जेपी सापकोटा, दुबई
जय आले, धर्मराज गिरी -कुवेत
गैरआवसीय नेपालीहरुको पाँचौ क्षेत्रीय गैरआवसीय नेपाली सम्मेलन शनिबार युएईको दुबईमा भब्यतापूर्वक सम्पन्न भएको छ । यो खाडीमा गैरआवसीय नेपालीले आयोजना गरेको दोस्रो सम्मेलन हो । सम्मेलनमा २२ मुलुकका ४ सय ४ जनाको सहभागिता रहेको थियो ।
सम्मेलनमा मूलतः सुरक्षित आप्रवासन र सामूहिक लगानी गर्ने विषयमा केन्द्रित भएको थियो । कार्यक्रममा वैदेशिक रोजगारलाई सुरक्षित बनाउनका लागि सरकारले गर्नुपर्ने कामका सम्बन्धमा व्यापक छलफल भएको थियो भने सामूहिक लगानी गर्ने विषयका सम्बन्धमा पनि छलफल भएको थियो ।
सम्मेलनले १२ बुँदाको घोषणापत्र जारी गरेको छ । गैरआवसीय नेपाली संघको बैठकद्धारा पारित घोषणा पत्र निम्नअनुसार रहेको छः
उपप्रधान तथा परराष्टमन्त्री, माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राष्ट बैंकका गभर्नर, संविधानसभाका सदस्य, मध्यपुर्व क्षेत्रका नेपाली कुटनीतिक नियोग प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु तथा गैरआवासिय नेपाली संघका २१ देशका प्रतिनिधिहरुको उपस्थितिमा सामुहिक लगानी एवं सुरक्षित आप्रवासनको मुल नाराका साथ संयुक्त अरब इमिरेटसको दुवइमा जनवरी १४ १५, २०११ मा सफलतापूर्वक सम्पन्न पाँचौं गैर आवासिय नेपाली क्षेत्रीय सम्मेलनमा अभिव्यक्त बिचारलाई सम्बोधन गर्दै यो सम्मेलन निम्न प्रतिवद्धता सहितको दुवइ घोपणापत्र जारी गर्दछ ।
१. नेपाल राष्टको सार्वभौम सत्ता, राष्ट्रिय एकता र अखण्डता, दिगो शान्ती, लोकतान्त्रिक एवं समावेशी गणतन्त्रको संस्थागत बिकास, मानव अधिकार र मौलिक स्वतन्त्रताको प्रत्याभूति हुनुपर्ने देश भित्र र बाहिर रहेका सम्पूर्ण नेपालीहरुको भावना बमोजिम जारी शान्ति प्रक्रियालाई तार्किक एवं सकारात्मक निष्कर्षमा पुर्याउन र निर्धारित समयभित्र संविधान बनाउन यो सम्मेलन सम्पूर्ण राजनीतिक दलहरुबीच निरन्तर सम्वाद, सहमति र सहकार्य जारी राख्न हार्दिक आग्रह गर्दछ ।
२. वैदेशिक रोजगारीमा जाने नेपालीहरुको सूचनाको आवश्यकतालाई पहिचान गरि नेपाल सरकार र निजी क्षेत्रसंगको सहकार्यमा नेपालका सबै गाउ बिकास समिति र नगरपालिकाहरुमा वैदेशिक रोजगार सम्बन्धी सूचना पुस्तिका वितरण गर्ने गैरआवासिय नेपाली संघ प्रतिवद्धता व्यक्त गर्दछ ।
त्यसका लागि आवश्यक सूचना संकलन गर्न राष्टिय समन्वय परिषदलाई परिचालित गरिने छ र यसमा लाग्ने सम्पूर्ण खर्च गैरआवासिय नेपाली संघले जुटाउने छ । साथै गाउ बिकास समिति र नगरपालिकाहरुमा क्रमशः वैदेशिक रोजगार सेवा केन्द्रको स्थापना गर्न सरकारसग आग्रह गर्दछ । गैर आवासिय नेपाली संघको काठमाडौंस्थित केन्द्रिय सचिवालयले समेत बैदेशिक रोजगारका सरोकारवाला संघ-संस्थासंग सहकार्य गरि सूचना सम्प्रेषण तथा उद्धार कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
३. वैदेशिक रोजगारले मुलुकको गरिबी निवारण र मानव संसाधनको बिकासमा पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै यसलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन गैरआवासिय नेपाली संघले विभिन्न अवसरमा दिएको सुझावलाई समेत समावेश गरि यथाशिघ्र वैदेशिक रोजगार नीति ल्याउन नेपाल सरकारसंग यो सम्मेलन आग्रह गर्दछ ।
