परराष्ट्रमा ‘गोल्डेन’ अनुहारहरु


देवेन्द्र भट्टराई

सरकारी जागिर, संयन्त्र र पद्धति भन्नासाथ जहिल्यै ‘सरकारी काम कहिले जाला घाम’ भन्ने मनस्थिति व्याप्त रहेका बेला परराष्ट्र मन्त्रालयमा भने केही भिन्न र आश गर्न सकिने झलक देख्न सकिन्छ । पढाइ, अवसर र सम्भावनाका आधारमा प्राज्ञिक वा आर्थिक समुन्नतिका अन्यत्र विधामा लड्न-भिड्न सक्नेहरू पनि परराष्ट्रको जागिरमा यतिखेर तानिएका छन् । सरकारी सेवामा निकै आकर्षण र सम्मोहनको परराष्ट्र सेवामा कोही जानीबुझी तानिएर आएका भेटिन्छन् भने कोही काकतालीझैं ।

बुटवल घर भएकी २७ वर्षीया प्रमिता अधिकारी एमए, अंग्रेजी साहित्यमा ‘गोल्ड मेडलिस्ट’ हुन् । सर्लाहीका २७ वर्षे कौशलकिशोर राय पनि एम, अंग्रेजी भाषाविज्ञानका ‘गोल्ड मेडलिस्ट’ हुन् । झापाका ३४ वर्षे सुशीलकुमार लम्साल पनि आउने अगष्टमा फुलब्राइट स्कलर बनेर अमेरिकामा अन्तर्राष्ट्रिय सम्बन्धका एमए शोधार्थी भएर जाँदैछन् । प्युठानका ३६ वर्षे शत्रुघ्न पोखरेल जनप्रशासन विषयमा एमए तहका अर्का ‘गोल्ड मेडलिस्ट’ हुन् । परराष्ट्रमा यी चार नामहरू ‘गोल्डेन मेम्बर’झैं परराष्ट्र सेवामा रहेछन्, जोसँग कुरा गर्दामात्रै पनि कूटनीति सेवाको आकर्षण र चिनारी झल्कन सक्छ ।

एमएको पढाइ अघिसम्म एउटा गैरसरकारी संस्थामा कार्यरत प्रमिताले एमएपछि पनि आम गुरुजनहरूझैं प्राध्यापन जगतमा छिर्न चाहिनन् । थुप्रै अफर आए पनि लोकसेवा भिडेर उनी परराष्ट्रमै आइन् । गएको भदौ १५ देखि यी ‘गोल्ड मेडलिष्ट’ पात्रलाई परराष्ट्रको एमआरपी महाशाखामा भेट्न सकिन्छ, शाखा अधिकृतको नेम-ट्यागसहित ।

कौशलकिशोर पनि भाषाविज्ञानका शोधार्थी भएपछि काठमाडौंका तीन/चारवटा कलेजहरूमा फिरन्ता गुरुझैं चक-डस्टर बोकेर कुदिरहेका हुन्थे । क्यापिटर कलेजका एक सहकर्मी लोकेन्द्र ज्ञवालीले दिएको जानकारीमा परराष्ट्रमा समावेशी र खुला अन्तर्गत अधिकृत पदमा विज्ञापन खुलेको थाहा पाएर अरूकै ढिपीमा यो सेवामा आइपुगेका रहेछन् । ‘म मास्टरै बन्छु, प्राध्यापक बन्छु । बरु पीएचडी गर्नेछु भन्ने सोच थियो’, बोलचालमा टाठा लाग्ने गोल्ड मेडलिष्ट भन्दै थिए- ‘फेरि घर-परिवारले सरकारी जागिरे हुनुपर्छ भनेर जोड दिइरहेका थिए, अहिले ठीकै ठाउँमा आइएछ भन्ने भएको छ ।’ मधेसी समुदायको प्रतिनिधित्व गर्दै परराष्ट्रसम्म आएपछि उनले राष्ट्रको कुनै छिन्नभिन्नभन्दा अझ गतिलो र ठोस परिभाषा पाएका रहेछन् । ‘परराष्ट्र भनेको यो राष्ट्र र हाम्रो माटोको पहिचानसँग गाँसिएको कुरा रहेछ’, कौशलकिशोर भन्दै थिए- ‘म पनि यही इमेज बदल्ने चेष्टामा लागेको छु ।’       

