‘हाँसी हाँसी रुवाएर गए’


ललितपुर, फाल्गुन २२ – भट्टराईको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्ने हरेकले उनलाई ‘त्यागी’ को उपमा दिए । दाउपेचबिनाको राजनीतिमा जीवन बिताएका सन्तनेता भट्टराईलाई अधिकांशले ‘ठट्यौली शैलीमा समस्यालाई चिर्न सक्ने’ नेताका रूपमा सम्झिए । मुलुकको वर्तमान विषम परिस्थितिमा उनको अनुभव र निर्देशनले अघि बढ्न सघाउनेमा धेरैको जोड रह्यो । अहिलेको संक्रमण व्यवस्थापन नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुने ठहर पनि व्यक्त गरे ।

 प्रजातान्त्रिक लक्ष्यमा अविचलित

-माधवकुमार नेपाल,

पूर्वप्रधानमन्त्री एवं एमाले नेता

किसुनजी प्रजातान्त्रिक आन्दोलनका योद्धा हुनुहुन्थ्यो । उहाँमा प्रजातान्त्रिक लक्ष्यप्रति अविचलित संकल्प र अटुट निष्ठा थियो । उहाँले दुईपटक राज्यको लगाम हातमा लिँदा लोकतान्त्रिक मूल्य र मान्यतालाई आघात पर्ने गतिविधि गर्नु भएन । उहाँसँग लोभले कहिल्यै वास गरेन । २०४६ सालको आन्दोलन क्रममा उहाँसँग मेरो पनि सहकार्य भयो । कांग्रेसबाट संन्यास लिएपछि पनि उहाँसँग आत्मीय सम्बन्ध रह्यो । उहाँको निधनले एउटा युगको अन्त्य गराएको छ । द्रव्य र सुविधाबाट पनि उहाँ निकै टाढा रहनुभयो । उहाँको अनुसरण गर्न सकौं, त्यसमै सच्चा श्रद्धाञ्जलि हुनेछ ।

जसले प्रजातन्त्रलाई संस्थागत गरे

-सुवास नेम्वाङ,

सभामुख

प्रजातन्त्रप्रति अटुट आस्था भएको नेताका रूपमा म किसुनजीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त र्गछु । देशका लागि संघर्ष गर्दागर्दै उहाँले आफ्नो निजी जीवनका ’boutमा सोच्ने चाहना पनि राख्नु भएन । २०४७ सालमा भर्खरै स्थापना भएको प्रजातन्त्रलाई संस्थागत गर्ने र त्यसलाई लिपिबद्ध गरी संविधान जारी गर्न सघाउने गहन जिम्मेवारी उहाँमा थियो । कुशलता र सबैलाई मिलाएर लैजान सक्ने खुवी भएका किसुनजीले त्यो संक्रमणलाई सजिलै पार लगाउनुभयो । अहिलेको विषम परिस्थितिमा उहाँको अनुभव र निर्देशनले हामीलाई अघि बढ्न सहयोग पुग्थ्यो । संक्रमणकालमा उहाँबाट हुनसक्ने योगदान कसै गरे पनि पूर्ति हुन सक्दैन । यो संक्रमणलाई चिरेर नयाँ संविधान जारी गरेमात्रै उहाँको आत्माले शान्ति पाउनेछ ।

संक्रमणकाल चिर्न सक्ने हस्ती

-कृष्णबहादुर महरा,

उपप्रधान एवं सूचना तथा सञ्चारमन्त्री

उहाँको कुशल नेतृत्व र दृढ आत्मविश्वासका कारण २०४६ सालको प्रजातान्त्रिक आन्दोलन सफल भएको हो । उहाँले आन्दोलनझैं संक्रमणकाललाई पनि कुशलतापूर्वक लक्ष्यमा पुर्‍याइछाड्नुभयो । संक्रमण व्यवस्थापनको उहाँको अनुभवले हामीलाई पाठ सिकाएर गएको छ । अहिलेको संक्रमण व्यवस्थापन नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हो ।

