष्णु निष्ठुरी, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष महेन्द्र विष्ट, साफ्मा नेपालका अध्यक्ष शिव गाउँले र नेपाल प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले मन्तव्य व्यक्त गरेका थिए।
महासङ्घले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आजै अपराह्न चियापान कार्यक्रम एवम् वरिष्ठ पत्रकारलाई पुरस्कार वितरण गर्ने कार्यक्रम राखेको छ।
Posted by: Shiva Paudel
Source: Nagarik