पर्यटन वर्षको पहिलो महिनामा ३३ हजार पर्यटक


काठमाडौं, १८ माघ, नेपाल पर्यटन वर्षको सुरुवात सुखद् देखिएको छ । पर्यटन वर्षको औपचारिक शुभारम्भसँगै जनवरी महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या २६.२ प्रतिशतले बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१० जनवरीको तुलनामा यस वर्ष पर्यटक आगमनमा उल्लेख्य वृद्धि देखिएको छ ।

बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागलाई उद्धृत गर्दै मंगलबार यो तथ्यांक सार्वजनिक गरेको हो । सामान्यतया अफ सिजन सुरु हुने महिनामा भएको यो वृद्धिलाई उत्साहजनक रूपमा हेरिएको छ ।

विभागका अनुसार जनवरीमा हवाई मार्ग हँुदै नेपाल घुम्न आउने पर्यटकको संख्या ३२ हजार ९ सय १४ छ । जनवरीमा विश्वका प्रायः सबै क्षेत्र पर्यटकीय क्षेत्रबाट सकारात्मक वृद्धि देखिएको विभागको भनाइ छ ।

दक्षिण एसियाली (सार्क) मुलुकबाट नेपाल घुम्न आउनेको संख्या अघिल्लो वर्षभन्दा २८.८ प्रतिशतले वृद्धि भएको छ । त्यसमध्ये नेपालको मुख्य पर्यटन बजार भारतबाट आउने पर्यटकको संख्या ३५.५ प्रतिशतले बढेको छ । बंगलादेश र पाकिस्तानबाट आउनेको संख्यामा क्रमशः १०.३ र १३.३ प्रतिशतले वृद्धि भएको छ भने श्रीलंकाबाट ४७.५ प्रतिशत बढी पर्यटक आएका छन् ।

समग्र एसियाली मुलुकबाट नेपाल भित्रिने पर्यटकको तथ्यांक पनि सकारात्मक छ । यो क्षेत्रबाट आउने पर्यटकको संख्यामा ३६.६ प्रतिशतले वृद्धि भएको बोर्डले जनाएको छ । चिनियाँ पर्यटक सबैभन्दा बढी ७९.६ प्रतिशतले बढेका छन् । जापान, मलेसिया, सिंगापुर, थाइल्यान्ड र दक्षिण कोरियाबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा क्रमशः ८.२, ५१.९, २९.१, ३.२ र २०.३ प्रतिशतले वृद्धि भएको छ ।

बोर्डका अनुसार बढी खर्चालु पर्यटकका रूपमा चिनिने युरोपेली पर्यटकको आगमन पनि उत्साहजनक छ । युरोपेली मुलुकबाट आउनेको संख्यामा १४.६ प्रतिशतले वृद्धि भएको बोर्डको तथ्यांक छ । संयुक्त अधिराज्य बेलायत, जर्मनी, नेदरल्यान्ड र रसियाबाट क्रमशः ७.५, ३५.३, ४८.९ र ४०.३ प्रतिशत पर्यटक बढेका छन् । फ्रान्स, इटाली र स्विट्जरल्यान्डबाट नेपाल आउने पर्यटकको संख्यामा भने क्रमशः १७.४, ५.० र ५.५ प्रतिशतले कमी आएको छ ।

तर, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा र अमेरिकाबाट नेपाल भ्रमण गर्ने पर्यटकको संख्यामा क्रमशः २३.८, ५९.७, ९.८ र २७.६ प्रतिशतले वृद्धि भएको छ ।

जनवरीको यो तथ्यांकलाई हेर्दा पर्यटन वर्ष २०११ मा लिइएको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने आशा बोर्डको छ ।

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.