महेश आचार्य
फाल्गुन १५ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको यहाँस्थित क्षेत्रीय कार्यालय रहेको भवन ३६ वर्षपछि घर मालिकले अदालतको आदेश भन्दै बलजफ्ती खाली गराएका छन् । घर मालिकसँग सम्बन्धित व्यक्तिहरू शनिबार बिहानै जनपथस्थित निगम कार्यालय पुगेर सामानहरू बाहिर फालिदिएका थिए । लिज सम्झौता सकिए पनि ११ वर्षयता निगम अवैधानिक तरिकाले बसिरहेकाले आफूहरूले हटाएको उनीहरूले कान्तिपुरलाई बताए ।
व्यापारिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण उक्त स्थानमा सन् १९७५ देखि निगमको कार्यालय रहँदै आएको थियो । घर मालिकसँग सम्बन्धित कम्पनी सृष्टि प्रोपर्टिजसँग भवनका दुई तल्ला
(भुइँ र पहिलो) २५ वर्षका लागि निगमलाई लिजमा दिने त्यतिखेर सम्झौता भएको थियो ।
सन् २००० मा लिजको अवधि सकिएपछि घर मालिकले कार्यालय खाली गराउन भने पनि निगमले छाडेन । बरु निगम घर मालिकविरुद्ध लिज सम्झौता सकिएको वर्षै अदालत गएको निगमका क्षेत्रीय निर्देशक श्यामध्वज सिलवालले जानकारी दिए । अदालतले करिब ११ वर्षपछि घर मालिकको पक्षमा फैसला गरेको
हो । ती दुई तल्लाका लागि निगमले १ हजार १ सय रुपियाँ मात्रै तिर्दै आएको थियो । जबकि उक्त क्षेत्रमा निगमको कार्यालय भएको जति स्थानलाई लाखौं भाडा लिने गरिन्छ । फैसला केही दिनअघि भए पनि सार्वजनिक बिदाको दिन पारेर घर मालिकसँग सम्बन्धित व्यक्तिहरू कार्यालय खाली गराउन पुगेका थिए । साँझसम्म कार्यालयको भुइँ तल्ला खाली गराएर सृष्टि प्रोपर्टिजको नाम अंकित गरेर रंगरोगन सुरु गरिएको छ । निगमका केही सामान अझै पहिलो तल्लामा छन् ।
कार्यालय खाली गराइएको विषयमा निगम कर्मचारीहरूलाई सोध्दा अन्योलमा देखिन्थे । ‘यो सबै अचानक भयो, हामी आफैं पनि अचम्ममा परिरहेका छौं,’ निकै थकित र चिन्तित मुद्रामा एक कर्मचारीले भने ।
निर्देशक सिलवालले पनि आफूसमेत घटना कसरी भयो भन्ने’bout अन्योलमा परेको बताए । कार्यालय खाली गराउनुअघि जानकारी दिए/नदिएको’bout सोध्दा उनले अनभिज्ञता जनाए । ‘जुन अवस्थामा हामी मुद्दा लडिरहेका थियौं, त्यसमा पूर्वजानकारी दिनु नपर्ने हाम्रो पक्षका वकिलले मलाई भनेका छन् । मैले पनि खोइ केही बुझ्न सकेको छैन,’ सिलवालले भने ।
Posted by: Shiva Paudel
Source: Kantipureonline