लिबियाबाट फर्केका नेपालीले नौ दिनपछि बल्ल खान पाए


सुरेन्द्र पौडेल,

 काठमाडौं, फागुन १५- दिउँसो तीन बजे १२ घन्टा लामो हवाइयात्राबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका ६१ नेपाली कामदारका अनुहार मलीन देखिन्थे। ओठ सुकेका थिए। आँखा रसिला थिए। स्वर दबेको थियो। ‘अब त बाँचियो,’ हिंसाग्रस्त लिबियाको दर्नाबाट इजिप्टको अलेक्जेन्ड्रिया हुँदै एयर अरेबिया विमानमा काठमाडौं आइपुगेका मोरङका वीरबहादुर भण्डारीले विमानस्थलबाट बाहिरिने क्रममा भने, ‘साताभित्र लिबियामा बाँकी अरूको उद्वार नहुने हो भने खानै नपाएर मर्छन्।’

दर्नाबाट शुक्रबार अलेक्जेन्ड्रिया ल्याइएका ५ सय ६२ मध्ये ६१ जना सरकार र उनीहरूलाई लिबिया पठाउने एसओएस म्यानपावरको सहयोगले पहिलो खेपमा शनिबार काठमाडौं आइपुगेका हुन्।

अलेक्जेन्ड्रिया आइपुगेकालाई इजिप्ट सरकारले ७२ घन्टाको मात्र भिसा दिएको छ। जसअनुसार सोमबारसम्म सबैले अलेक्जेन्ड्रिया छाडिसक्नुपर्छ।

‘हामी त आइपुग्यौं,’ लामो सास फेर्दै भण्डारीले भने, ‘अलेक्जेन्ड्रिया हामीसँगै आइपुगेका पनि अब एक–दुई दिनमा आइपुग्लान्। तर, लिबियाका अन्य सहरमै रहेकाहरूको अवस्था नाजुक छ। अब तिनको के होला?’

विमानस्थलबाट उनीहरूलाई सोझै लिबिया पठाउने एसओएस म्यानवारको धापासीस्थित कार्यालय लगियो। त्यहाँ खाना तयार थियो। उनीहरूले ९ दिनदेखि पेटभरि खान पाएका थिएनन्, भात त देख्नैसमेत।

‘भातले झ्याप्प बनाउँदैछ,’ धेरै दिनपछि पेटभर खान पाएकोमा दंग झापा दमकका मोहनप्रसाद कँडेलले भने, ‘नौ दिनपछि भात खान पाइयो, मत्याउँछ कि क्या हो?’

मदरसामा ५० जना अट्ने हलमा चिसो भुईंमा ९० जना सुत्नुपरेको सम्झँदै धरानका शिव साहले सुनाए, ‘सुरक्षा दिने र आन्दोलनकारी छुट्ट्याउनै सकेनौं। सबै उस्तै देखिन्छन्। मदरसामा बस्दा पनि धेरै लुटिए।’ आन्दोलनकारीले त्यहीँ वासुदेव राईको मोबाइल चक्कु देखाएर लुटेका थिए। अरु त अरू सँगै काम गर्ने लिबियालीले समेत मौका छोप्न चक्कु देखाएर लुट्ने प्रयास गरेका थिए।

लिबिया कसरी पुगे नेपाली
काठमाडौं आइपुगेका उनीहरू एक लाखदेखि डेढलाख रुपैयाँसम्म खर्चेर लिबिया पुगेका थिए। कोही अढाई वर्षपहिले त्यहाँ पुगेका थिए त कोही ६ महिना। सबैको थाप्लामा ऋणको भारी छँदैछ। ‘धन कमाउन गएका हामी ज्यान जोगाएर फर्कियौं,’ उनीहरू भन्दै थिए।

तानशाह कर्णेल गद्दाफीलाई हटाई प्रजातन्त्र स्थापनाका निम्ति भएको लिबियाली आन्दोलनले बेरोजगार बनेका उनीहरू अब फर्कन बाँकी साथीहरुको पर्खाइमा छन्। सँगै काम गर्ने सबै साथीहरु काठमाडौं आइपुगेपछि मात्र उनीहरू आ–आफ्ना घर फर्कने सोचमा छन्।

‘सोमबारसम्म अलेक्जेन्ड्रिया आइपुगेका ५ सय ६२ जनालाई नै काठमाडौं ल्याउने हाम्रो योजना छ,’ एसओएसका अध्यक्ष हेमलाल गुरुङले भने, ‘आजै (शनिबार) राति थप ६० जना आइपुग्न सक्छन्। यो क्रम जारी रहन्छ। हामीले सबै बन्दोबस्त मिलाइसकेका छौं।’

एसओएसले फर्केका प्रत्येकलाई काठमाडौंबाट आ–आफ्ना घर जान बाटोखर्च दुई–दुई हजार उपलब्ध गराउने जनाएको छ।

 Posted by: Shiva Paudel                       Source: Nagariknews

One response to “लिबियाबाट फर्केका नेपालीले नौ दिनपछि बल्ल खान पाए

  1. garib nepali lai jaha gaye pani sukha chhaina kya tens hun6a bhanya…

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.