४. मध्यपूर्व क्षेत्रमा रहेका कामदारहरु विशेष गरि महिलाहरुको व्यक्तिगत र रोजगार सुरक्षाको बिषय जटिल वनिरहेको निष्कर्ष निकाल्दै कामदारको आवश्यक सिप प्रवर्द्धन गर्ने लगायत सुरक्षित आप्रवासनका लागि गरिने सम्झौता सहित तत्कालका समस्या समाधान गर्न कुटनीतिक नियोगसंग सहकार्य गर्ने गैर आवासिय नेपाली संघ प्रतिवद्धता व्यक्त गर्दछ । उल्लेख्य संख्यामा नेपालीहरु रोजगारमा रहेका तर नेपाली नियोग नभएका विशेषगरि मध्यपूर्वी राष्टहरुमा दुतावासको स्थापना गर्नुका साथै त्यस क्षेत्रमा महिला कामदारको संख्या निरन्तर वृद्धि भइरहेकोले सबै कुटनीतिक नियोगमा अनिवार्य रुपमा महिला कर्मचारीको व्यवस्था गर्न यो सम्मेलन नेपाल सरकारलाई आग्रह गर्दछ ।
५. वैदेशिक रोजगार बजार अनुसन्धान, पहिचान, विविधिकरण र प्रवर्द्धनमा नेपाल सरकार, निजी क्षेत्र तथा गैर आवासिय नेपाली संघबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता बोध गर्दै त्यस्तो किसिमको संयन्त्र निर्माण गर्न गैर आवासिय नेपाली संघले पहल गर्नेछ र नेपाल सरकारबाट आवश्यक सहयोग रहनेमा विश्वास व्यक्त गर्दछ ।
६. वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानित गराउन विदेशमा रहेका नेपाली संघ-संस्थाहरुको सक्रिय सहयोग अपेक्षित रहेको सन्दर्भमा संस्थागत संरक्षण लिएर हुने गरेका गैर कानुनी कामलाई पुर्णत निषेध गर्नुपर्ने आवश्यकतालाई मनन गर्दै गैर आवासिय नेपाली संघको सम्मानित पहिचानलाई यसका सदस्यहरुबाट दुरुपयोग हुन नदिन यो संघ आफ्ना सम्पूर्ण इकाइहरुलाई निर्देशन जारी गर्दछ । साथै अधिकांश गैरआवासिय नेपालीहरु विदेशमा नेपालका अवैतनिक दूतको रुपमा रहेको भावनालाई हृदयंगम गरि स्थानिय गैर आवासिय नेपाली समुदायसंग सौहार्दपूर्ण सहकार्य गर्न नेपाली कुटनीतिक नियोगहरुलाई हार्दिक अनुरोध गर्दछ ।
७. वैदेशिक रोजगारमा जान र स्वदेश फर्केपछि आवश्यक पर्ने सम्पुर्ण बैकिग आवश्यकता पुरा गर्न बैंकहरुले देखाएको सहयोगको तत्परतालाई स्वागत गर्दै सस्तो र झन्झटमुक्त वैदेशिक रोजगार बैंकिग सेवा उपलब्ध गराउन नेपालको वित्तीय क्षेत्रसंग यो सम्मेलन आग्रह गर्दछ ।
८. गैरआवासीय नेपाली सामुहिक लगानी कोष स्थापनाका लागि बिगतमा भएका प्रतिवद्धतालाई मुर्तरुप दिन नेपाल राष्ट बैंक, धितोपत्र बोर्ड, बैंकिग क्षेत्र र गैरआवासिय नेपाली संघका प्रतिनिधि सहितको सात सदस्यीय कार्यदल यथासिघ्र गठन गर्ने प्रस्ताव अनुसार यसको संयोजनका लागि नेपाल राष्ट बैंकलाई अनुरोध गरिनेछ ।
९. सामुहिक लगानीका विभिन्न आयामहरुको अध्ययन, अनुसन्धानलाई जारि राख्दै हाल गैर आवासिय नेपाली समुदायले नेपालमा निश्चित कम्पनीहरुको माध्यमबाट विभिन्न परियोजनामा गर्दे आएको आर्थिक लगानीको माडेलको प्रयोगलाई निरन्तरता दिने र गैर आवासिय नेपाली सम्बन्धि ऐन २०६४ तथा नियमावली २०६६ ले प्रदान गरेको सुविधालाई अझ व्यापकताका साथ उपयोग गर्न सम्पूर्ण गैर आवासिय नेपालीहरुलाई यो सम्मेलन आव्हान गर्दछ । साथै गैर आवासिय नेपालीको परिभाषा लगायत अन्य बिषयमा संघले दिएको सुझावलाई यथासिघ्र सम्बोधन गरि ऐनको समयानुकल परिमार्जन गर्न नेपाल सरकारलाई आग्रह गर्दछ ।
१०. नेपाली मुलका विदेशी नागरिकलाई सिमित अधिकार सहितको गैरआवासिय नेपाली नागरिकता प्रदान गर्ने उच्चस्तरिय राजनीतिक संयन्त्रले गरेको सहमतिको स्वागत गर्दै अब बन्ने संविधानमा गैर आवासिय नेपाली समुदायको अपेक्षा बमोजिम एक पटकको नेपाली सधैको नेपाली रहने व्यवस्था गर्न यो सम्मेलन आग्रह गर्दछ ।
११. गैरआवासिय नेपाली समुदायले नेपालमा बिकासमूलक, सामाजिक एवं परोपकारी कार्यमा गर्दै आएको आर्थिक सहयोगलाई स्वागत गर्दै यस क्षेत्रमा अझ प्रतिवद्ध भएर थप सहयोग गर्न सम्पूर्ण गैर आवासिय नेपालीहरुलाई आग्रह गर्दछ ।
१२. यस सम्मेलनलाई भव्यतापूर्वक आयोजना गर्न मुख्य भूमिका निर्वाह गर्ने गैरआवासिय नेपाली संघ राष्टिय समन्वय परिषद युएइ तथा स्थानिय नेपाली समुदायप्रति हार्दिक आभार प्रकट गर्दछ ।