दुई पोइकी जोईको पति व्यवस्थापन


हिमाली भेगका केही समुदायमा प्रचलित बहुपतिप्रथाका पछाडि सम्पत्ति विभाजित हुन नदिने, परिवार फुट्न नदिनेजस्ता व्यावहारिक कारण छन् । दुई जोईको पोइ कुना पसी रोई’ हामीले सुन्दै आएको उखान हो । स्रोत र साधनको व्यवस्थापन, पारिवारिक योजना निर्माण, प्रयोग र सन्तुलनको दृष्टिले समेत दुई विवाह गरेको पुरुषलाई निकै कठिनाइ उत्पन्न भएको देखिन्छ । त्यसमाथि बहुविवाह गैरकानुनी त हुँदै हो ।

एक महिला र एक पुरुषको जोडी नै प्राकृतिक, सन्तुलित, स्वाभाविक र सामाजिक हो । बहुविवाह कुनै पनि हालतमा विकल्प हुन सक्दैन । तर, यहाँ ‘दुई पोइको जोईर्’को कुरा उल्लेख गर्न खोजिएको हो । हिमाली भेगमा बस्ने केही समुदायमा एउटी महिलाका पाँच/सातजनासम्म लोग्ने हुन सक्छन् भन्ने सुनेको मात्र थिएँ । विश्वास लागेको थिएन । यस परम्परा, प्रचलन तथा संस्कृतिको व्यावहारिक पक्ष केही पनि थाहा थिएन । धेरै पतिको व्यवस्थापनको व्यावहारिक पक्ष’bout त्यतिवेला सामान्य जानकारी पाएँ जब म माथिल्लो डोल्पामा पर्ने छार्का गाविसको ढाडगाउँ पुगे ।

गत वर्ष छार्का पुगिएको थियो । दुनैबाट लगालग हिँडेको चौथो दिनको बासका लागि गाउँको खोजीमा थियौँ । हिउँ पर्दापर्दै ओडा ओडेर हिँडेका थियौँ । चार दिनको हिँडाइको थकाइले खुट्टा नियन्त्रणबाहिर जालान् भन्ने डर थियो । यसै गाउँको पुछारमा यार्सागुम्बाको मौसममा पाल टाँगेर होटल गर्ने महिलाको घरको खोजीमा थियौँ हामी बास बस्नका लागि । उनले नेपाली भाषा बुझ्छिन् र बोल्न पनि सक्छिन् भन्ने सुनेका थियौँ । जो पायो त्यसलाई बास दिन्नन् भन्ने पनि सुनेका थियौँ । सोध्दै खोज्दै हामी उनको घर पुग्यौँ । चौँरी र घोडाको तबेला, भेडा-बाख्राको खोर पार गर्दै, लिस्नो चढ्दै, आगो तापेर बस्ने मुख्यभागमा पुग्यौँ । त्यहाँ पाँच पुरुष आसन जमाएर पेट तताउन ‘इन्धन’ हाल्दै रहेछन् । १६/१७ वर्षकी एक युवतीले उनीहरूका गिलास भर्दै थिइन । हामीसँग सामान्य परिचयपछि बस्ने अनुमति पायौँ । पिर्काहरू दिइयो । तिब्बती चिया पिउँदै गफगाफ थाल्याँै । त्यहाँ बसिरहेका झन्डै ६० वर्षका एक व्यक्ति हामीले खोजेकी महिलाका लोग्ने रहेछन् । परिवार सबै गाउँको सिरानमा भएको पुरानो घरमै बस्दा रहेछन् । हामी पनि बस्न माथिकै घरमा जानुपर्ने भयो । केही छिनको बसाइ र चियापछि हामी माथिको घरमा जान तयार भयौँ । पुनः झोलाहरू बोकिए, ओडाहरू ओढिए । करिब २०-२५ मिनेटको चढाइपछि गन्तव्यमा पुगिएछ ।

बाघजस्तो भोटेकुकुर गेटमै थियो । हामी सँगै त्यही घरका एक व्यक्ति भएको हुनाले धन्न केही गरेन । यस भेगमा पाल्तु जनावरलाई अन्याय गरेर अलग स्थानमा राखिएको हँुदैन । आफू बस्ने घरको सबैभन्दा तातो तथा भुइँतलामा राखिएको हुन्छ उनीहरूलाई । जेनतेन लिस्नु चढी घरको मुख्य स्थानमा पुगियो । चुलोवरिपरि केही बालबालिका र एक अधबैंसे पुरुष पनि बसेका थिए । त्यहाँ ५०/५५ वर्षकी एक महिला घरायसी काम गर्दै रहिछन् । हामीले खोजेकी महिला तिनै थिइन् । त्यहाँ भेटिए ४५/५० वर्षका एक पुरुष । महिलासँग हामीले जानेको भाषामा पनि कुराकानी गर्न सकिन्थ्यो । उनले पनि उनको भावना जेनतेन हामीलाई बुझाउन सक्ने हुनाले सजिलो थियो । चिसा कपडा र झोलाको व्यवस्थापनपछि हामी पनि चुलोछेउमा रहेको पाहुना बस्ने स्थानमा बस्याँै । गफगाफ सुरु भयो ।

एक अपरिचित व्यक्ति देखेको हुनाले परिचय लिनु स्वाभाविकै थियो । महिलासँग सोधिहालेँ, ‘उहाँ को हुनुहुन्छ ?’ उनले ठट्टा गर्दै भनिन्, ‘काम गर्ने मान्छे ।’ मैले फेरि सोधेँ, ‘उहाँको घर कहाँ हो नि ?’ महिलाले भनिन्, ‘यहीँ हो । यो उहाँको पनि परिवार हो, यी सबै बच्चाबच्ची उहाँका पनि हुन् ।’

