निर्मला शर्मा
माघ महिनामा घर-घरमा व्रत लिएर स्वस्थानी कथावाचन गर्ने-सुन्ने गरिन्छ । व्रत नलिनेहरू पनि स्वस्थानी कथा पढ्छन् । दिउसो समय नहुनेहरू राति कथा सुन्ने गर्छन् । घरपरिवार एक ठाउँमा बसेर एक महिनासम्म यो क्रम जारी रहन्छ । अझ गाउँघरमा त सबैजसो घरमा, कतिपय ठाउँमा समूहमा पनि यो कथा सुन्ने काम हुन्छ । स्वस्थानी व्रतकथा ‘सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको’ कथासँग सम्बन्धित छ ।
तर एउटी महिलाले महादेव पति पाऊँ भनेर गरेको त्याग समेटिएको कथामा महिलाको सम्मान गरिएको प्रसङ्ग विरलै भेटिन्छ । कतिपय प्रसङ्गमा पार्वतीको प्रशंसा गरिएको विषयलाई अलग गर्ने हो भने स्वस्थानी व्रतकथाको शिरदेखि पुछारसम्म महिला अस्मितालाई खिल्ली उडाइएको छ । अपमान महिला भनेका पुरुषका भोग्य वस्तु हुन् भन्ने पक्षलाई प्रत्यक्ष र परोक्ष रूपमा प्रस्तुत गरिएको छ । महिलाले विवाह र सम्पत्तिका मामिलामा स्वतन्त्रतापूर्वक कुनै निर्णय लिन सक्दैनन् । र सम्पत्ति रक्षाका लागि पुरुष चाहिन्छ भन्ने निचोडलाई पुष्टि गर्न खोजेको छ, समग्र कथाले ।
काठमाडौं उपत्यकामा साली नदीमा र अन्यत्र नजिकको ताल, खोलामा गएर जतिपटक नुहाए पनि महिलालाई स्वस्थानी कथाले मान्छेको दर्जा दिँदैन । एउटा प्रसङ्ग यस्तो छ- सय रोटी आफू खाई, आठ रोटी पतिलाई दिनु, पति नभए छोरालाई दिनु, छोरा पनि नभए मितछोरालाई दिनु, मितछोरा पनि नभए मनको इच्छा पूरा होस् भनेर खोलामा बगाइदिनु । अर्थात् बरु खोलामा बगाए हुन्छ, तर ती रोटी छोरीलाई दिनु हुँदैन ।
कथाको अर्को सन्दर्भ यस्तो छ- प्रत्येक मनुष्यको घरमा असल स्वभाव भएकी पत्नी छ्रैन भने त्यसको घर सप्रँदैन । स्त्रीजाति भई आफ्ना पतिलाई रिस गरी हेरे डेरी हुन्छे, पतिको वचन नमाने पापिनी हुन्छे, पतिसित मुख लागे वा गाली गरे लाटी हुन्छे, लुकाई खाए कुकुर्नी हुन्छे । महिलामाथि यति तल्लो स्तरको गाली गर्ने स्वस्थानी व्रतकथाले पुरुषले चाहिँ महिलालाई के-के गर्नुहुन्न भन्ने ’boutमा केही भन्दैन ।
अर्काकी श्रीमतीको सतित्व नष्ट (जबर्जस्ती शारीरिक सम्बन्ध कायम गरी उसलाई मर्यादा च्युत गर्नु) गर्नसक्नु देवताहरूको पुरुषार्थ हो भन्ने व्याखा स्वस्थानीमा गरिएको छ । एउटा प्रसङ्ग कस्तो छ भने जालन्धरकी श्रीमती वृन्दा र पार्वतीको सुन्दरताबाट आशक्त भएका विष्णु र जालन्धरले छल गरेर उनीहरूको सतित्व नष्ट गर्न खोजेका छन् । तर यस्तो कुकर्म गरेबापत उनले कुनै बदनामी भोग्नु पर्दैन । अर्थात् स्वस्थानी व्रतकथाले उनीहरूका यस्ता कुकृत्यलाई गम्भीर अपराध नभनेर पुरुषार्थ मानेको छ ।
कथाभरि यस्ता यस्ता विषयहरू छन्, जसले महिलाको इज्जत र मर्यादामा अलिकति पनि ख्याल गर्दैनन् । आश्चर्यको कुरा, तर पनि यो पूजनीय छ । ७ वषर्ीया बालिका गोमाको ७० वर्षे वृद्ध शिव शर्मासँग विवाह गराइएको छ । महिलाको क्षमता, बुद्धि र साहसलाई होइन, उनीहरूको जीउको बखान गरेर यौनिकतामाथि हमला गर्ने पुरुष चिन्तन स्वस्थानी कथामा पनि ठाउँ-ठाउँमा भेटिन्छ । राम्री महिला कस्ती हो भन्ने सन्दर्भमा एक ठाउँमा ‘मध्याह्नकालका सूर्यको जस्तो तेज भएकी, पूर्ण चन्द्रजस्तो मुख, हात्तीका सुँडजस्ता हातपाउ, बाघको जस्तो कम्मर, सावित्रीका जस्ता पैताला, कञ्चनजस्तो शरीर भएकी, हिँड्दा राजहसंजस्तो सभन गर्ने, मीठो स्वर भएकी’ भनिएको छ । जबकि यस्तो शरीर नभएकी महिलाले कथा पढे हिनताबोधमात्रै गर्नु पर्नेछ । समग्रमा कथाले पुरुषजस्तो भए पनि हुन्छ, तर महिला राम्री हुनुपर्छ भन्नेमा जोड दिन्छ ।
