गद्दाफी निवासमै आक्रमण


त्रिपोली, चैत्र ८, पश्चिमेली गठबन्धन फौजले लिबियाली शासक मुअमर गद्दाफीको त्रिपोलीस्थित निवासमै क्षेप्यास्त्र प्रहार गरेका छन् । आइतबार राति लगातार गरिएको क्षेप्यास्त्र आक्रमणबाट गद्दाफी सरकारको ‘कमान्ड कन्ट्रोल’ का साथै एक प्रशासकीय भवनसमेत ध्वस्त भएको छ । आक्रमणका बेला गद्दाफी त्यहाँ भए/नभएको यकिन छैन । रातभर आक्रमण गरिए पनि त्यो व्यक्तिगत रूपमा गद्दाफीविरुद्ध लक्षित नभएको गठबन्धन मुलुकका अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रसंघीय प्रस्तावनाले गद्दाफीविरुद्ध जाइलाग्न अनुमति नदिएको बेलायती सुरक्षा प्रमुख डेभिड रिचार्डले बताए । फ्रान्सेली रक्षा मन्त्रालय प्रवक्ता लरेन्ट टेस्सिरले लिबियाली शासक रहेको ठाउँ थाहा भए पनि उनीमाथि आक्रमण नहुने जनाए । गठबन्धन फौजको कारबाही लिबियाली सेना र हवाई सुरक्षा प्रणालीविरुद्ध केन्दि्रत रहेको बताइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अधिकारी विलियम गोर्टनीका अनुसार त्रिपोली र विद्रोहीको पकड रहेको बेंगाजीको हवाईस्थल गठबन्धन फौजको नियन्त्रणमा छ । गद्दाफी निवास परिसरमा आक्रमण हुनु अघिल्लो दिन उनका समर्थकहरू त्यहाँ पुगी ‘आवश्यक परे आफूहरू मर्न तयार रहेको’ बताएका थिए । तर आक्रमणका बेला उनीहरू त्यहाँ रहे/नरहेको थाहा हुन सकेको छैन ।

राति थुप्रै पटक विस्फोटका आवाज सुनिएको र गद्दाफीको सैन्य आधार रहेको बब अल अजिजिया भवनबाट धूवाँको मुस्लो देखिएको सञ्चारमाध्यमहरूले बताएका छन् ।

लिबिया सरकारका प्रवक्ताले पश्चिमेली गठबन्धन सैनिकको आक्रमण गैरसैनिक क्षेत्रमा समेत भएको बताएका छन् । युरोपेली युनियनले भने कारबाहीमा सर्वसाधारणलाई केही नभएको दाबी गरेको छ । गठबन्धन फौजमा अमेरिका, बेलायत र फ्रान्सका सैनिक छन् । नेटोले पनि आफ्ना सदस्य राष्ट्रहरूलाई लिबियाली सरकारविरुद्धको कारबाहीमा खटाउने तयारी गरिरहेको छ ।

आइतबार रातिसम्म बेंगाजीको पश्चिम सहर मिस्रटामा गद्दाफी समर्थक फौजले बमबारी रिरहेको स्थानीयले बताए । विद्रोही प्रवक्ताले मिस्रटामा गद्दाफी समर्थक फौजले सर्वसाधारणलाई आक्रमणका लागि ल्याएको बताए । आन्दोलनकारीले पूर्वी सहर अज्दाबिया कब्जाको प्रयास गरिरहेका छन् ।

कतारले ४ विमान पठायो

यसैबीच कतारले लिबियाली आकाशमा ‘उडान निषेध’ कार्यान्वयनमा सघाउन भन्दै ४ विमान पठाएको अमेरिकी र फ्रान्सेली अधिकारीले बताएका छन् । गद्दाफीले गत महिनादेखि आन्दोलनकारीमाथि आक्रमण गर्दै चर्को दमन थालेपछि राष्ट्रसंघले लिबियामाथि कारबाही प्रस्ताव पारित गरेको थियो । लगत्तै फ्रान्सले हवाई आक्रमण थालेको थियो । अनि अमेरिकी र बेलायती फौजले पानीजहाजबाट क्षेप्यास्त्रहरू प्रहार गरेका थिए ।

रुसको विरोध

रुसी प्रधानमन्त्री भ्लादिमिर पुटिनले भने लिबियामा कारबाही गर्ने राष्ट्रसंघको प्रस्ताव ‘गलत’ भन्दै विरोध गरेका छन् । ‘यसले लिबियामा जेसुकै गर्न छुट दिएको छ,’ उनले सोमबार मस्कोमा भने, ‘यो लडाकुका लागि मध्ययुगीन आह्वानजस्तै छ ।’ लिबियामा हस्तक्षेप गर्ने’bout सुरक्षा परिषद्को मतदानमा रुस र चीनलगायत केही मुलुक तटस्थ थिए । चीनको सरकारी पत्रिका ‘पिपल्स डेली’ ले अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको बताएको छ ।

Posted by: Shiva Paudel

Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.