अब पैसा कमाउनैं भनी विदेशिनु नपर्ने


काठमाडौं, रक्तकालीका राजेनराज पन्त (५६) ले गोरखा, च्याङ्गली-८ मा २०५२ सालमा पाँच वटा होलस्टेन र दुई वटा जर्सीबाट शुरु गरेको गाईपालनमा दुई छोरा राजीवराज (३५) र राजकुमार (३३) को पनि रुचि जागेपछि पन्त परिवार डेढ दशकमै देशकै नमुना गाईपालक बनेको छ। अहिले १७० वटा उन्नत गाईबाट दैनिक १००० लिटर दूध उत्पादन हुने पन्त परिवारको कामधेनु गाईपालन केन्द्र मुलुकभरका कृषकका लागि अध्ययनको थलोसमेत बनेको छ।

राजधानीमा स्नातक गरेर यातायात व्यवसायमा हात हालेका छोराहरू पनि गौपालनमै आएपछि राजेनराज पन्तको व्यवसाय फैलिएको छ। अहिले गोठमा होलस्टेन, जर्सी र टेरेण्ट जातका ७० दुहुना, ३० ब्याउने र ७० वटा एकदेखि आठ महिनाका बाच्छी छन्। दूध उत्पादन दैनिक २००० लिटर पुगेपछि कृत्रिम गर्भाधानबाट गाई निकालेर किसानहरूलाई बेच्ने योजनामा छन् पन्तहरू। राजेनराज भन्छन्, “नेपालमै खोजेजति उन्नत जातका गाई किन्न नपाइने भएकाले यस्तो विचार आएको हो।”

उनको गोठमा अहिले दैनिक २२ लिटर दूध दिने दोस्रो-तेस्रो वेतका रु.१ लाख १५ हजारसम्म पर्ने डेढ करोड रुपैयाँभन्दा बढीका गाई छन्। यो स्थितिमा पुग्न राजेनराजलाई ३० वर्ष लागेको छ। २०१५ सालमा गोरखाको बडाहाकिम रहेका आफ्ना बाबु कृष्णराजले जोडेको जग्गा हेर्न उनी २०३१ सालमा पहिलो पटक काठमाडौंबाट च्याङ्गलीको हरिनापाटो आउँदा उनलाई गौपालनको विचार फुरेको हो। तर, राजनीतिशास्त्रमा स्नातक छोराले त्यतिबेला यस्तो विचार सुनाउँदा बिग्रने मति लिएको भनेर बाबु रिसाए।

यता बाबुले नचाहँदा-नचाहँदै पनि २०३२ सालदेखि उनले सो जग्गामा आँप, लिची, केरा, भूइँकटहर, अम्बा, कागती लगाउन शुरु गरे। फलफूल खेतीलाई चाहिने मलका लागि भारतको गोरखपुरबाट सात वटा भैंसी ल्याए। दैनिक ३५ लिटर दूध हुने राजेनराजको भैंसीगोठलाई हेरेर २०४९ सालमा तनहुँको बरादीमा दूध चिस्यान केन्द्र खुल्यो र त्यसले लिटरको रु.१२ मा दूध किनिदिन थाल्यो। तर, भैंसीले दिने दूध मौसमअनुसार घटबढ भएकोले उनको गोठले केन्द्रको माग पूरा गर्न सकेन र चिस्यान केन्द्र उठेर गयो।

राजेनराजको बजार २४ किलोमिटर पर दमौली पुगे पनि हरेस खाएनन्। माग भएजति दूध दिनसके नयाँ बजार खुल्ने कुरा राम्ररी बुझका उनले २०५२ सालदेखि ३५० रोपनी जग्गामा फलफूलको साटो घाँस खेती गरेर उन्नत जातका गाई पाल्ने योजना बनाए । यही मेसोमा कृषि विकास ब्याङ्कबाट रु.१ लाख ९० हजार ऋण निकालेर भारतको सिलीगुडीबाट सात वटा गाई ल्याए । छोराहरूले पनि भरथेग गर्न थालेपछि थप रु.१८ लाख ऋण लिएर २७ वटा गाई पुर्‍याए। अहिले १७० पुग्दा वर्षमा सात वटा जति बिक्री गर्न पनि थालेका छन् ।

अहिले पन्त परिवार लिटरको रु.३२ का दरले चितवनको धूलो दूध कारखानालाई दैनिक रु.३२ हजारको दूध बेच्छ। उनीहरूको उद्योगमा घाँस-परालका लागि दैनिक ५ देखि १५ जना कामदार खट्छन्। पन्त बाबुछोरा पनि उनीहरूसँगै गोठमा खटिरहेका हुन्छन्। बाबुको भागमा दूधको हिसाब र गाईको रेकर्ड राख्ने काम पर्छ भने छोराहरू दाना दिने, मेशिनबाट दूध दुहुने र बजार पुर्‍याउने गर्छन्। अनुभव बढ्दै जाँदा उनीहरू गाईको उपचार गर्न पनि जान्ने भएका छन्। जेठा राजीवराज भन्छन्, “यातायात व्यवसायमा पैसा नभएको होइन, तर बुबाले थालेको काममा लाग्दा आत्मसन्तुष्टि र प्रशंसा बोनस पाएका छौं।”

पछिल्लो समय केन्द्रमा बुझन, सिक्न र हेर्न आउनेहरू अचाक्ली बढेकाले पन्तहरूले रु.१००० शुल्क तोकेका छन्। यसो गर्दा गाईपालनमा साँच्चै रुचि भएकाहरूलाई मात्र अवलोकन र परामर्शको समय दिन सजिलो भएको राजीवराजले बताए।
पिता राजेनराज आफ्नो जस्तो २०० परिवार व्यावसायिक गौपालनमा लाग्ने हो भने नेपाल दुग्ध पदार्थमा आत्मनिर्भर हुने बताउँछन्। उनका अनुसार नेपालमा अहिले दैनिक दुई लाख लिटर दूध अपुग छ। गाई पालेर गोरखालाई व्यावसायिक रूपमा चिनाएको भनेर जिल्लामा दर्जनौं पुरस्कार र सम्मान पाएका राजेनराज पन्त आफ्नै प्रयासले यहाँसम्म आइपुगेकोमा गर्व गर्छन्। भन्छन्, “तर, पौने तीन करोड जनसङ्ख्या भएको मुलुकमा ८० प्रतिशत किसान भए पनि व्यावसायिक खेती नफस्टाएको देख्दा दुःख लाग्छ।”

Posted By: Dambar Prasad Rimal           Source: Himal Khabar Patrika

One response to “अब पैसा कमाउनैं भनी विदेशिनु नपर्ने

  1. ramro lagyo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.