हिमालमा कन्सर्ट


विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा सांगीतिक महोत्सव हुने भएको छ । हिमाल आरोहीमात्रै जम्मा हुने ५ हजार ४ सय मिटरको आधार शिविरमा यो पटक अन्तर्राष्ट्रिय गायकहरूको सांगीतिक समूहसहित नेपाली गायक–गायिकाहरू पनि पुग्नेछन्, तर हिमाल आरोहणका लागि भने होइन, शिक्षा, स्वास्थ्य र वातावरणको प्रवद्र्धनका लागि केही भए पनि सहयोग गर्न ।

हिमाली भेग र त्यसमा पनि हिमतालहरूको नजिक बस्ती भएका क्षेत्रका गरिब र असहाय बासिन्दाहरूको जीवनको सुरक्षार जीवनस्तरको सुधारका लागि विभिन्न सामजिक कार्य गर्दै आएको अमेरिकास्थित सेभेन समिट फाउन्डेसनले उक्त कान्सर्टको आयोजना गर्न लागेको हो । प्रसिद्ध पर्वतारोही एसी शेर्पा अध्यक्ष रहेको उक्त संस्थाले नेपालका हिमाली भेग र त्यसमा पनि सगरमाथा क्षेत्रका मानिसको जीवनस्तरमा सकारात्मक परिवर्तनका लागि काम गरिरहेको छ । शेर्पा विश्वका सातैवटा महादेशका सबैभन्दा अग्ला हिमाल आरोहण गर्ने एकमात्र व्याक्ति हुन् । उनको नामको यो रेकर्ड हालसम्म पनि कसैले तोडेको छैन ।

फाउन्डेसन गैरनाफामुखी संस्था हो । अमेरिकास्थित शेर्पाले नै सञ्चालन गरेको हिमालयन शेर्पा ट्रेक एन्ड एक्सिपिडिसन नामको कम्पनीले गरेको नाफाको केही प्रतिशत हिस्साबाट सेभेन समिट चलिरहेको छ । उनको संस्थाले अफ्रिकी र एसिया महादेशका विभिन्न हिमाल आरोहण गर्ने आरोहिहरूका लागि प्याकेजसहितको सेवा दिँदै आएको छ ।

“पृथ्वीको तापक्रममा भएको वृद्धिले सबैभन्दा पहिलो असर विश्वका सबै अग्ला हिमाल र त्यसमा पनि नेपाललाई ज्यादा असर गर्ने भएकाले त्यसको असरबाट हिमाली जनसंख्यालाई बचाउने अभियानस्वरूप यो कार्यक्रम गर्न लागेको हो,” एसी शेर्पाले भने । ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालयज भ्वाइस फ्रम टप अफ द वल्र्ड’ (हरितगृह प्रभावकम गरौं, हिमालहरू जोगऔं— विश्वको सर्वोच्च टाकुराबाट सन्देश) भन्ने नारासहित फाउन्डेसनले गर्न लगेको कन्सर्टमा अमेरिकी गायक क्लिन्ट म्याक्युन र उनका अन्य पाँच जना सदस्यसहित नेपाली गायक–गायिकाले फाउन्डेसनले तयार गरेको गीत सामूहिक रूपमा प्रस्तुत गर्नेछन् । सगरमाथा आधार शिविरमा पुग्ने नेपाली कालाकारहरूमा रोज मोक्तान, मिलन लामा, मौसमी गुरुङ, मिङ्मा शेर्पा, डिजे तेन्जिङ, गोम्बु शेर्पा र पासाङ काजी शेर्पा रहेका छन् ।

आधारशिविरमा ध्वनिलागायत अन्य कुनै पनि प्रकारका प्रदूषण नहोस् भनेर फाउन्डेसनले सबै कलाकारले गाउन मिल्ने गरी एउटा समूहिक गीत तयार गरेको छ । प्रधानमन्त्री झलनाथ खनालले गायक म्याक्युनलाई हस्तान्तरण गरेको गितार मात्रै बजाएर सबै कलाकारले गीत प्रस्तुत गर्नेछन् । आधारशिविरमा यो मौसममा सगरमाथा आरोहण गर्न पुगेका आरोहीहरूमाझ उनीहरूले गीत गाउने भएका हुन् । यस्तो प्रकारको कन्सर्ट विश्वमा नै पहिलो भएको शेर्पाले बताए । अभियानले सगरमाथा क्षेत्रका बस्तीहरूका बासिन्दाको जीवनस्तर सुधार्ने अभियानमा विश्वको ध्यानाकर्षणका लागि सबैभन्दा अग्लो स्थानबाट सन्देश दिन लागेको हो । यसका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधीहरू पनि आधार शिविरमा पुग्नेछन् ।

शेर्पाले एउटै मौसममा तीनपटक सगरमाथा आरोहण गर्ने घोषणा पनि यही अवसरमा गर्नेछन् । एकै सिजनमा उनले तीन पटक सगरमाथा आरोहण गरेमा यो विश्व कीर्तिमान पनि शेर्पाको नाममै दर्ज हुनेछ । यो कार्यक्रमका लागि करिब ४५ हजार अमेरिकी डलर खर्च हुने पनि उनले बताए । विदेशी कलाकारहरूले कार्यक्रममा प्रस्तुति दिएबापत कुनै पनि रकम नलिने भए पनि नेपली कलाकारलाई १–१ लाख रुपैयाँ पारिश्रमिकस्वरूप दिने पनि उनले बताए ।

यो अभियानबाट जम्मा हुने रकम फाउन्डेसनले तेस्रो विश्वका गरिब जनसंख्याको भलाइमा खर्च हुनेछ भने फाउन्डेसनले यस्तो कार्यक्रम सबै महादेशमा गर्ने पनि योजना बनाएको छ । नेपाल पर्यटन वर्ष २०११ को प्रचारप्रसारस्वरूप यी कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा हुने शेर्पाले बताए । सगरमाथा आधार शिविरपछि मार्च २८ मा लुक्ला, अप्रिल २ मा सोलुसल्लेरी र अप्रिल ५ मा काठमाडौंमा पनि कन्सर्टको आयोजना गरिने फाउन्डेसनले जानकारी दिएको छ ।

“पृथ्वीको तापक्रममा भएको वृद्धिले सबैभन्दा पहिलो असर विश्वका सबै अग्ला हिमाल र त्यसमा पनि नेपाललाई ज्यादा असर गर्ने भएकाले त्यसको असरबाट हिमाली जनसंख्यालाई बचाउने अभियानस्वरूप यो कार्यक्रम गर्न लागेको हो । ” 

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.