शारीरिकभन्दा मानसिक सशक्तता भएका सुशीलकुमार भने सात वर्षदेखि परराष्ट्र सेवामा छन् । निजी स्कुल शिक्षक (विभूति विद्या मन्दिर, झापा) बाट पत्रकारिता (काठमाडौं पोष्ट) हुँदै परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतका रूपमा आएका सुशील अहिले बहुपक्षीय आर्थिक मामिला महाशाखामा उपसचिव छन् । ‘परराष्ट्रमै आइपुग्छु भन्ने थिएन, तर कूटनीतिक क्षेत्रमा रहिआएको चासो र राष्ट्रिय मामिलामा केन्द्रित रहने स्वभावले ठीकै ठाउँमा आएको अनुभव हुँदैछ’, आगामी अगष्टमा फुलब्राइट स्कलर बनेर अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीमा जानलागेका सुशीलले भने । सरकारी सेवामा पनि अन्यत्र हेरी परराष्ट्र मन्त्रलयमा आएपछि आफ्नो र अरू मुलुकहरूको बहुपक्षीय विषयमा अध्यन-खोज गर्नुपर्ने भएकाले स्वाभाविक रूपमा अभिरुचिको क्षेत्र पनि विस्तारित हुने उनको बुझाइ छ । सिंगो राष्ट्रको छविसँग जोडिएको कूटनीतिक विषयमा कुनै आधार तय गर्नुपर्दा अथवा बोल्नुपर्दा कहिले दलगत र कहिले स्वेच्छाचारी ढङ्गमा भनाइहरू बाहिर आइरहनुलाई भने उनी उति सुहाउँदो प्रवृत्ति ठान्दैनन् । ‘अरू जे जता, जति नै विमति भए पनि कूटनीतिक मामलामा सबैको एउटै विचार र धारणा रहनुपर्छ’, सुशीलको बुझाइ छ ।

१२ वर्षदेखि परराष्ट्रसेवामा रहेका शत्रुघ्न पीएस पोखरेल गाउँ-ठाउँबाट एसएलसी प्रथम श्रेणीमा गर्नासाथ साइन्सै पढ्नुपर्ने र डाक्टर/इन्जिनियरै  बन्नुपर्ने मनोदशाका पीडित पात्र हुन् । गाउँको एसएलसीपछि डाक्टर बन्न पाटन क्याम्पसबाट आईएससी गरेका शत्रुघ्नका घरपरिवारले भने सरकारी जागिरको महिमा बुझेका रहेछन् । ‘तथ्यांक शास्त्रमा एमए गर्दागर्दै पढाइ छाडेर लोकसेवा पल्टाउन थालेको हुँ’,, उनी भन्दै थिए- ‘धेरैतिर लिखितमा नाम निस्किए पनि अन्तर्वार्तामा पछि परिरहेँ ।’ परराष्ट्रमा आएका नयाँनौला र जाँगरिला नामहरूका माझ ढिलै भए पनि एमपीए तहमा ‘गोल्ड मेडल’ हासिल गर्नसकेकोमा शत्रुघ्न यो प्रतिस्पर्धाको दुनियाँमा चुनौती स्वीकार्न तयार रहेको बताइरहेका थिए । ‘तैपनि कार्यक्षमताका हिसाबले परराष्ट्रलाई अब्बल काम गर्ने ठाउँ मान्न गाह्रो हुन्छ, जबकि यहाँ अब्बल र छानिएका व्यक्तिहरू छन्’, उनको बुझाइ छ । जागिर खाने क्रममा अरूतिर भन्दा सामाजिक प्रतिष्ठा भने परराष्ट्रमै पाएको उनको भोगाइ छ ।  

परराष्ट्रसेवामा आएका धेरै अब्बल पात्रहरूमध्ये यी प्रतिनिधि नाममात्रै हुन्, गोल्डेन नामहरू । तर यिनै जात, वर्ग, लिङ्गका आधारमा भिन्न यी प्रतिनिधिसँग मात्रै बसेर केहीछिन गफियो भने पनि थाहा हुन्छ-  जैसीकोठाबाट उठेको परराष्ट्र धेरै अगाडि आइसकेको छ । यी प्रतिनिधि पात्रसँग भिजन छ, इच्छाशक्ति छ, सपना छ र जाँगर पनि छ । कम्तीमा यी नामहरू ‘कहिले जाला घाम’को यथास्थितिवादी मनस्थितिमा छैन । छनोटमा परेका ‘गोल्डेन’ नामहरूबाट गर्ने आशा पनि यही हो ।

Posted By:Dambar Prasad Rimal                           Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.