फिर्ता बोलाइएका राजदूत अन्सारी भारत हुँदै साउदी पुगे


काठमाडौं, माघ २३ (नागरिक)-अख्तियारको विस्तृत अनुसन्धानकै क्रममा रहेका साउदी राजदूत हमिद अन्सारी भारतको लखनउ, दिल्ली हुँदै साउदी अरब पुगेको परराष्ट्र स्रोतले जनाएको छ । अख्तियार र मन्त्रालयलाई समेत जानकारी नै नगराई उनी साउदी पुगेको स्रोतको दाबी छ ।

मन्त्रिपरिषद् निर्णयलगत्तै परराष्ट्र मन्त्रालयले साउदी अरबका लागि नेपाली राजदूत हमिद अन्सारीलाई फिर्ता बोलाएपछि उनले नेपाल छाडेका हुन् । स्रोतका अनुसार अन्सारी दुई महिना नेपाल नफर्कने बताएर त्यता लागेका छन् ।

मृतकको परिवारलाई बिमा कम्पनीले दिएको क्षतिपूर्ति रकम निजी खातामा राखेर हिनामिना गरेको आरोपमा परराष्ट्रले अन्सारीलाई फिर्ता आउन बिहीबार पत्र पठाएको हो । मन्त्रालयले हालका लागि दूतावासका उपप्रमुख पारस घिमिरेलाई कार्यबाहक राजदूत तोकेको छ ।

मंगलबार मन्त्रिपरिषद् बैठकले अन्सारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । साउदीस्थित दूतावासमा पठाइएको पत्रमा अन्सारीलाई ‘यथाशीघ्र नेपाल फर्कन’ भनिएको छ । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पत्र प्राप्त गरेकै दिन राजदूतलाई फिर्ता हुन पत्र पठाएका छौं,’ परराष्ट्रका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले भने, ‘हाललाई दूतावासका उपप्रमुख पारस घिमिरेलाई कार्यबाहक राजदूतको जिम्मेवारी दिइएको छ ।’

साउदीमा सडक दुर्घटनामा परी मृत्यु भएका झापाका रमेश सुवेदीका आफन्तले बिमा कम्पनीले क्षतिपूर्तिबापत दिएको एक लाख रियाल (२० लाख रुपैयाँ) डेढ वर्ष बित्दा पनि नपाएको सार्वजनिक भएपछि राजदूतले क्षतिपूर्ति निजी खातामा राख्ने गरेको खुलासा भएको थियो । पीडित परिवारलाई दिएको चेक राजदूतले बुझेपछि बिमा कम्पनीले त्यसको फोटोकपी झापामा रहेका सुवेदी परिवारलाई पठाएको थियो ।

घटना सार्वजनिक भएलगत्तै व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिले राजदूत अन्सारीमाथि छानबिन गर्न परराष्ट्रलाई निर्देशन दिएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईपटकसम्म अन्सारीसँग सोधपुछ गरेको थियो ।

अन्सारीले ताने दूतावासका कर्मचारी

क्षतिपूर्ति रकम हिनामिना गर्न आफूलाई दूतावासकै कर्मचारी खड्क दाहालले सघाएको राजदूत अन्सारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बयान दिएका छन् । अख्तियारस्रोतका अनुसार दूतावासका तत्कालीन प्रथम सचिव खड्क दाहालको योजनामा आफूले रकम निजी खातामा राखेको उनले बताएका छन् ।

‘अन्सारीले परराष्ट्रकै कर्मचारी खड्क दाहाल पनि उत्तिकै दोषी भएको बयान दिएका छन्,’ अख्तियार स्रोतले शनिबार नागरिकलाई भन्यो, ‘उनले योजनाकारमा दाहालको नाम लिएका छन् ।’ साउदीबाट पुसमा नेपाल फर्केका दाहाल अहिले वीरगन्जस्थित परराष्ट्रको क्षेत्रीय कार्यालयमा कार्यरत छन् ।

Posted by: Jay Ale                            Source: Nagarik News

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.