– कुलचन्द्र अर्याल
इतिहास – मूर्खले खेल्ने र महामूर्खले हेर्ने खेलका रूपमा चिनिने क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ । सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ सताब्दीमा आएर मात्र प्रौढहरूको ध्यान खिचेको हो । इतिहासअनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो ।
कसरी विकसित भयो क्रिकेट शब्द ?
क्रिकेट शब्द डच शव्द क्रिकबाट आएको विश्वास गरिन्छ, जसको अर्थ लट्ठी हुन्छ । क्रिकेट खेलमा ब्याट र विकेटको रूपमा लट्ठीका रूपमै प्रयोग गरिने भएकाले यसको नाम जुरेको हुनसक्छ ।
औपचारिक खेलको सुरुवात
क्रिकेटको सुरुवात पाँचौं शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६ मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ, जुन बेलायतको केन्टमा भएको थियो । सत्रौँ शताब्दीको अन्त्यतिर केही पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिवाना तिरेको इतिहास छ । सन् १७०६ मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका ’boutमा पुस्तक प्रकाशन गरे । त्यतिबेला विकेटमा दुईवटा लट्ठी हुन्थे भने ४ बलको एक ओभर हुन्थ्यो । सन् १७४४ मा प्रकाशित क्रिकेटको दोश्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गर्यो ।
सन् १७६० मा इंग्ल्यान्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो । त्यसपछि सन् १७८७ मा अर्को क्लब म्यारिलेबन स्थापना भयो ।
सुरुमा बलरले बललाई जमिनबाट गुडाएर विकेटतिर फ्याक्नुपथ्र्यो तर सन् १७७० को दशकपछि बललाई हावामा फ्याँक्ने चलन सुरु भयो जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो । सन् १७७४ मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो विकेट पनि राख्न थालियो । सन् १७८० मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो । सन् १८७० मा क्रिकेटमा चौ का र छक्काको व्यवस्था भयो ।
टेस्ट क्रिकेटको सुरुवात सन् १८७७ मा भयो, जुन इंग्ल्यान्ड र अस्ट्रेलियाबीच भएको थियो, जसमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई ४५ रनले हराएको थियो । सन् २००७ मा पहिलो ट्वान्टी-२० विश्वकप क्रिकेट प्रतियोगिता सम्पन्न भयो, जसमा भारतले विश्वकपको उपाधि जित्यो ।
केही रोचक तथ्य
सन् १९४६ मा इङ्ल्यान्डमा बार्बाडोज र बि्रटिस गुएनाबीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो । उक्त ओभरमा कुनै नो बल वा वाइड फालिएको थिएन । ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको थियो ।
आधुनिक क्रिकेटमा तीनवटा विकेट हुन्छन्, तर सन् १९६३ मा इङ्ल्यान्डको लर्ड्समा खेलिएको खेलमा भने ४ वटा विकेट राखिएको थियो । परिक्षणका रूपमा ४ वटा विकेट ठड्याएर खेलिएको खेलमा विकेटको चौडाइ ९ इन्चबाट ११ इन्च बनाइएको थियो ।
बलरले बल नफाल्दै नन स्ट्राइकिङमा रहेको ब्याट्सम्यान आफ्नो क्रिजबाट दौडिए आउट हुन्छ, जसलाई माँकड भनिन्छ । भारतका विनोद माँकड विवादास्पद रहेको टेस्ट खेलमा त्यसैगरी आउट भएका हुनाले त्यसपछि त्यस्तो प्रकारको आउटलाई माँकड भनिन्छ ।
सन् १९४६ मा इङ्ल्यान्डमा भएको खेलमा आश्चर्यजनक घटना भयो । दुई ओभरको खेल भैसकेपछि फिल्डिङ गरिरहेका लेन हटनले खेल रोकेर पिचको लम्बाइ नाप्न आग्रह गरे । त्यसपछि खेल रोकेर पिच नाप्दा पीच २ यार्ड लामो देखियो । पिचको लम्बाइ २२ यार्ड हुनुपर्नेमा २४ यार्डको पाइएपछि खेल पुनः सुरुदेखि खेलाइएको थियो ।
टेलिभिजनमा रिप्ले हेरेर थर्ड अम्पाएरद्वारा रन आउट घोषणा गरिएका पहिलो खेलाडि भारतका सचिन तेन्दुलकर हुन् । दक्षिण अफ्रिकाविरुद्ध सन् १९९२ मा भएको खेलमा उनलाई दक्षिण अफ्रिकी खेलाडि जोन्टी रोड्सले आउट गरेका थिए । अर्को दिन तिनै जोन्टी रोड्सलाई तेन्दुलकरको अपिलमा थर्ड अम्पाएरले रन आउट घोषित गरे ।
सन् १९८६ मा बेलायतमा भएको क्रिकेटमा अर्को रोचक घटना भयो । खेलमा ब्याट्सम्यानले बल हानेपछि रनका लागि दौडँदा ब्याट् भुइँमा खसाले, त्यतिबेलासम्म ब्याट्सम्यानले ३ रन जोडिसकेका थिए । जब फिल्डरले बल पक्रेर विकेटतर्फ फाले, बलरले त्यो बललाई ब्याट् टिपेर हिर्काउँदै पर फाले । जसबापत फिल्डिङ गर्ने टिमलाई ५ रनको जरिवाना दिइयो र ब्याट्सम्यानले जम्माजम्मी ८ रन जोडे ।
एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा पहिलो बलिङ गर्ने बलर जिओफ बोएकट हुन् र पहिलो बल सामना गर्ने ब्याट्सम्यान ग्राहम म्याक केन्जी ।
सन् १९७५ को विश्व कप क्रिकेटमा भारतका सुनिल गाबस्करले पूरा खेलमा ब्याटिङ गर्दै जम्माजम्मी ३६ रन बनाएका थिए । उक्त खेलमा भारत इंगल्याण्डसँग २ सय ३ रनले पराजित भएको थियो ।
टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा लामो समयसम्म खेलिएको म्याच सन् १९३९ मा दक्षिण अफ्रिकाको डर्बानमा भएको इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेल हो, जुन लगातार ९ दिनसम्म हुँदा पनि अनिणिर्त रह्यो । मार्च ३ मा प्रारम्भ भएको खेल मार्च १४ सम्म चले को थियो । त्यसबीचमा ४, ६, ७, ८, ९, १० र १४ तारिखमा खेल भयो । ११ तारिखका दिन वर्षाका कारण खेल हुन सकेन । १४ तारिखको बेलुकीसम्ममा इंग्ल्यान्डले दोस्रो पालिमा ५ विकेट गुमाएर ६ सय ५४ रन बनाएको थियो र जित्नका लागि जम्मा ४२ रनको आवश्यकता थियो । १५ तारिखमा खेल भएको भए इंग्ल्यान्डले जित्न सक्थ्यो तर १५ तारिखका दिन इंग्ल्यान्डको टोली डुंगाबाट घर फर्कनुपर्ने थियो । त्यसैले खेल पूरा हुन पाएन र बराबरीको घोषणा गरियो । टेष्ट क्रिकेटको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको म्याच हो ।
Posted by: Raju Gurung Source: Saptahik