झापा, २४ पुस । झापा प्रहरीले चन्दा आतङ्कमा संलग्न रहेको आरोपमा माओवादीका थप तीन जना पूर्व लडाकुलाई हतियारसहित पक्राउ गरेको छ । अन्य सात जनाको खोजी भइरहेको बताइएको छ । इलाम दानाबारीका विपीन तामाङ, पेल्टीमारीका सुमन तामाङ र महमाईका वीरबहादुर राईलाई शुक्रवार साँझ हतियार सहित पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको साथबाट दुई थान सिक्सर र त्यसमा लाग्ने ९ एमएमको म्यागेजिन फेला परेको बताइएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
यसअघि झापाको शिवगञ्जबाट पाँचगाछी–९ का सुरज टुडु र इलाम दानावारी–१का दीपेन कोइरालालाई गएको बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले झापाको तोपगाछी, जुरोपानी, बैगुन्धुरा, पाँचगाछी लगायत स्थानका व्यापारीसँग लाखौँ रुपैयाँ चन्दा माग गरेको प्रहरीसमक्ष स्वीकारेका छन् ।
Posted by: Jay Ale