उम्मेदवारी फिर्ता लिने निर्णयपछि संसद भवन प्रवेश गर्दै रामचन्द्र पौडेल (दायाँ) र माओवादी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः भास्वर ओझा
माधव ढुङ्गेल, काठमाडौं, पुस २९- बहुमतीय प्रक्रियाबाट पनि छ महिनासम्म प्रधानमन्त्री चुन्न नसक्ने तीन प्रमुख दलका नेताहरूले प्रक्रिया समाप्त भएपछि पुनः राष्ट्रिय सहमतिको सरकार बनाउने बताएका छन् ।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले धेरै पहिले हुनुपर्ने कुरा अहिले भएको बताए। उनले भने, ‘नयाँ प्रक्रियामा सहमति खोज्ने र छिटोभन्दा छिटो प्रधानमन्त्रीको निर्वाचन गर्ने कुरामा सबै पार्टी आइपुगेका छन्।’
उम्मेद्वारी फिर्ता लिने क्रममा देउवाले पनि सहमतिको लागि फिर्ता गरेको बताएको उल्लेख गर्दै दाहालले भने, ‘संविधानसभामा व्यक्त जनमत अनुसार सहमतिको सरकार बनोस्। माओवादीले संविधानसभाको ठूलो दलको नाताले सरकारको नेतृत्व पाउनुपर्छ भन्ने दाबी छ।’
कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पनि एमाले र माओवादीसँगका छलफलबाट सहमतिको दिशामा अघि बढ्ने समझदारीअनुसार उम्मेद्वारी फिर्ता गरेको बताए। ‘शान्ति र लोकतान्त्रिक संविधान निर्माणको बाटोमा यसरी अघि बढ्दा हुन्छ भन्ने समझदारी बनेपछि हामी उम्मेद्वारी फिर्ता लिन सहमत भयौं’, उनले भने।
पौडेलले सहमतिबाटै नयाँ सरकार निर्माण गर्ने सहमति भएको पनि बताए। उनले भने, ‘संविधान निर्माणमा भएका असहमति पनि दूर हुन्छन्, अन्मिन गएर पनि क्यान्टोनमेन्ट र हतियारको व्यवस्थापनसम्मका कुरा, शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने ’boutमा पनि हाम्रो बीचमा एउटा समझदारी बन्यो।’ अबको सरकारको नेतृत्व कांग्रेसले गर्ने र कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार आफू नै रहने पनि उनले बताए।
पौडेलको उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछुः देउवा संसदमा बोल्दै। तस्बिरः भास्वर ओझा
एमाले अध्यक्ष झलनाथ खनालले पनि सदनको तेस्रो ठूलो दलको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने घुमाउरो शैलीमा बताए। ‘एमालेले जुन भूमिका खेल्दै आएको छ, मुलुकलाई अगुवाइ गर्नसक्छ’, उनले भने।
समर्थन छः पौडेलको उम्मेदवारी फिर्ता प्रस्ताव सर्वसम्मतिले पारित हुने क्रममा माओवादी सभासदहरु। तस्बिरः भास्वर ओझा
‘एमालेले पहिलादेखि भन्दै आएअनुरुप नै राष्ट्रिय सहमतिको प्रयत्नका साथ अघि बढ्छ’, उनले भने, ‘राष्ट्रिय सहमति नगरी शान्ति र संविधान बनाउन सक्दैनौं। सरकार निर्माण हुँदा सहमतिको सरकार बन्छ कि बहुमतको, यो हामीबीचको समझदारीमा निर्भर गर्छ। हाम्रो सामु अर्जुनदृष्टिका रूपमा शान्ति र संविधानलाई हेर्नुपर्छ। शान्ति र संविधान पूरा गर्ने ग्यारेन्टी दिने कोणबाट हामीले नयाँ सरकार निर्माणको थालनी गर्नुपर्छ।’
तपाईँले गर्दा त हो निः उम्मेदवारी फिर्ता लिने घोषणापछि पौडेल र एमाले अध्यक्ष झलनाथ खनाल
फेरि पनि मै उम्मेदवारः रामचन्द्र पौडेल संसदको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीहरुसित कुरा गर्दै। तस्बिरः भास्वर ओझा
नेतृत्व कसले गर्ने भन्ने प्रश्नमा उनले भने, ‘जसले सबै पार्टीको चित्त बुझाउन सक्छ, कम्तिमा बहुमतको चित्त बुझाउन सक्छ, त्यसको नेतृत्वमा सरकार बन्ने कुरा सामान्य ज्ञानको कुरा हो।’
Posted by: Jay Ale Source: Nagarik News