लिवियामा उद्धारको पर्खाइमा रहेका नेपाली


 सुरेन्द्र पौडेल, काठमाडौं, फागुन २२ –  लिवियाको राजधानी त्रिपोलीबाट बसमा ट्युनिसिया बोर्डर रास अजदिर पुगेका ३२ जना नेपाली बीच बाटोमा लुटिएका छन्। दुई भिन्दाभिन्दै समुहमा बिहीबार ट्युनिसिया बोर्डर तर्फ हिडेका उनीहरु बीचैमा लुटिएका हुन्। लुटिनेमा एउटा समुह २० र अर्को समुहमा १२ जना रहेको इजिप्टको कायरोस्थित नेपाली दूतावासले जनाएको छ।  ‘ट्युनिसिया बोर्डर पुगेका ३२ जना नेपालीले आँफु लुटिएको जानकारी हामीलाई गराएका छन्,’ कायरोस्थित नेपाली दूतावासका प्रथम सचिव तीर्थ अर्यालले टेलिफोनमा नागरिकसँग भने, ‘लुट्ने आन्दोलनकारी हुन या गद्दाफी समर्थक उनीहरुले पहिचान गर्न नसकेको बताए।’

 सरकारले बुधबार लिविया भित्र रहेका नेपालीलाई इजिप्ट र ट्युनिसिया मध्ये पाइक पर्ने एक देशको वोर्डरमा एकत्रित हुन आग्रह गरेको थियो। सोही वमोजिम उद्धारको आसामा ट्युनिसिया बोर्डरतर्फ हिडेका उनीहरु बीचैमा लुटिएका हुन्। अर्यालका अनुसार लुटेराले नेपालीसँग रहेको लिवियन दिनार, मोबाइल, ल्यापटप लगायतका सामाग्री लुटेर लगेका छन्। ‘के कती सरसामान तथा सम्पत्ती लुटपाट भयो यकिन हुन सकेको छैन,’ अर्यालले भने, ‘लुटेराले छानीछानी राम्रा सामान लुटेको ट्युनिसिया वोर्डर पुगेका नेपालीले हामीलाई फोनगरी जानकारी गराएका छन्।’

 लुटिएर ट्युनिसिया बोर्डर पुगेका नेपालीहरु अहिले त्यहाँस्थित अन्तराष्ट्रिय आप्रवासी संगठन (आइओएम)को क्याम्पमा रहेको उनले बताए। आन्दोलनकारी र गद्दाफीका समर्थक दुवैथरी हेर्दा उस्तै देखिने र अरबी भाषा नेपाली कामदारले बुझ्न नसक्दा लुट्ने कुन पक्षका हुन् भन्ने पहिचान हुन नसकेको उनले बताए। यस्तै बिहीबार नै ट्युनिसिया बोर्डरतर्फ हिडेको अर्को १५ जना नेपालीको समुह पनि बीच बाटोमा लुटिएको आशंका गरिएको छ। उनीहरु ट्युनिसिया बोर्डर पुगेको छैनन् भने मोबाइल सम्पर्क पनि हुन सकेको छैन। ‘सँगैजस्तो हिडेको दुईवटा समुह बोर्डर पुगेर फोन गरिसक्यो , तर उनीहरुसँग सम्पर्क समेत हुन सकेको छैन। उनीहरु बीच बाटोमा लुटिएको हुन सक्छन्,’ अर्यालले भने।

 उद्धारमा कठिनाई

मानव उद्धारमा संलग्न अन्तराष्ट्रि संस्था आइसिआरसी र आइओएमले लिविया भित्र रहेका नेपालीलाई वोर्डरसम्म सुरक्षित लैजान अस्विकार गरेपछि उद्धारमा कठिनाई आएको छ। धेरै देशका नागरिक विच बाटोमा लुटिएपछि उनीहरुले बोर्डरसम्म लैजान अस्विकार गरेका हुन्।