आफूप्रति समर्पित पार्वती’bout महादेवचाहिँ के सोच्दा रहेछन् भन्ने कुरा पनि कथाबाट खुल्छ । एउटा प्रसङ्गमा महादेवले रावणलाई तेरो भक्ति देखेर म प्रशन्न भएँ, लौ पावती नै लैजा भनेर दिन्छन् । घर-घरमा यति श्रद्धापूर्वक पढिने स्वस्थानी व्रतकथाकी नायिका पार्वतीको हैसियत यस प्रसङ्गबाट स्पष्ट हुन्छ । तर पनि बालुवाको शिवलिङ्ग बनाई महादेवको पूजा गर्ने काममा पार्वती लागिरहन्छिन् । अनि तिनका भक्तहरू यसलाई दोहोर्याई-तेहोर्याई पढिरहन्छन् ।
एकसाता लगाएर स्वस्थानी व्रतकथा पढ्दा के निचोड निस्कियो भने यो कथा महिला विरोधी छ । यसले अहिले नेपाली समाजमा महिलामाथि हुने गरेका अत्याचार र हिंसालाई धार्मिक आवरणमा प्रोत्साहन गर्न खोजेको छ । अर्थात् यस्ता कुरा परम्परादेखि चलिआएको भनेर धार्मिक जलप लगाउन खोजेको छ । त्यसैले यसलाई परम्परादेखि चलिएको आएको कुरा भनेर सामान्य ठान्नुहुन्न । यसैगरी वृन्दा जालन्धरसँग सती गएकोमा कथाले विरोध गर्दैन । पतिव्रत सबैभन्दा ठूलो धर्म हो । अर्थात् महिलाले घरभित्र जस्तोसुकै ज्यादती भएल पनि खपेर बस्नुपर्छ, विरोध गर्नुहुन्न भन्ने सन्देश दिन्छ, कथाले ।
अब स्वस्थानी व्रतकथाको पुनर्लेखन जरुरी छ । यसको आधिकारिक स्रोत पहिचान गरेर समयसापेक्ष पुनर्लेखन गर्नैपर्छ । शताब्दीयौंदेखि वाचन गरिँदै आएको यो कथाको स्रोत र प्रकाशक स्पष्ट छैनन् । समाजमा कसैमाथि विभेद गर्ने जुनसुकै सामग्रीलाई पनि परिमार्जन गर्न नसकिने होइन । त्यसो गर्न अस्वीकार गरियो भने महिलाले यसलाई बहिस्कार गर्नुपर्छ । किनकि जुन कथाले महिला अस्मितामाथि हमला गर्छ, उनीहरूको बेइज्जत गर्छ, त्यो कथा सुनेर महिलाहरू व्रत बस्नु अन्धविश्वास बाहेक केही होइन । यो त आफ्नै समुदायको अपमान हो । महिला अधिकारकर्मीहरूले पनि यसतर्फ ध्यान पुर्याउनुपर्छ ।
वैज्ञानिक दृष्टिले पनि कथाका धेरै विषय हावादारी लाग्छन् । शरीरको मयलबाट गणेश बनाएको, गणेशको टाउको काटेर हात्तीको टाउको जोडेको, दक्ष प्रजापतिकी पत्नी विरणीले तेत्तीस करोड छोरी जन्माएको, स्वस्थानी व्रत लिएका कारण हराएका नवराज फेला परेको र लावण्य देशको राजा भएको भन्ने जस्ता पत्याउनै नसकिने प्रसङ्गहरू छन् । कथामा हरेक केटी मान्छेले स्वस्थानी व्रत बस्ोमा घरका पुरुषको राम्रो हुन्छ भन्ने सन्देश दिएको छ । त्यस्तै लोग्नेले दोस्रो विवाह गर्दासमेत रानी चन्द्रावतीले राजा नवराजलाई भेटेकोमा स्वास्थानी व्रतलाई धन्य मानेकी छन् । पुरुषको लिंग नै पूजा गरेर मनोकांक्षा पूरा गर्नु भनेको पितृसत्तालाई वैधता दिनु हो । पुरुषले आफू उच्च स्थानमा बसेर महिलालाई दोस्रो दर्जामा राखी हैकम चलाउने संस्कारलाई बलियो बनाउन यो कथा लेखिएको हो । त्यस अर्थमा यो विभेदकारी धार्मिक मान्यताको अवशेष हो । घरमा सपरिवार बसेर पढिने यो कथाले यस्तो कुरूप संस्कृति अवलम्बन गर्न प्रेरित गर्छ । यसमा रूपान्तरण हुनुपर्छ वा महिलाहरूकै अग्रसरतामा यसलाई बहिस्कार गर्ने अभियान चलाइनुपर्छ ।
Posted By: Dambar Prasad Rimal Source: ekantipur
यो नेपाली संूकृति लाइ विगार्न खोज्ने विदेशि दलालहरुको काम हो जस्तो लाग्छ