निष्ठा र आस्थाको पुञ्ज

-भीमबहादुर तामाङ,

कांग्रेस नेता

म किसुनजीलाई निष्ठा र आस्थाको पुञ्जका रूपमा सम्मान गर्छु । शक्ति केन्द्र ’round पन्डा, स्वार्थी र लालचीले घेरिएको यो अवस्थामा काममा सिन्को नभाँची गुणगानमात्रै गाउनुको के अर्थ हुन्छ र ? पछिल्लो समय विरक्तिएर उहाँ राजनीतिबाट टाढा हुनुभयो । उहाँकै प्रेरणबाट म खुट्टा तन्काउनुअघिसम्म राजनीतिमा व्यस्त रहन चाहन्छु ।

उहाँ नभएको भए म राजनीतिमा हुन्नथेँ

-भरतमोहन अधिकारी,

उपप्रधान तथा अर्थमन्त्री

प्रजातान्त्रिक आन्दोलनका क्रममा मेरा दाजु मनमोहन अधिकारी र किसुनजीको भेट भएछ । पछि उहाँ आत्मीय मित्रका साथै ‘रुममेट’ पनि हुनुहुन्थ्यो । दाजुलाई भेट्न जाँदा उहाँसँग पनि चिनापर्ची र कुराकानी हुनथाल्यो । पछि उहाँले मलाई ‘भाइ’ भन्न थाल्नुभयो र मेरो खोजीनिती गर्नुभयो । उहाँ निरन्तरण प्रेरणा दिने र प्रजातान्त्रिक आन्दोलनमा लाग भन्ने मान्छे । उहाँकै कारण मैले राजनीति सुरु गरेको हुँ । त्यागी स्वभाव र सरल जीवनले मलाई पनि राजनीतिमा लाग्न रहर जाग्यो । पछि आन्दोलनका क्रममा सँगै सडकमा रहियो । उहाँसँग भेट नभएको भए मैले राजनीति नै गर्दिनथें कि ? देशका लागि दिएका तर देशबाट केही नखोजेका नेताप्रति मेरो श्रद्धाञ्जलि छ ।

आइसक्रिम खान्छु भन्दै हुनुहुन्थ्यो

-रामहरि खतिवडा,

कांग्रेस नेता

२०४१ मा किसुनजीसँग मेरो पहिलो भेट भएको हो । आईएल पढ्ने क्रममा म ओखलढुंगाबाट काठमाडौं आएको थिएँ । टेलिफोन डाइरेक्ट्री बेच्ने क्रममा भेट भएपछि उहाँले मलाई पत्रपत्रिकाका समाचार टिपोट गर्ने र सुनाउने जिम्मा दिनुभयो । त्यतिबेला कांग्रेस कार्यालय जमलमा थियो । एक सुका भाडा रहेको साझा यातायातमा हामी पाँचजना चढ्थ्यौं र उहाँले एकमुष्ठ पाँच सुका भाडा तिरिदिनुहुन्थ्यो ।

मदन भण्डारीसँग चुनाव हार्दा उहाँले त्यसलाई उहाँले ठट्टैले पचाइदिनुभयो । ‘मलाई हराउने अनन्य मित्रसँग त मेरो रागद्वेष छैन भने अरूसँग किन रिसइवी गर्नु’ भन्दै उहाँले दाउपेच गर्नेलाई नै लज्जित तुल्याइदिनुभएको थियो । अस्पतालमा रहँदासमेत उहाँले ठट्टा छाड्नु भएन । प्राउन खान मनलाग्यो भन्नुभयो र वाइनसहित खानुभयो ।

उहाँले ‘लौ भगवान् रक्षा गर’ भन्दै आत्माले मागेको भोजन ग्रहण गर्नुभयो । अन्तिम समयमा आइसक्रिम रहर गर्नुभएको थियो । त्यो इच्छा पूरा गराउन पाइनँ । कसैलाई व्यंग्य गर्नुपर्‍यो भने उहाँ आफैं पात्र बन्नुहुन्थ्यो । उहाँले आफू ‘रक्सी खान सांसद भएको भनेर’ संसदीय व्यवस्थामा पसेको कुरीति र विसंगतिप्रति खरो आक्रोश पोख्नुभएको थियो । जे देख्यो खुलस्त भन्ने बानी थियो । उहाँसँग यो आत्मीयता र ठट्ट्यौली मंगलबारसम्म जारी थियो । त्यसपछि अचेत भएर मृत्युसँग संघर्ष गर्नुभयो र शुक्रबार राति त्यसलाई स्वीकार गर्नुभयो ।

