भक्तपुर, चैत ७ -मूर्तिहरूको सहर भनेर चिनिने ऐतिहासिक तथा पुरातात्विक महत्वको भक्तपुरमा वर्षौँ पुराना मूर्तिहरू धमाधम हराउन थालेका छन् । महत्वपूर्ण मूर्ति यसरी हराउँदा पनि मूर्ति चोरी रोक्न प्रहरी प्रशासन, भक्तपुर नगरपालिका र पुरातत्व विभागले चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । भक्तपुरमा विशेषगरी लोडसेडिङको समयमा राति मूर्तिहरू हराउने गरेको विभाग दरबार हेरचाह तथा सम्पदा संरक्षण कार्यालयका प्रमुख अरुणा नकर्मीले बताए ।
भक्तपुरमा मूर्ति चोरी गर्ने समूह नै सक्रिय रहेको अनुमान छ उनको। “दुई तीन जनाले हल्लाउन नसक्ने मूर्तिहरू रातारात चोरिनुको कारणमा मूर्ति चोरी गर्ने गिरोह सक्रिय हुनु हो” – उनले भने।
उनले गिरोह नै सक्रिय भएको भने पनि प्रहरीले अहिलेसम्म मूर्ति चोरीमा संलग्न कुनै गिरोह पक्राउ गर्न सकेको छैन। भक्तपुरमा केही दिनअघिमात्रै पाँचतले मन्दिर अगाडि रहेको कासी विश्वनाथ भैरवको ढलोटको मूर्ति चोरी भएको छ। राति लोडसेडिङको समयमा सो मूर्ति हराएको स्थानीय पर्यटन व्यवसायी तथा पर्यटन विकास समितिका अध्यक्ष दिवानचन्द्र धौभडेलले बताए।
सोही मन्दिरको एक तलामाथि तोरणमा रहेका छवटा विभिन्न देवताका मूर्ति चोरी भइसकेका छन्। पाँचतले मन्दिरको माथिल्लो भागमा रहेका काठका ठूलाठूला मूर्तिसमेत चोरी भएको छ। त्यस स्थानमा अहिले नगरपालिकाले काठकै तर नक्कली मूर्ति राखेको छ।
भक्तपुरमा अहिलेसम्म वागेश्वरीमा रहेको अर्धनारीश्वर, चुपीनघाटको नारीश्वर, रामसीताको मूर्ति चोरी भएको छ। त्यस्तै २४ सै घन्टा सुरक्षाकर्मी रहने दरबार स्क्वायरमा रहेको स्वर्णद्वारको महिषासुर मर्दिनीको बायाँ हातको सुनको त्रिशूल, सोही द्वारबाटभित्र पसेपछि पुगिने तलेजुको सुन्धारास्थित नेपाल संवत् ७९८ को राजा जितामित्र मल्लले स्थापना गरेको शिखर शैलीको मूर्तिसहित सुन्धाराको दायाँबायाँ रहेका २६ वटा मूर्ति हराएको स्थानीय संस्कृतिविद् ओम धौभडेलले बताए। अहिलेसम्म पनि यहाँ रहेका विभिन्न देवीदेवताको मूर्ति स्थापना गर्न सकिएको छैन।
त्यस्तै ब्रह्मायणी मन्दिरको मूर्ति, गछेको महादेव मन्दिरको तोरण, जेलाको नाट्येश्वर महादेवको महाङ्कालको मूर्ति पनि हराएको छ। नगरभित्रकै नासमना चोकबाट लक्ष्मीनारायणको मूर्ति, वागेश्वरी हिटीको शिवलिङ्ग, चोकचोकमा रहेका आगम घरमा राखिने मूर्ति पनि हराएका छन्। हनुमानघाटको एसियाकै ठूलो मानिने डम्बर जङ्गम शिवलिङ्ग र भूपतेश्वर शिवलिङ्ग वरिपरि रहेका १८ वटा गणेश तथा अष्टमातृकाका मूर्तिमध्ये १३ वटा हराएका छन्। अहिले सो स्थानमा नक्कली मूर्ति राखिएको छ।
यस बाहेकका पनि कैयौँ मूर्ति हराएका छन्। दर्जनौँ मूर्ति हराएपनि अहिलेसम्म कति मूर्ति हराए भन्ने वास्तविक अभिलेख न त विभागसँग नै छ, न त तिनै मूर्ति देखाएर विदेशीसँग डलर असुल्ने नगरपालिकासँग, त न प्रहरी प्रशासनसँग नै । मूर्ति जोगाउने र अभिलेख राख्ने जिम्मेवारी आफ्नो नभएको बताउँदै पन्छिन्छन् निकायहरू।
दरबार हेरचाह तथा सम्पदा संरक्षण कार्यालयकी प्रमुख नकर्मीले सम्पदाको संरक्षण गर्ने जिम्मा आफ्नो भए पनि मूर्तिको सुरक्षा गर्ने काम आफ्नो नभएको बताए।
एक दुईजनाले हल्लाउनसमेत नसक्ने मूर्ति घनाबस्तीका बीचबाटै कसरी लैजान्छन् तस्करले यो अचम्मलाग्दो कुरा हो। आफ्नै आँगनमा मूर्ति हराउँदा पनि मन्दिर नछिरेसम्म बेखबर हुन्छन् यहाँका बासिन्दा। मूर्ति चोर्नेहरू हतारिएर होइन, फुर्सदमा चोर्छन्। मूर्ति चोरी हुने स्थान हेर्दा उनीहरूले मूर्ति भएको ठाउँमा फुर्सदमा खनेर मुख्य सडक हुँदै लैजान्छन्। न त यहाँका बासिन्दाले सुइँको पाउँछन् न त रातभरि गस्तीमा हिँड्ने प्रहरीले भेटाउँछन्- अधिकांश संस्कृतकर्मी र स्थानीयवासीको यस्तै गुनासो छ।
मूर्ति चोरीमा ठूलै गिरोह सक्रिय भएको र त्यस्ता गिरोहले स्थानीय लागूऔषध दुर्व्यसनीलाई प्रयोग गरेको हुनसक्ने विभाग, नगरपालिका र प्रहरीको आशङ्का छ। महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ मूर्ति चोरीमा दुर्व्यसनीकै हात हुनसक्ने बताउँदै यसको सुरक्षामा सबै पक्षले चासो राख्नुपर्ने बताउँछन्।
प्रत्येक मन्दिरमा प्रहरी खटाउन नसकिने बताउँदै उनले मूर्ति चोरीमा संलग्नको खोजी भइरहेको दाबी गरे। चोरी रोक्न स्थानीय बासिन्दा, नगरपालिका र विभागले समेत सहयोग गर्नुपर्ने उनले बताए।
नगरपालिकाले केही वर्ष अघिमात्र रात्रिकालीन नगर प्रहरी खटाउँदा मूर्ति चोरी भएको थिएन भने नगर प्रहरी हटाइएपछि चोरी बढेको स्थानीयवासीले बताएका छन्। तस्करले मूर्ति लैजान बिरामी बोक्ने स्ट्रेचरको समेत प्रयोग गर्ने गरेको पनि स्थानीयले बताए।
यता सम्पदा देखाएर एक पर्यटकसँग रु एक हजार १ सय असुल्ने भक्तपुर नगरपालिकाले भने मूर्ति संरक्षणको जिम्मा आफ्नो नरहेको बताएको छ। नगरपालिका सम्पदा शाखाका कर्मचारीले यसको जिम्मा पुरातत्व विभाग र प्रहरीले लिनुपर्ने बताएका छन्। -रमेश गिरी
Posted by: Shiva Paudel
Source: Nagariknews