फ्रान्सेली सेनामा नेपाली


– डम्बरकृष्ण श्रेष्ठ
फौजी हुन चाहने नेपाली तन्नेरीले बेलायती र अमेरिकी सेनापछि नयाँ गन्तव्य फेला पारेका छन्― फ्रेन्च लिजन आर्मी। बेलायती सेनाको ब्रिगेड अफ गुर्खाज् मा भर्ना हुन नसकेका काठमाडौं, गोङ्गबुका लाकेश गुरुङ (२२) फ्रेन्च लिजनेयर भएको एक वर्ष भयो। बेलायती लाहुरे हुन ललितपुरस्थित गोर्खा एएक्सएन प्रालिमा ६ महिने प्रशिक्षण लिए पनि पोखराको अन्तिम छनोटमा फालिएपछि १६ महिनाअघि उनी डेनमार्कहुँदै फ्रान्स हान्निएका थिए। फ्रान्स पुगेको दुई महिनामा फ्रेन्च लिजन आर्मी मा लागेको उनका बाबु बलबहादुर गुरुङले बताए।

अध्ययन भिसा लिएर गत वर्ष पेरिस पुगेका धरान, रत्नचोकका प्रकाश थापामगर (२४) पनि लाकेशकै पल्टनमा छन्। आफ्ना माल्दाइझ्ैं ब्रिगेड अफ गुर्खाज मा जान चाहेका प्रकाश धरान र काठमाडौंका प्रशिक्षण केन्द्रहरूमा तालिम लिएर पोखरा पुगेका थिए, तर नछानिएपछि लाकेशकै मनोदशामा पेरिस पुगे। फ्रेन्च लिजन आर्मी मा धादिङका जीवन गुरुङ र ललितपुर, मानभवनका दिपेश राई (२७) लाकेश र प्रकाश भन्दा क्रमशः एक वर्ष र ६ महिना वरिष्ठ छन्। जीवन र दिपेश जस्तै बेलायती सेनामा लाग्न नसकेको रन्कोमा फ्रान्स पुगेका काठमाडौं कुलेश्वरका समर्धन तामाङ अहिले छनोट प्रक्रियामा छन्। मण्डिखाटारका नृपेश राई पनि १ माघमा उतैतिर लागेका छन्।
गोर्खालीको नयाँ रोजाइ

राम्रो कमाइ हुने विदेशी सैन्य सेवामा जान चाहने नेपाली युवाका लागि उहिल्यैदेखि पहिलो रोजाइ रहिआएको छ― ब्रिटिस आर्म्ड फोर्सेज। बेलायती सेनामा हुने वार्षिक करिब २५० नेपालीको भर्तीका लागि ३० हजार जतिले कठोर प्रतिस्पर्धा गर्छन्। त्यहाँ भर्ना हुन नसकेपछि भारतीय गोर्खा पल्टनमा जाने र त्यहाँ पनि नभए नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको भर्ती पर्खेर बस्ने चलन थियो, तर अहिले अमेरिकन र फ्रेन्च आर्मीलाई पनि गन्तव्य बनाउन थालेका छन्।

फ्रान्सको सेवा गर्न चाहने विदेशी जवानहरूका लागि सन् १८३१ मा शुरु भएको फ्रेन्च लिजन आर्मी मा अहिले १२० जना जति नेपाली पुगेको गोर्खा एएक्सएन प्रालिका निर्देशक प्रकाश थापा बताउँछन्। विश्वका १४० देशका १७-४० वर्ष उमेर समूहका ५ फुट ३ इञ्चभन्दा अग्ला नागरिकहरू तोकिएको प्रक्रिया पूरा गरेर फ्रेन्च लिजन मा भर्ती हुन पाउँछन्। भर्तीका लागि आवेदन दिएको १० दिनमा शारीरिक परीक्षण हुन्छ। सेटअप, पुलअप, रोपक्लाइम्बिङ, १५० मिटर दौडलगायतका स्वास्थ्य र शारीरिक परीक्षामा उत्तीर्ण भएकाहरूको चारघण्टे अन्तरवार्ता लिएर बाल्यकालदेखिको अनुभव, चाहना र मनस्थिति’bout सोधिन्छ। प्रारम्भिक छनोट प्रक्रिया पूरा गरेर भर्ना क्याम्प छिरेका उम्मेदवारहरूको फैसला २१ दिनभित्र हुन्छ।