राजनीतिको नियम सिकाए

-गगन थापा,

युवानेता, नेपाली कांग्रेस

किसुनजी राजनीतिमा घात-प्रतिघात सहेर ‘सन्त’ उपाधि पाएको नाम हो । उनले दाउपेच, छलछाम र कुटीलताबिना पनि राजनीति गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिदिए । विडम्बना, यही मान्यता आज खतरामा परेको छ । उनले सरलता, त्याग, निष्ठा र समर्पण राजनीतिका नियम हुन् भनेर सिकाए । राजनीति गर्नु ठूलो कुरा होइन, त्यसमा नैतिक बल रह्यो रहेन भन्नेमा उनको ध्यान रह्यो । उनले भाषण वा कुराबाट यी मान्यता स्थापित गरेका होइनन्, व्यवहारबाट देखाएका हुन् । कुराकानीमा त उनी ठट्ट्यौली नै थिए । व्यवहारबाट राजनीतिको गम्भीरता देखाइदिए । लोभलालच गरेनन्, धेरै गुमाए, जनताको मायामात्रै पाए । उनी सत्याग्रही हुन्, अहिंसा र त्याग सिकाए । आफ्नो चरित्रलाई नबिर्सने गरी जनतामाझ स्थापित गराए ।

 

मिठाई देखाउन मलाई फ्रान्स लैजानुभो

-बीएल शर्मा,

मिठाई व्यवसायी

मिठाईका पारखी किसुनजीको मुखबाट गुलियोभन्दा पनि ‘ट्वाक्क’ अमिलो र मीठो हुने हस्यौली बर्सिरहन्थ्यो । उनी आफैं भने गुलियो र मिठाईका लागि मरिहत्ते गर्थे । २००५ सालमा उनी जेलमा बस्दा मैले मिठाई बनाएर पठाउँथें । यहाँसम्म कि ‘कहीं भेटे ठोक्नु’ भन्ने पञ्चायत सरकारको आदेशसमेत बेवास्ता गर्दै उनी मकहाँ मिठाई खान आइपुग्थे । ‘हैन खतरा छ, कहाँ आउने हो बरु मै लिएर आउँछु’ भन्यो मान्दै नमान्ने । पञ्चायतकालमा उनले लुकीछिपी धेरैपटक इन्द्रचोकमा मेरोमा आएर मिठाई खाएका छन् । उनी पानीपुरीका सौखिन थिए । मभन्दा पाँच महिनाले कान्छो भए पनि म उनलाई ‘तपाईं’ भन्थें र जवाफमा उनले ‘दाजु तिमी’ भनी सम्बोधन गर्थे । पानीपुरीका लागि मरिहत्ते गर्ने उनको स्वभाव थियो । यो स्वभाव पनि पानमोहमा बदलियो । प्रधानमन्त्री हुँदा फ्रान्स र अरू देशमा मलाई घुमाउन लगेका थिए । त्यहाँ राम्राराम्रा मिठाई हेर्नु भन्दै नेपालमा गएर त्यस्तै बनाउनुपर्छ भन्दै हौस्याउँथे । अस्ति जन्मोत्सवमा पनि मिठाई खुवाएको थिएँ । मिठाई व्यवसायमा लाग्न हौस्याउने, राम्रो मिठाई भन्दै फुर्काउने र ट्वाक्क लाग्ने ठट्ट्यौली सुनाउने साथी गुमाएको छु । राजनीति र देशलाई त कति क्षति भयो, लेखाजोखा नै छैन ।

Posted by: Shiva Paudel

Source: Kantipuronline 

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.