विद्यार्थी नेताहरू कलेज जाँदैनन्


रुबी रौनियार, काठमाडौं, पुस ८- तेह्र वर्षअघि नै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट तथ्यांकशास्त्रमा स्नातकोत्तर सिध्याएका ३७ वर्षीय लेखनाथ न्यौपाने माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष हुन्।
‘दोस्रो जनआन्दोलनपछि बल्ल २०६४ सालमा मैले आफ्नो शोधपत्र बुझाएको हुँ,’ उनले यसबीच पनि आफू विद्यार्थी नै रहेकामा जोड दिँदै भने, ‘अहिले म कुनै कलेजको विद्यार्थी नभए पनि मार्क्सवाद विश्वविद्यालयको विद्यार्थी त हुँ नि।’

  गोरखास्थित जनता माविबाट २०४६ सालमै प्रवेशिका पास गरेका न्यौपानेले २०५४ पछि राजनीतिक कारणले भूमिगत हुँदा अध्ययन सुचारु गर्न नसकेको बताए।

विद्यार्थी संगठनहरूको विधानमा पदमा बस्न उमेरको हदबन्दी नभएकाले बढी उमेरका व्यक्तिले पनि लामो समयसम्म विद्यार्थी बनेर राजनीति गरिरहेको उनले बताए। ‘कति उमेर भएकासम्मले कलेज वा संगठनका चुनावमा भाग लिन सक्छन् भन्ने कुनै सीमा छैन। उमेर हदबन्दीसम्बन्धी बहस हुनुपर्छ,’ न्यौपानेले भने।

नेविसंघका अध्यक्ष प्रदीप पौडेल पनि कुनै कलेजमा पढ्दैनन् तर विद्यार्थी राजनीति गरिरहेका छन्। असोज पहिलो साता भएको कांग्रेस महाधिवेशनमा उनी केन्द्रीय सदस्य पदमा झिनो पदले पराजित भएका थिए।

२०४८ मा वनस्थली स्कुलबाट एसएलसी गरेका ३५ वर्षीय पौडेलले २०५९ सालमै त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर सिध्याइसकेका छन्।

अखिल क्रान्तिकारीका अध्यक्ष तथा त्रिवि केन्द्रीय क्याम्पस स्ववियु सभापति ३८ वर्षीय हिमाल शर्माका छोरा अमृत साइन्स क्याम्पसबाट स्ववियु सदस्य निर्वाचित छन्।

विश्वविद्यालयको चुनाव लड्न २०६५ सालमा उनी समाजशास्त्रमा स्नातकोत्तर तहमा भर्ना भएका हुन्।

२०४६ सालमा पर्वतस्थित भवानी विद्यापीठबाट एसएलसी गरेका शर्माले २०५८ सालमै त्रिवि केन्द्रीय क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर सिध्याएका छन्। अहिले पनि क्याम्पस भर्ना पुस्तिकाका आधारमा स्नातकोत्तर द्वितीय वर्षका विद्यार्थी शर्मा कक्षामा कहिल्यै नआउने सहपाठी बताउँछन्।

अनेरास्ववियुका अध्यक्ष माधव ढुङ्गेल गत वर्ष संगठनको चुनावमा विद्यार्थीका रूपमा भाग लिन पाटन कलेजमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा भर्ना भए।

२०५१ मै रामेछापस्थित प्रागेश्वर माविबाट एसएलसी गरेका ढुंगेलले २०६२ सालमा पाटन कलेजबाटै समाजशास्त्र र २०६४ सालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरिसकेका छन्। ३२ वर्षीय ढुंगेल कलेजमा भर्ना भए पनि एकैदिन नआएको पाटनमा अर्थशास्त्र स्नातकोत्तरका विद्यार्थीले बताए।

कलेजका स्ववियु कोषाध्यक्ष अखिलकै केन्द्रीय सदस्य दिलीप लामा पनि ढुङ्गेल कलेज भर्ना भएदेखि नछिरेको बताउँछन्। ‘बुढो नेतृत्वले आजका विद्यार्थीको आवश्यकता बुझ्न सकेका छैनन्,’ सोही कलेजमा स्नातकोत्तर प्रथम वर्ष पढ्दै गरेका लामाले भने, ‘कलेज नआउने नेताले विद्यार्थीको आवश्यकता बुझ्दैनन्।’

Posted by : Shiva Paudel

Source: Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.