एक करोडको प्रायोजन- नेपाली खेल इतिहास कै ठूलो राशी


काठमाडौं, चैत ८ -फुटबलले नेपाली खेल इतिहासकै ठूलो राशीको प्रायोजक भेट्टाएको छ। गोर्खा ब्रुअरीले प्रायोजन दायरा फराकिलो बनाउँदै फुटबलमा वार्षिक करोड रूपैयाँ खर्च गर्ने भएको छ।  यसअघि २०५४ मा फुटबलकै लागि कोकाकोलाले वार्षिक ५० लाख रुपैयाँको प्रायोजन गरेको थियो। गोर्खा बु्रअरीले पछिल्लो पाँच वर्षदेखि सहिद स्मारक लिगलाई वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो।

बु्रअरीसँग अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो वर्षको राष्ट्रिय लिग संरचनाका लागि सोमबार प्रायोजन सम्झौता गरेको छ। सहिद स्मारक सानमिगेल ए डिभिजन लिगको प्रायोजक सानमिगेलले आगामी वर्षदेखि हुने राष्ट्रिय लिग र त्यस संरचनाअन्तर्गतका सम्पूर्ण प्रतियोगितालाई साथ दिने भएको छ।

वार्षिक करोड उपलब्ध गराउने गरी तीन वर्षका लागि एन्फासँग सम्झौता भएको हो। सम्झौतापत्रमा गोर्खा ब्रुअरीका बिक्री तथा बजार निर्देशक राजेन्द्र गुरुङ र एन्फा अध्यक्ष गणेश थापाले हस्ताक्षर गरे।

जिल्लाका सबैखाले लिगका साथै सहिद स्मारक लिगका सबै श्रेणी तथा राष्ट्रिय लिगका लागि एन्फाले वार्षिक ५ करोड रुपैयाँको अनुमानित बजेट बनाएको छ। सम्झौतापछि राष्ट्रिय लिग संरचनाका सबै प्रतियोगिताको नाममा सानमिगेल वा प्रायोजकले उपलब्ध गराएको नाम जोडिने एन्फा अध्यक्ष थापाले जानकारी गराए।

एन्फामा आबद्ध ४० जिल्लामध्ये उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाहेक सबै जिल्लामा ए, बी र सी डिभिजनको लिग हुनेछ। उपत्यकामा पनि अलग्गै ए, बी र सी डिभिजन लिग हुनेछ। अन्त्यमा तीनै डिभिजनको राष्ट्रिय लिग हुनेछ। एन्फाले पहिलोपटक राष्ट्रिय लिगको अवधारणा ल्याएको हो।

लिगका लागि मुख्य प्रायोजकबाट आउने बाहेक नपुग रकम विश्व फुटबल महासंघ (फिफा), एसियाली फुटबल महासंघ (एएफसी) र मित्रराष्ट्रको सहयोग तथा एन्फाको आन्तरिक स्रोतबाट जुटाउने थापाले बताए।

‘यो नेपाली खेलकुदकै सबैभन्दा ठूलो प्रायोजन रकम हो। यसले एन्फाको महŒवाकांक्षी योजना सफल हुने विश्वास लिएका छौं,’ उनले भने। फुटबलमा दर्शकको बढ्दो उपस्थिति, क्लबहरू शक्तिशाली बन्दै जानु र खेलाडी व्यावसायिक हुँदै जानुले नै ठूलो प्रायोजकले साथ दिएको थापाले बताए।

असारमा सकिएको ए डिभिजन लिग विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गरेका थिए। २०६० सालमा ए डिभिजन लिग विजेताले १ लाख ५० हजार रुपैयाँ पाउँथे।

थापाले ए डिभिजनको पुरस्कार राशि यथावत् राखी राष्ट्रिय लिग विजेतालाई ४० लाख रुपैयाँ पुरस्कार दिने घोषणा यसअघि नै गरिसकेका छन्। थापाले जिल्ला, क्षेत्रीयलगायत राष्ट्रिय लिगको पुरस्कार राशिसहित अनुमानित खर्च छिट्टै सार्वजनिक गर्ने बताए।

ब्रुअरीका गुरुङले भविष्यप्रति आशावादी भएर फुटबलमा लगानी गरेको बताए। ‘जिल्ला जिल्लामा रहेको प्रतिभाको पहिचानलाई एन्फाले गरेको प्रयासमा हामीले साथ दिएका हौं,’ उनले भने, ‘लिगले नयाँ प्रतिभालाई आफ्नो कौशल प्रदर्शन गर्ने मौका दिनेछ।’

एन्फाले उपत्यकाको ए डिभिजन लिग र जिल्ला लिग आउँदो वैशाख २ मा एकै दिन सुरु गर्ने सार्वजनिक गरिसकेको छ। त्यस्तै मंसिर १ देखि राष्ट्रिय लिग सुरु हुने बताइएको छ। राष्ट्रिय लिगमा ए डिभिजन लिगका शीर्ष आठ टोली र जिल्लाबाट छनोट भइ आउने २ गरी १० टोलीबीच होम एन्ड अवेका आधारमा प्रतिस्पर्धा हुने एन्फाले यसअघि नै जनाइसकेको छ। तथापि त्यसको अन्तिम टुंगो भने लागि सकेको छैन। ३७ जिल्लामध्ये एन्फाले १० जिल्लालाई ए, १२ जिल्लालाई बी र १५ जिल्लालाई सी डिभिजनको मान्यता दिएको छ।

ब्रुअरीका बजार महाप्रबन्धक आशिष बिष्टले नेपालमा फुटबलको विकास लोकप्रियता र व्यावसायिकता वृद्धि गर्न आफ्नो संस्था सधैं साझेदार रहने बताए।

Posted by: Shiva Paudel

Source: ekantipuronline

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.