मातहतका सैनिकलाई कुटेको अभियोगमा नेपाली सेनाका क्याप्टेन संजीव खनाल र लेफ्टिनेन्ट मनोज मल्ललाई कोर्टमार्शल गरिएको छ । प्रधानसेनापति निवास शशीभवनमा कार्यरत यी दुई जुनियर अधिकृतले त्यही कार्यरत तीन जवान रामराज थापा, रमेश कार्की र पूर्ण थापालाई बिहीबार निर्घात कुटपिट गरेका थिए । तीमध्ये रामराजको अवस्था गम्भीर छ ।सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले खनाल र मल्ललाई तत्काल सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको र हाल उपचाररत रामराज खतराबाहिर रहेको बताए । छोटो बिदामा प्रधानसेनापति निवास बाहिर निस्केका जवानहरुलाई ढिलो फर्केको भन्दै ती दुई जुनियर अधिकृतले कुटेका हुन् । सेनाको कानुन विभागका प्रमुख उपरथी बीएकुमार शर्माले दुवै जुनियर अधिकृतलाई कोर्टमार्शल गरी कानुनी कारवाही अघि बढाइएको बताए ।
Posted By :Dambar Prasad Rimal Source: ekantipur