छानिएका जवानहरूलाई १६ हप्ते प्रशिक्षणपछि रुचि र दक्षताका आधारमा इञ्जिनियरिङ, इन्फेण्ट्री, प्यारा, अफिस वर्क आदि विभागमा खटाइन्छ। वर्षमा ४५ दिन बिदा पाउने लिजनेयर लाई आवश्यकता अनुसार फ्रान्स भित्र र बाहिर खटाइन्छ। कम्तीमा पाँच वर्षको शुरु करार सम्झ्ौता सकिएपछि अर्को पाँच वर्षसम्म हरेक ६ महिनामा करार नवीकरण हुने यस काममा उमेरको हद ५५ वर्ष र सेवा अवधि २१ वर्षसम्म छ। मासिक तलब ११०० युरोबाट शुरु हुने फ्रेन्च लिजन आर्मी मूलतः भाडाका सैनिकहरूको मर्सिनरी सेना भएकाले वैवाहिक स्थिति जेसुकै भए पनि संस्थाले पारिवारिक उत्तरदायित्व लिँदैन, हरेक जवानलाई एकल मान्दछ।

लिजनेयरहरूले न राज्य (फ्रान्स) लाई कर तिर्नुपर्छ न पेन्सन नै पाउँछन्। २१ वर्षसम्मको सेवा अवधिमा रेजिमेन्टल सर्जेन्ट मेजर (जमदार) सम्म हुन सकिने फ्रेन्च लिजन आर्मी मा ४००० युरोसम्म पुग्ने तलब र चार वर्षको सेवापछि दिन पाइने फ्रेञ्च नागरिकताको लागि आवेदन नै आकर्षण रहेको छ।
बाबुआमाको चिन्ता

सिङ्गापुर प्रहरीको गोर्खा कन्टिन्जेन्टमा २४ वर्ष बिताएका बलबहादुर गुरुङ सेवानिवृत्त भएर स्वदेश फर्किएको पाँच वर्षमा उनका छोरा लाकेश फ्रेन्च लिजनरी बने। सिङ्गापुरमै पढे-बढेको एक्लो छोराको सानैदेखिको चाहना पूरा भएकोमा खुशी बाबुआमालाई घरमा छाएको शून्यताले भने चिमोटिरहेको छ। बाबुआमाको चाहना छोराले नेपालमै केही गरोस् भन्ने थियो, नपुग्दो केही थिएन। बलबहादुर भन्छन्, “तर, ऊ फौजी हुने इच्छा पूरा गर्न गयो, रिटायर्ड भएपछि चाहिँ नेपालमै जीवन बिता’स् भन्ने छ।”

धरानका प्रकाश थापामगरकी आमा गीता पहिला श्रीमान र अहिले माइला छोराले ब्रिगेड अफ गुर्खाज् मै काम गरेकाले कान्छाले घर नछाडोस् भन्ने चाहना राख्थिन्, तर उही सोच्दै नसोचेको ठाउँमा गएर भर्ती भइदियो। उनी भन्छिन्, “बेलायतमा भएको छोरा कहिले इराक त कहिले अफगानिस्तान खटिएको सुन्दा आमाको मुटु हत्केलामा आउँछ। कान्छो पनि नौलो ठाउँमै गएर लाहुरे भयो।”

Posted by: Raju Gurung Source: Himal Khabar

One response to “फ्रान्सेली सेनामा नेपाली

  1. it’s very best for those who are above 21 after hard trying in british army. Government should have to provide these selection in nepal like as british army if so it will be also one of the way to give employment.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.