गोर्खाल्यान्ड आन्दोलन/सुरक्षाकर्मीको गोलीले दुईको मृत्यु


सिलिगुडी, माघ २६ – छुट्टै राज्य गोर्खाल्यान्डको माग गर्दै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाको शान्तिपूर्ण पदयात्रामाथि हस्तक्षेप गर्दै केन्द्रीय अर्धसैनिक बल (सीआरपीएफ) ले अन्धाधुन्ध गोली चलाउँदा मंगलबार मोर्चाका दुई कार्यकर्ताको मृत्यु भएको छ । मोर्चाले भने ५ जनाको मृत्यु भएको दाबी गरेको छ । घटनाको विरोधमा बुधबारदेखि अनिश्चितकालीन दार्जिलिङ बन्द आह्वान गरिएको छ ।

सिलिगुडीदेखि करिब ५० किलोमिटर टाढा जलपाइगुडी जिल्लाको सिप्सुस्थित कुमानीमा सीआरपीएफले गोली चलाउँदा डुबर्सको रागामाटीका १६ वर्षीय विकी लामा र कालिम्पोङकी विमला राईको मृत्यु भएको पश्चिम बंगाल पुलिसले पुष्टि गरेको छ ।

राज्यका प्रहरी प्रमुख रणवीर कुमारले निषेधाज्ञा तोड्न खोजेपछि बाध्य भएर गोली चलाएको तर्क गरेका छन् । मोर्चाले घटनामा अन्य तीन जनासहित पाँचको मृत्यु भएको दाबी गरेको छ । कालिम्पोङ निवासी २२ वर्षीया नीता खवास, डुबर्सको जलढाका निवासी रुद्र गुरुङ र वाङदी लामाको पनि घटनास्थलमै मृत्यु भएको मोर्चाको दाबी छ ।

घटनामा घाइते दर्जनभन्दा बढी पदयात्रीको कालिम्पोङ र जलपाइगुडीका सरकारी अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल पुगेर फर्किएका मानव अधिकारवादीले सीआरपीएफले प्रदर्शनकारीमाथि अमानवीय तवरबाट टाउकामा गोली प्रहार गरेको बताएका छन् । मोर्चा महासचिव रोशन गिरीले आधा दर्जन बढी कार्यकर्ता हराइरहेको बताए ।

मोर्चाले महिना दिनअघिदेखि अन्तरिम व्यवस्थाको माग छाडेर गोर्खाल्यान्ड आन्दोलनलाई तीव्र पारेको थियो । गृहमन्त्री पी चिदम्वरमको आग्रहलाई बेवास्ता गर्दै केही दिनदेखि डुबर्स केन्दि्रत आन्दोलन सुरु गरेका हो । चिदम्वरमले आन्दोलन छाडेर वार्तामा आउन मोर्चालाई आग्रह गरेको थियो । उसले बुधबारदेखि तराई अर्थात् सिलिगुडी आसपासका क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेको थियो । मोर्चाको तराई र डुबर्स केन्दि्रत आन्दोलन दमन गर्न बंगाल सरकारले केही दिनदेखि ४ कम्पनी केन्द्रीय अर्धसैनिक बल (सीआरपीएफ) परिचालन गरेको थियो  ।

पश्चिम बंगालकै माओवादी प्रभावित मेदनीपुर जिल्लामा परिचालित बललाई मोर्चाको आन्दोलन दबाउन दार्जिलिङ तथा डुबर्स ल्याइएको हो । राज्य सरकारका एक अधिकारीले आवश्यक परे अरू सीआरपीएफ तैनाथ गरिने बताएका छन् । मोर्चाले आन्दोलनका कार्यक्रम डुबर्समा केन्दि्रत गरेपछि सीआरपीएफ त्यता तैनाथ गरिएको हो । यसअघि १५ दिनअघि भुटानको सीमावर्ती क्षेत्र जयगाउँमा मोर्चा कार्यकर्ता र गोर्खाल्यान्ड विरोधीबीच झडप भएको थियो । त्यसपछि जलपाइगुडी प्रशासनले जलपाइगुडीका केही संवेदनशील क्षेत्रमा सतर्कता अपनाएको थियो ।

सिलिगुडीका पत्रकार विजय रुचालले दिएको जानकारीअनुसार जलपाइगुडी प्रशासनले डुबर्सको मालबजार, सिप्सु, नगरकट्टा, जलढाका, मालबजार लगायतका क्षेत्र केन्दि्रत गरी केही दिनदेखि १४४ धारा लागू गर्दै उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । यो धारा लगाएपछि समूह बनाएर हिँडडुल गर्न निषेध पू्र्णरूपमा निषेध हुन्छ ।

सीआरपीएफले सोमबार पनि नारी मोर्चाको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेत्र गर्दा करिब दुई दर्जन बढी घाइते भएका थिए । लाठीचार्जबाट गुन्जन प्रधान, वुलु गुरुङ, गंगीमाया प्रधानलगायत घाइते छन् । उनीहरूको अवस्था गम्भीर रहेको मोर्चाका प्रचार सचिव हर्क छेत्रीले कान्तिपुरलाई जानकारी दिए । गोर्खाल्यान्ड पर्सनल (जीएलपी) को त्यहाँस्थित अस्थायी शिविर पनि सीआरपीएफले ध्वस्त पारिदिएको छ ।

डुबर्सको घटनालगत्तै मोर्चा कार्यकर्ताले दार्जिलिङका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्  । दार्जिलिङका पत्रकार सञ्जय प्रधानका अनुसार दार्जिलिङ, कालिम्पोङ, मिरिक, खर्साङलगायत क्ष्ाेत्रमा तोडफोड र आगजनी गरिएको छ । दार्जिलिङका जिल्ला प्रमुखको कार्यालयमा तोडफोड भएको छ । खर्साङमा दार्जिलिङ जिल्ला प्रशासनको सवारी आन्दोलनकारीले जलाएर ध्वस्त पारेका छन् ।

डुबर्सको घटनालगत्तै दार्जिलिङ तथा आसपासका क्षेत्रमा मोर्चा कार्यकर्ता विध्वंसमा उत्रिएका छन् । यसले दार्जिलिङलाई हिंसात्मक आन्दोलनतिर धकेल्ने अनुमान गरिएको छ । मोर्चा कार्यकर्ताले दार्जिलिङको जिल्ला प्रशासन कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाले दार्जिलिङका सरकारी कार्यालय र अधिकारीलाई लक्ष्ाित गरेर तोडफोड थालिएको छ ।

डुबर्सको घटनाले सन् १९८६ को आन्दोलन दोहोरिन सक्ने भन्दै दार्जिलिङका विपक्षी पार्टीहरूले चिन्ता व्यक्त गरेका छन् । ८० को दशकको मध्यतिर दार्जिलिङमा छुट्टै राज्यको माग गर्दै तत्कालीन प्रशासक सुवास घिसिङकै नेतृत्वमा आन्दोलन चर्किएको थियो । आन्दोलन हिंसात्मक बन्दा करिब १२ सय सर्वसाधारणले अनाहकमा ज्यान गुमाएका थिए । यसैबीच मोर्चाका प्रचार सचिव हर्क छेत्रीले घटनाको विरोधमा बुधबारदेखि अनिश्चितकालीन दार्जिलिङ बन्द आह्वान गरेको बताए

Posted by : Dambar Prasad Rimal              Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.