काठमाडौँ, चैत ७- कवि एवम् ज्योतिर्विद् रत्ननिधि शुक्राचार्यले नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत सम्पूर्ण पञ्चाङ्ग र सोका आधारमा प्रकाशित भित्रेपात्रोहरूमा “गणितीय त्रुटि भएकाले” रद्द गरी पाऊँ भनी यही चैत ४ गते सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्रीसमक्ष निवेदन दिएका छन्।
ज्योतिर्विद् शुक्राचार्यले निवेदनमा असार र साउन लगातार ३२।३२ दिनका तथा मङ्सिर र माघ २९।२९ दिनका बनाएर समितिले गणितीय नियमको ठाडो उल्लङ्घन गरेको दाबी गरेका छन्।
मुहूर्त चिन्तामणि नामक ग्रन्थको सङ्क्रान्ति प्रकरणको ५ र ६ श्लोकले गरेको व्यवस्थानुसार वर्षमा एक महिनामात्र ३२ दिनको र अर्को एक महिनामात्र २९ दिनसम्मका हुन्छन् -शुक्राचार्य बताउँछन्।
भारतका कासी तथा कलकत्ताबाट प्रकाशन हुने पात्राहरूमा २०६८ भदौ १ गते बुधबार बिहान १०।२९ बजे भाद्र सङ्क्रान्ति रहेकामा नेपाली पात्राहरूमा भने भोलिपल्ट अर्थात् बिहीबार बिहान २।१९ बजेमात्र भाद्र सङ्क्रान्ति बनाइएकाले भारतभन्दा नेपाल १५ घण्टा ५० मिनेटपछि देखाइएको त्रुटिप्रति ज्योतिर्विद् शुक्राचार्यले मन्त्रालयको ध्यानाकर्षण गरेका छन्।
राजस्व खाएर समितिका केही पदाधिकारीले पात्रो निकाल्ने र आफ्नो गणित लादने काम गरेको भन्दै तिनमाथि कारवाहीको माग पनि उनले गरेका छन्। पञ्चाङ्गको यो त्रुटिबाट चाडपर्व, रीतिथिति, सरकारी बिदा, दसैँतिहारजस्ता संस्कृति प्रभावित भई धर्मकर्म र परम्परामा समेत असर पर्ने भएकाले उनीहरूमाथि कारवाही हुनुपर्नेमा उनले जोड दिएका छन्।
शुक्राचार्यका अनुसार बढीमा ६३ दिन ८ घण्टाको दुई महिना हुनुपर्नेमा असार र साउन ३२।३२ दिन गरी ६४ दिनभन्दा बढीका गरी दुई महिना बनाइएको हुँदा यो खगोलीय मान्यताको उल्लङ्घन हो।
Posted by: Shiva Paudel
Source: Nagariknews