‘कामदार लुटिन्छन् भनेर अन्तराष्ट्रि संघसंस्थाले बोर्डरसम्म लैजान अस्विकार गरेका छन्,’ अर्यालले भने, ‘बरु उनीहरुले नेपालीलाई लिविया भित्रै सुरक्षित राख्ने र खानपान तथा उपचारको व्यवस्था गर्ने प्रतिवद्धता गरेका छन्।’

अर्यालका अनुसार लिविया भित्र दूतावासको सम्पर्कमा रहेका उद्धार हुन बाँकी १ सय ८ जना नेपाली रहेका छन्। ती मध्ये ८९ जना राजधानी त्रिपोलीमा र १९ जना मिश्राटमा रहेका छन्। त्रिपोलीमा रहेका नेपाली ४८, २४ र १५ जनाको तीन समुहमा भिन्दा भिन्दै स्थानमा रहेका छन्। यस्तै दुई जना एक्लाएक्लै रहेको अर्यालले बताए। मिश्राटमा रहेका १९ जना भने अल जमल कम्पनीको क्याम्पमा एकै समुहमा रहेको बताइएको छ।

‘त्रिपोलीमा रहेका मध्ये ४८ र २४ जनाको दुई समुहलाई विमान मार्फत ट्युनिसिया लगिने तयारी भइरहेको जानकारी हामीलाई आएको छ,’ अर्यालले भने, ‘अरुलाई पनि अब बसमा बोर्डरसम्म लैजाने अवस्था छैन। उनीहरुलाई पनि विमानबाटै उद्धार गर्नुपर्ने देखिएको छ।’

अन्तराष्ट्रिय संघसंस्थाले सुरक्षाको प्रतिवद्धता गरेपनि लिवियामा नेपालीलाई काम दिने बहुराष्ट्रिय कम्पनीका सञ्चालक त्यहाँबाट भागिदिँदा नेपाली कामदारको जिवन थप कष्टकर बन्दै गएको छ। कतारको रामको कम्पनीमा काम गर्न १५ महिना अघि त्रिपोली पुगेका मोरङ टाडीका एमबी लिम्बुले त्यहाँ खान र बस्नको समेत अफ्ठेरो परेको बताए।

‘हामीसँगै बसेका भारत, बंगलादेशका कामदारलाई उनीहरुको देशले लगिसक्यो,’ त्रिपोलीबाट आँफै फोनगरी उनले भने, ‘अब क्याम्पमा नेपाली ४८ जना मात्र छौं। सहरमा बम पड्कीरहेको छ। हामी माथि कुनबेला हमला हुन्छ थाहा छैन।’लिम्बुले आँफुहरु दुई दिनदेखि गम्भीर अवस्थामा रहेको बताए। त्रिपोलीको सडकमा गद्दाफीका मिलिसिया तैनाथ रहेका छन्। कतैबाट पनि वास्ता नभएको गुनासो उनको थियो।

सात सय काठमाडौं आइपुगे
परराष्ट्र मन्त्रालयले लिवियाबाट झण्डै ७ सय नेपालीलाई उद्धारगरी काठमाडौं ल्याइसकिएको जनाएको छ। बाँकी रहेकाको पनि छिट्टै उद्धार हुने उसले बताएको छ। ‘६ सय ७५ जनालाई लिवियाबाट काठमाडौं ल्याइसकियो,’ परराष्ट्रका सहायक प्रवक्ता हरिस्चन्द्र घिमिरेले भने, ‘अब एक सयको हाराहारी मा बाँकी छन्।’

 घिमिरेका अनुसार लिवियाको घाटबाट उद्धार गरी सुडान लगिएका ७ सय ४६ जना नेपालीलाई तीन वटा जहाज चार्टरगरी काठमाडौं ल्याउने व्यवस्था मिलाईसकिएको छ। सुडानबाट पहिलो लट शनिबार रातीसम्म काठमाडौं आइपुग्ने बताइएको छ भने बाँकीलाई आइतबार र सोमबार ल्याइने छ। इजिप्ट आइपुगेका १ सय १४ जनालाई सोमबार काठमाडौं ल्याइने पनि उनले जानकारी दिए।

Posted by: Shiva Paudel

Source: Nagariknews

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.