महराको नेतृत्वमा माओवादी सरकारमा


गंगा बीसी/दुर्गा खनाल

काठमाडौ, फाल्गुन १९ – प्रधानमन्त्री चयनको महिना दिनपछि बल्ल माओवादी सरकारमा जाने भएको छ । सातबुँदे सहमति र गृह मन्त्रालय विवाद अन्त्य भएपछि स्थायी समिति सदस्य कृष्णबहादुर महराको नेतृत्वमा माओवादीले सरकारमा जाने निर्णय बुधबार गरेको हो । सातबुँदे सहमति कार्यान्वयन र शान्ति प्रक्रियाको काम अघि बढेपछि गृह मन्त्रालय’bout प्रधानमन्त्रीले पुनर्विचार गर्ने प्रतिबद्धता जनाएपछि माओवादीले सरकारमा जाने निर्णय गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिको बुधबारको बैठकमा स्थायी समिति सदस्यहरू महरासहित देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन र गिरिराजमणि पोख्रेलको नाम मन्त्रीका लागि प्रस्ताव गरेपछि पारित भएको थियो । औपचारिक निर्णय भने बिहीबार हुनेछ । पार्टी प्रवक्ता दीनानाथ शर्माले महराको नेतृत्वमा सरकारमा जाने निर्णय भएको बताए । ‘यसअघि सरकारबाहिर बस्ने निर्णय गरेकामा अब सरकारमा जाने निर्णय गर्‍यौं,’ उनले भने, ‘११ जना मन्त्री हुनेछन्, नेताको नाम बिहीबार टुंगो लगाउँछौं ।’

यसअघि सातबुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्धता नदेखाएको भन्दै माओवादीले बाहिर बसेर सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । पार्टी विदेश विभाग प्रमुख महरा सूचना तथा सञ्चारमन्त्री हुने सम्भावना छ ।

स्रोतका अनुसार माओवादीले पाउने निश्चितप्रायः भएका मन्त्रालयहरूमा सञ्चार, शान्ति तथा पुनर्निर्माण, कानुन तथा न्याय, भौतिक योजना, ऊर्जा, स्वास्थ्य तथा जनसंख्या, श्रम, भूमिसुधार, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाजकल्याण छन् । माओवादीले वर्षमान पुनलाई बिनाविभागीय मन्त्रीका रूपमा पठाउने स्रोतको भनाइ छ । ‘प्रधानमन्त्रीले गृह मन्त्रालय माओवादीलाई हस्तान्तरण गरेपछि पुनले त्यो जिम्मेवारी पाउने सम्भावना छ,’ स्रोतले बतायो ।

माओवादीका अन्य मन्त्रीमध्ये गुरुङ कानुन, रायमाझी उद्योग वा भौतिक योजना र पोख्रेल स्वास्थ्य तथा जनसंख्यामन्त्री हुने सम्भावना छ । पुन र पोख्रेल दाहाल पक्ष, गुरुङ उपाध्यक्ष मोहन वैद्य र रायमाझी अर्का उपाध्यक्ष बाबुराम भट्टराई पक्षका हुन् । हाल महरा कुनै पक्षमा लागेका छैनन् । वैचारिक रूपमा वैद्यनिकट मानिए पनि उनी दाहालले विश्वास गर्ने नेतामा पर्छन् । उपाध्यक्ष वैद्य र भट्टराई पक्षले केन्द्रीय पदाधिकारीमध्येबाट नेतृत्व गरी सरकारमा जानुपर्ने अडान राखे पनि स्थायी समिति बैठकमा महराको नेतृत्वमा जाने सहमति भएको थियो । मन्त्री हुने नेताहरूको नाम बिहीबार स्थायी समिति बैठकले टुंगो लगाउनेछ । बुधबारको बैठकमा स्थायी समिति सदस्यहरू दीनानाथ शर्मा, पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, हितमान शाक्य, नारायण शर्मा, केन्द्रीय सदस्यहरू जयपुरी घर्ती, महेन्द्र पासवान, प्रभु साहलगायत मन्त्री हुने’bout छलफल भएको थियो ।

बैठकपछि मन्त्रालय बाँडफाँड सम्बन्धमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा झन्डै डेढ घन्टा छलफल भएको थियो । भेटमा अन्य दललाई पनि मन्त्रिपरिषद्मा सामेल गराउन कुन-कुन मन्त्रालय दिनेलगायत विषयमा कुरा भएको थियो । त्यस्तै, तत्काल एमालेसँग रहने मन्त्रालयहरूमा गृह, रक्षा, अर्थ, सामान्य प्रशासन, शिक्षा, स्थानीय विकास, वनलगायत छन् । परराष्ट्र मन्त्रालयको जिम्मेवारी मधेसी फोरमका अध्यक्ष उपेन्द्र यादवले पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । फोरमले तीनवटा प्रस्ताव अघि सारेकाले त्यस विषयमा माओवादीसँग संयुक्त छलफल गरी मन्त्रालयको बाँडफाँड टुंगो लगाइने एमाले पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले बताए ।

‘कांग्रेसलगायत अन्य दलहरू सरकारमा सहभागी हुँदा दुई दलका भागमा परेका केही मन्त्रालय उनीहरूलाई दिन सकिनेमा प्रधानमन्त्री र माओवादी अध्यक्षबीच कुरा भएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । पोलिटब्युरो सदस्य ज्वालाका अनुसार एमालेका तर्फबाट यो चरणमा नयाँ मन्त्रीहरू थपिने छैनन् । ‘अन्य दलसँगको छलफलपछि मात्र एमालेका तर्फबाट मन्त्रीहरू थपिन्छन्,’ उनले भने, ‘केही दिनभित्रै सबै दलसँग छलफल गरेर अर्को चरणको विस्तार हुन्छ ।’ एमालेतर्फबाट यसअघि अर्थमन्त्रीमा भरतमोहन अधिकारी नियुक्त भइसकेका छन् भने विष्णु पौडेल र गंगालाल तुलाधर बिनाविभागीय मन्त्री छन् । गृह र रक्षा तत्काल प्रधानमन्त्रीले नै राख्नेछन् । यही चरणको विस्तारमा बिनाविभागीय मन्त्रीहरूलाई पनि जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी छ ।  प्रारम्भिक रूपमा कुन दलले कुन मन्त्रालय भन्ने करिब सहमति भए पनि अन्य दलसँगको छलफलबाट पनि टुंग्याउनुपर्ने भएकाले बिहीबार छलफलबाट केही हेरफेर पनि हुन सक्ने सम्भावना छ ।

Posted by: Jay Ale                         Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.