हामीले तल थकाइ मारेको घरमा भएकी युवती तिनै महिलाकी छोरी रहिछन् । उनी पनि त्यहाँ आइसकेकी थिइन् । एक १५/१६ वर्षको केटा पनि त्यहीँ थिए र करिब २०/२२ वर्षकी अर्की युवती पनि त्यहीँ थिइन् । दुई/तीनजना स-साना बच्चा पनि त्यसै ठाउँमा खेल्दै थिए । म अल्मलिएँ । प्रश्न गर्न हच्कें । मलाई फसाद पर्‍यो । त्यो घर ती महिलाकै हो । त्यहाँ भएका तिनैका छोराछोरी हुन् । ती महिलाका लोग्ने तल थिए । राम्रैसँग परिचय भएको हो । के भयो

त ? त्यसो भए महिलाले मलाई ढाँटिन् त ? मलाई सम्झना भयो धेरै पहिले सुनेको, हिमाली भेगमा धेरै भाइकी एकै श्रीमती हुन्छिन् भन्ने कुरा । उनले आफ्नो संस्कृति र संस्कारलाई गिज्याएको भन्ठान्लिन् भनेर अरू प्रश्न गर्न उपयुक्त लागेन । म उत्सुक थिएँ, तर मौन थिएँ ।

ती महिलाले मेरो कुरा बुझिछन् क्यार आफै भनिन्, ‘हामी गरिबले परिवार फुटाएर कसरी पाल्ने ? कसरी धान्ने । सबै भाइले आ-आफ्ना श्रीमती र परिवार बनाए भने घर कसरी बनाउने ? परिवार कहाँ राख्ने र के खाने ?’ उनले मलाई बुझाउँदै गइन् । उनीहरू -लोग्नेहरू)का बाबुहरूको पनि यस्तै थियो । धेरै बाबु र एउटी आमा । उनीहरू तीन भाइकी श्रीमती हुन् उनी । तर, कान्छाले अघिल्लो साल अर्को श्रीमती ल्याएकाले उनी परिवारबाट मात्र होइन, गाउँबाटै निकालिए ।

तल्लो घरमा भेट भएका उनका ‘जेठो’ श्रीमान् पनि आए । ‘माहिला’ लोग्ने आजै मात्र व्यवसायबाट घरमा पुगेका रहेछन् । खानाको तरखर भयो । खानाभन्दा पहिले चाहनाअनुसार छ्याङ, रक्सी वा तिब्बती चिया पिउन सुरु भयो । महिलाले पनि रक्सी पिउँदा रहेछन् । लोग्ने-स्वास्नीमा समानता देखिए पनि केही व्यवहार र कुराकानीबाट त्यस घरमा महिलाको भूमिका बढी छ र परिवारलाई उनैले पथप्रदर्शन गरेकी छन् जस्तो देखिन्थ्यो । ठट्टैठट्टामा मैले उनलाई सोधेँ, ‘यी छोरीलाई पनि धेरै भाइको एउटै श्रीमती बनाएर बिहे गरिदिने त होला नि ?’ आमाले सहज तरिकाले भनिन्, ‘हाम्रो परम्परै यस्तै छ, हाम्रोजस्तै हुन्छ होला,  नहुन पनि सक्छ भन्न सकिँदैन ।’

उनलाई यस परम्पराप्रति कुनै पछुतो छैन । परिवार फुटाउनुभन्दा जुटाउनु ठीक हो भन्ने उनको धारणा थियो । हामीले खाना खायाँै । हामीलाई सुत्नका लागि अगेनाको पूर्वतर्फको छेवैमा ओछ्यान तयार भए । अगेनाको पश्चिमतिर दुई छोरी सुते । उत्तरतर्फको भागमा जेठो लोग्ने सानो बच्चा लिएर सुते । हामी सबै सुतेको स्थानबाट कान्छो लोग्ने र मुख्य पात्र महिला अलप भए ।

भोटवासी प्रायः चौँरी, घोडा, भेडा, बाख्रा चराउन गोठमा जान्छन्् । विभिन्न स्थानमा गएर व्यापार व्यवसाय गर्छन् । सबै भाइ सँगै हुँदैनन् । सबै भाइ सँगै भइहाले पनि महिलाले विवेक पुर्‍याउने र न्याय पूर्ण तरिकाले परिवार सञ्चालन गर्ने गर्छन् । यसरी दुई वा दुईभन्दा बढीको एउटै श्रीमती हुनुका मुख्य कारण परिवार फुट्ने, सम्पत्ति विभाजित हुने डर नै हो ।

माथिल्लो डोल्पाको भिजेरमा झन्डै ३५ घर कुरियामा आठ/दस घरमा बहुपतिप्रथा छ । तिन्जे गाउँमा पनि बाह्र/चौघ घरमा यस्तै परिवार छ । ढाडगाउँ, मुकोट, छार्का, धो, तिलिङ, कोमास, सिमेन आदि गाउँमा पनि यो परम्परा देख्न सकिन्छ । यो परम्पराले दाजुभाइमा आपसमा समर्पण पनि दर्साउँछ । मेरी श्रीमती, मेरो सन्तान नभनेर व्यक्तिगत स्वार्थ विपरीत हाम्रा सन्तान, हाम्रा बाबुहरू हाम्रो परिवार, हाम्री श्रीमतीजस्ता सामूहिक भावना यस परम्परामा लुकेको पाइन्छ ।

रमाकान्त शर्मा (लेखक, डोल्पाका जिल्ला शिक्षा अधिकारी हुन्)

Posted by: Jay Ale                                          Source: Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.