होम कार्की, काठमाडौ
माघ ४, शरीरभर नीलडम छ । दुखाइले बोल्न त्यति सक्तैनन् । बोल्न खोज्छन्, बीचमै रोकिन्छन् । साउदी अरबबाट यातनापछि लखेटिएका यी ३७ वर्षे डम्बर बहादुर बोहोरा हिँड्न सक्ने अवस्थामा छैनन् । त्रिभुवन विमानस्थलमा पाइला टेक्नेबित्तिकै बाचें भन्ने लाग्यो, गहभरि आँसु पार्दै बोहोराले भने, ‘दोस्रो जीवन पाएँ ।’ उनी साउदीको दमामस्थित नासरहल हाजिर कम्पनीको चालकमा काम गर्थे । उनी सुतिरहेको अवस्थामा २०/२५ जना पन्जाबी समूहको आक्रमणमा परेछन् । बेल्चै बेल्चाले हाने, शरीरका नीलडाम देखाउँदै उनले भने, मर्यो भनेर फालिदिएछन् पछि नेपाली दाजुभाइले देखेर अस्पताल पुर्याए ।
एक पन्जाबीसँग लिनुपर्ने पैसा माग्दा उनी पिटिए । ममाथि कम्पनीले पनि ठूलो अन्याय गर्यो, दुई वर्षदेखि कार्यरत बोहोराले भने, पिट्नेलाई कारबाही नगरी मलाई राम्रो उपचार पनि नगरी सीधै स्वदेश पठाइदियो । उनका सामान, लत्ताकपडा, नगद पैसा लिन क्याम्पमा जान पनि दिइएन । मैले लगाएको यो भेस्ट, पाइन्ट र चप्पल साथीहरूले बाटोमा दिएका हुन्, उनले भने, क्याम्पमा ६ हजार रियाल (१ लाख २० हजार) त नगदै थियो ।
त्यहाँ डिजेल प्लान्ट बनाउने काम हुन्थ्यो । आक्रमण भएपछि नेपाली र पन्जाबी समूहबीच आक्रमण भएछ । कम्पनीले झन्डै दुई सय नेपालीलाई माओवादी भन्दै प्रहरी लगाई पक्राउ गराएको छ, उनले भने, कम्पनीमा केरालाहरूको पनि लगानी भएकाले केराला र पन्जाबीबाट नेपाली कामदारलाई बढी नै दबाबमा राखिएको छ ।
प्लान्टमा नेपाली कामदारलाई शारीरिक यातना दिनु निकै सामान्य हो । निर्माण क्षेत्रमा बढी नेपाली संलग्न छन् । एक महिनाअघि गल्ती गरेको निहुँमा नेपाली चालकको शरीरमाथि झन्डै ५० किलोको रड जीउ माथि कुदाइयो, उनले भने, त्यसपछि काममा नलगाई कता पठायो, कता ? नेपालीका कुरा कम्पनीले सुन्दैन । अलि कडा भएर प्रस्तुत भए दबाइदिने धम्की दिन्छ, उनले अनुभव सुनाए, ठूलो स्वर गर्नै हुन्न ।
बोहोराका अनुसार अहिले पनि कम्पनीले एक कोठामा आठ जना नेपालीलाई बन्दी अवस्थामा राखेको छ । संखुवासभा जलजलाका डिल्लीराम बस्नेत, शेखर लिंखालगायत छन् । उनीहरू मलाई राखिएको कोठा नजिकै थिए, उनले भने, सम्झौता अनुसारको काम नदिई राखेको साथीहरूले भनिरहन्थे । त्यहाँ कार्यरत कामदार धेरैजसो एसओएस म्यानपवार सर्भिसमार्फत गएका हुन् । त्यसमध्ये बोहोरा पनि एक हुन् ।
Posted by: Jay Ale Source: ekantipur