श्रीकुमारीले बल्ल नेपाल फर्किन पाइन


धरम के.सि, NRNA साउदी अरब

२७ डिसेम्बर २०१० । करीब ९ महीना पहिले बम्बै हुंदै साउदी अरब आइपुगेकी दांग रामपुर–१ की ४५ बर्षिया श्रीमति श्रीकुमारी डांगी क्षेत्री (राहदानी नम्बर ४६५२६६५) ले बल्ल आज २७ डिसेम्बर २०१० तदनुसार २०६७ पौष १२ गते नेपाल फर्किन पाएकी छिन । एनआरएनए साउदी अरबले गतः सेप्टेम्बरमा सांस्कृतिक कार्यक्रम गरी स्थापना गरिदिएको घरेलु महीला उद्धार कोषबाट ७०६ साउदी रियालमा बहराइन एअरको रियाद–बहराइन–काठमाडौंको टिकट उपलब्ध गराइएपछि श्रीकुमारीको घर फर्किने साइत जुरेको हो ।

गतः २०६६ साल चैत्र ६ गते आफ्नै गाउँकी एकजना साथी र दाङ जिल्लाका ८-९ जना अन्य महिला दिदी-बहिनीहरुका साथ निज श्रीकुमारी तुलसीपुरकी एक जना महीला दलाल यमुनाकी छोरी पूजा मगरका साथ भैरहवाको बाटो हुँदै बम्बै पुगेकी थिइन । बम्बैमा १३ दिन बसेपछि उनलाई साउदी अरबमा पठाइयो । उक्त फ्लाईटमा निज श्रीकुमारीलाई एक्लै पठाइएको थियो । साउदी अरबको एजेण्टको अफिसमा ४ दिन राखेर सार्वजनिक बसबाट करिब १४-१६ घण्टाको यात्रा पश्चात साउदी अरबको साकाका अल्जोफ (?)  भन्ने ठाउँमा उनलाई साहु (कफिल) को घरमा घरेलु कामको लागि पठाइयो । उक्त घरमा दिन-रात गरी करिब ६ महिना काम गरेकी निज डाँगीले साहुसंग तलब माग्दा “तंलाई सा.रि. ११ हजारमा किनेर ल्याएको छु” भन्ने, तलब नदिने, उल्टै काममा ढिला-सुस्ती गर्ने गरेको भनी साहु-साहुनी मिलेर कुटपिट गर्ने गर्दथे । एक पटक तेरो तलब नेपाल पठाई दिन्छु भनी एउटा कागजमा दस्तखत गराएका पनि थिए तर ६ महिना काम गर्दा पनि एक पैसा प्राप्त भएन । साहुले कहिलेकाहीं आफन्तको घरमा समेत काम गर्न पठाउने गर्दथे । करिब ६ महिना पछि साहुको घरबाट भागेर पुलिसको सम्पर्कमा पुगेकी निज डाँगीलाई पुलिसले करिब २ महिना जेलमा राखी साहुलाई सम्पर्क गरी साउदी अरबको एउटा एयरपोर्टबाट रियाद हुँदै बम्बेसम्मको हवाई टिकट दिएर रियाद विमानस्थलमा पठायो । रियाद विमानस्थलमा १ रात बसेपछि “म नेपाली हुँ त्यसैले बम्बेमा जाँदिन, नेपाल जान चाहन्छु” भनेपछि रियाद एयरपोर्टबाट पुलिसले ट्याक्सी मार्फत नेपाली राजदूतावासमा पठायो ।

नेपाल फर्कनको लागि टिकट पैसा नभएको कारण १ हप्ता पछि काममा गएकी निज डाँगीले अस्थमा (दम) रोगका कारण २ हप्ता भन्दा बढी काम गर्न नसकेपछि सा.रि. ५० मात्र दिएर पुनः नेपाली राजदूतावासमा फिर्ता गरियो । घरको आर्थिक अवस्था कमजोर भएको कारण श्रीमान् र जवान २ छोरा भएपनि विदेशमा घरेलु महिलालाई सम्मानपूर्वक काम मिल्दछ र तलब सुविधा बढी पाईन्छ भन्ने एकोहोरो आश्वासन मात्र पाएकी निज डाँगी विदेशमा कमाई गरी आर्थिक स्थिति सुधार हुने आशामा विदेश आएको बताउँछिन । करिब ९ महिनाको कष्टकर जीवन गुजारेकी निज डाँगीले जस्तो आर्थिक संकट परेपनि आफ्नो देश नछाड्ने र नजिकका दिदी-बहिनी दाजु-भाई कसैलाई पनि विदेशमा रोजगारीमा नजान सल्लाह दिने बताउँछिन ।

बहराइन एअरको फ्लाइट नम्बर BN 513 बाट २८ डिसेम्बर बिहान नेपाली समय १०.१० मा काठमाडौ अवतरण गर्नेगरी नेपाल फर्कने श्रीकुमारीको समुहमा अन्य १२ जना पीडित घरेलु महिला कामदारहरू पनि छन जसको जानकारी नेपाली दुतावास रियादबाट प्राप्त हुने अपेक्षा गरिएको छ ।

नेपाली दुतावास रियादको प्रतिवेदन तथा सिफारिस बमोजिम उद्धार कोषको नियमावलीको प्रावधान अन्तरगत गठित कोष सञ्चालक समितीको स्वीकृतिमा श्रीकुमारीको हवाई टिकट खरिद गरिएको हो । कोषको उद्येश्य यसरी टिकट काट्दै नेपाली महीला कामदारहरूलाई नेपाल पठाउने मात्र नभई घरेलु महीला कामदारहरूका समस्याको आगामी दिनहरूमा रोकथाम गर्ने समेत रहेको हुंदा निज पीडित श्रीकुमारीकै सहयोगमा महीला बेचबिखनमा संलग्न दलाल यमुना सम्म पुग्ने र उनको दलाली सञ्जाल र संयन्त्रको पहिचान गरी कानूनी तथा सामाजिक कार्बाहीका लागि समेत आवश्यक पहल गर्ने एनआरएनए साउदी अरबको कार्य योजना रहेको छ ।

Posted: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.