सरकारी गाडी श्रीमतीलाई दिएर मन्त्री भाडाको गाडीमा


सागर पण्डित,

image
‘निजी गाडीमा राष्ट्रिय झन्डा र रातो-नीलो नम्बर प्लेट राखेर चलाउनु नियमविपरीत हो, मन्त्री हुँदैमा जे पायो त्यही गर्ने छुट छैन’

कामचलाउ सरकारका मन्त्रीहरूले सरकारी गाडी श्रीमती र आफन्तलाई प्रयोग गर्न दिएर आफूले भाडाको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै हिँड्ने गरेका छन् । पर्यटन राज्यमन्त्री शत्रुघनप्रसाद सिंहले मासिक लाखौँ रुपैयाँ तिरेर भाडामा लिएको गाडी रातो-नीलो रंगको नम्बरप्लेट राखेर प्रयोग गरेका हुन् ।सरकारले दिएको बा.६च ५७६८ नम्बरको गाडी परिवारका सदस्यलाई प्रयोग गर्न दिएर राज्यमन्त्री शत्रुघन दिलीपकुमार बानियाँको नाममा दर्ता भएको गाडीमा राष्ट्रिय झन्डा फराउँदै हिँडेका छन् ।उनले भाडाको गाडीमा बा.१झ ५७६८ नम्बरको रातो-नीलो प्लेट राखेका छन् । बानियाँको गाडीका लागि मासिक करिब एक लाखसम्म भाडा तिर्दै आएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बतायो ।

मन्त्री चढ्ने रातो-नीलो प्लेट राखिएको गाडी सरकारी नै हुनुपर्ने हुन्छ । तर, गैरकानुनी रूपमा राज्यमन्त्री सिंहले भाडामा लिएर राष्ट्रिय झन्डा राखेर प्रयोग गरेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘निजी गाडीमा राष्ट्रिय झन्डा र रातो-नीलो नम्बर प्लेट राखेर चलाउनु नियमविपरीत हो,’ ती अधिकारीले भने, ‘मन्त्री हुँदैमा जे पायो त्यही गर्ने छुट उनलाई छैन ।’ उनीमाथि सरकारले छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

राज्यमन्त्री सिंहले मात्र नभएर पर्यटनमन्त्री शरतसिंह भण्डारीले समेत सरकारी गाडीको दुरुपयोग गरेका छन् । मन्त्री भण्डारीले बा.१झ १७८६ नम्बरको सरकारी गाडी चढेका छन्, जुन नक्कली नम्बर हो । सरकारले उनलाई बा.१ञ १७८६ नम्बर प्लेट राखेर गाडी दिएको थियो ।

मन्त्री भण्डारीले पनि अन्य सरकारी सुविधाको गाडी परिवारका सदस्यलाई दिएर आफूले भाडामा लिएको गाडी चढ्ने गरेका छन् । त्यसको भाडा मन्त्रालयले नै तिर्ने गरेको छ ।

यति मात्र होइन, भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाह हटाइएपछि उनले प्रयोग गर्दै आएका तीनमध्ये एउटा गाडी पर्यटनमन्त्री भण्डारीले लगेका छन् । बा.४च १५०३ नम्बरको प्राडो मन्त्रालयमा फिर्ता गरेको २४ घन्टा नबित्दै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पर्यटनमन्त्री भण्डारीलाई उपलब्ध गराएका हुन् । मन्त्री भण्डारीले सो गाडी आफ्नो परिवारका सदस्यको प्रयोगका लागि गृहजिल्ला पठाएको मन्त्रालय स्रोतले बतायो । पदमुक्त भएका भौतिक राज्यमन्त्री शाहले भने बाँकी दुईवटा बा१झ ५७६६ र बा४च ६६६३ नम्बरका सरकारी गाडी फिर्ता गरेका छैनन् ।

यसैगरी, नक्कली नम्बर प्लेट राखेर भौतिक योजना सहायकमन्त्री कलावतीदेवी पासवानले पनि सरकारी गाडीको दुरुपयोग गरेकी छिन् । सहायकमन्त्री पासवानले बा.१झ ९५३५ नम्बरको नक्कली गाडी चढिरहेकी छिन् ।

सरकारी गाडी दुरुपयोग गर्नेमा सचिवहरूसमेत छन् । भौतिक सचिव पूर्णप्रसाद कडरियाले दुईवटा गाडी प्रयोग गर्दै आएका छन् । तर, उनले चढ्नेमध्ये एउटा गाडी आफ्नो परिवारका सदस्यलाई दिएका छन् ।

सचिव-सहसचिवहरूले गर्दै आएको सरकारी सवारीसाधन दुरुपयोग रोक्न अभियान थालेको सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनले अब मन्त्रीले गरेको दुरुपयोग पनि खोजी गर्ने भएको छ ।

एसोसिएसनका अध्यक्ष शरण गुरुङले कुन-कुन मन्त्रीले कतिवटा गाडी लिएका छन् र कतिको दुरुपयोग भएको छ भन्ने पत्ता लगाएर सार्वजनिक गरिने बताए । प्रारम्भिक अनुसन्धानमा अधिकांश मन्त्रीले सरकारी गाडीको उच्चतम दुरुपयोग गरेकोे पाइएको उनले बताए ।

एसोसिएसनका अनुसार उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र सुजाता कोइरालाले ५-५, संस्कृतिमन्त्री मीनेन्द्र रिजालले पाँच, शान्तिमन्त्री रकम चेम्जोङले पाँच र श्रममन्त्री मोहम्मद आफ्ताव आलमले चारवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । ती सबै गाडी मन्त्रीको प्रयोजनमा मात्र नभएर आफन्त र पार्टीको काममा दुरुपयोग गरिएको एसोसिएसनले जनाएको छ ।

  Posted By : Narayan Nepal                                                               Source : नयाँ पत्रिका

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.