बहराइनका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह


सुरेन्द्र पौडेल,

 काठमाडौं, चैत ३- सरकारले बहराइनमा रहेका झन्डै ४० हजार नेपाली कामदारलाई आवश्यक खाद्यान्नको जोहो गरी घरभित्रै रहन आग्रह गरेको छ। सिया मुस्लिम समुदायले गरेको आन्दोलन दबाउन त्यहाँको सरकारले छिमेकी राष्ट्रबाट सैनिक मगाएलगत्तै सरकारले बुधबार नेपालीलाई यस्तो आग्रह गरेको हो।
‘बहराइनभित्र सिया र सुन्नी मुस्लिम समुदायबीच भिडन्तको अवस्था छ। छिमेकी देशबाट सेना पुगिसकेका छन्। नेपाली बाहिर निस्कन सक्ने अवस्था छैन,’ बहराइन हेर्ने साउदी अरबस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत पारस घिमिरेले नागरिकसँग भने, ‘हामीले बहराइनमा रहेका नेपालीलाई आवश्यक खाद्यान्न किनेर आफू बस्ने कोठाबाट बाहिर ननिस्कन आग्रह गरेका छौँ।’

दूतावासका अनुसार बहराइनमा ३० देखि ४० हजार हाराहारी नेपाली छन्। बहराइनको अवस्था सामान्य नभएकाले त्यहाँ रहेका नेपालीलाई फर्काइहाल्ने स्थिति नरहेको उनले बताए। अमेरिका, बेलायतलगायत पश्चिमी राष्ट्रले आफ्ना नागरिकलाई बहराइनबाट फिर्ता बोलाइसकेका छन्।

‘यस्तै स्थिति भए बहराइनमा बस्ने सबै विदेशीलाई गाह्रो हुन्छ,’ घिमिरेले भने, ‘दक्षिण एसियाली अन्य राष्ट्रले कसरी आफ्ना नागरिकको उद्धार गर्छन्, हामी पनि त्यसै गर्छौँ।’

बहराइनमा ७० प्रतिशत सिया र ३० प्रतिशत सुन्नी मुसलमान छन्। सुन्नीले बहुसंख्यक सियामाथि शासन चलाउँदै आएपछि सियाहरूले सामाजिक तथा राजनीतिक सुधारको माग राख्दै एक महिनादेखि आन्दोलन गर्दै आएका छन्। अहिलेसम्म त्यहाँ १३ जनाले ज्यान गुमाइसकेका छन्।

सिया र सुन्नीबीच झडप बढेपछि बहराइन सरकारले छिमेकी राष्ट्रसँग समेत सैनिक सहयोग मागिसकेको छ। साउदी अरबबाट १ हजार, युनाइटेड अरब इमिरेट्स (युएई) बाट ५ सय सेना बहराइन पुगेको घिमिरेले जनाए।

‘अरू खाडी राष्ट्रले पनि सेना पठाउँदैछन्। मार्सल ल लगाएर त्यहाँको जीवन सामान्य बनाइने सुनेका छौँ,’ उनले भने। छिमेकी राष्ट्रबाट सेना आइपुगेलगत्तै बहराइन सरकारले मंगलबार देशमा संकटकालको घोषणा गरेको थियो भने केही स्थानमा कर्फ्यु आदेश जारी गरेको छ।

पसल, बैंक सबै बन्द
बहराइनमा सामान्य पसल, ठूला सपिङ कम्प्लेक्स र बैंक बन्द रहेकाले किनमेल सहज नभएको त्यहाँ रहेका नेपालीले जनाएका छन्। दोहोरो झडप बढ्दा विदेशी कामदार काममा जान सकेका छैनन्।

‘कम्पनीमा काम गर्न नगएको तीन दिन भयो,’ बहराइनमा रहेका चितवनका धिरज कणेलले फोनमा नागरिकसँग भने, ‘पसल खोलेका छैनन्, सुपरमार्केट बन्द छन्, खाने कुरा पाउन गाह्रो छ।’

उनका अनुसार अहिले सडक ब्लक गर्न क्याम्प बनाई बसेका आन्दोलनकारीलाई सेनाले हटाइरहेको छ र यसै क्रममा विभिन्न ठाउँमा झडप भइरहेका छन्। हेलिकप्टरले गस्ती गरिरहेको उनले बताए।

Posted by: Shiva Paudel

Source: Nagariknews

One response to “बहराइनका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

  1. check it out bro

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.