प्याज किलोको १ सय नाघ्यो


File:ARS red onion.jpg

काठमाडौ, पुस ८ – भारतले निकासी प्रतिबन्ध लगाए लगत्तै नेपालमा प्याजको मूल्य उच्च दरले बढेको छ । एक साताकै बीचमा बुधबार प्याजको थोक मूल्य प्रतिकिलो ९६ पुगेको छ । यसको प्रभावका कारण उपभोक्ता मूल्य पनि प्रति किलो १ सय रुपैयाँ पुगेको छ ।

एक महिनाअघि १ सय ५ रुपैयाँसम्म पुगेको प्याजको मूल्य बिस्तारै घटेर ५१ रुपैयाँसम्म झरेको थियो । बुधबार शान्तिनगरका व्यापारी चिरञ्जीवी श्रेष्ठले एक केजी प्याज ९८ देखि १०० रुपैयाँसम्ममा बिक्री गरेका थिए । थोक मूल्य नै बढेकाले मूल्य बढाएर बिक्री गर्नुपरेको उनले बताए । ‘मैले ९६ रुपैयाँमा किनेर ल्याएको हुँ,’ उनले भने ।

कालिमाटी तरकारी तथा फलफूल बजार बोर्डका वरिष्ठ योजना अधिकृत विजय श्रेष्ठले भारतबाट आपूर्ति कम हुने बित्तिकै मूल्यमा उच्च वृद्धि देखिएको बताए । उनका अनुसार नेपालमा खपत हुने ९० प्रतिशत प्याज भारतबाटै आउँछ । भारतमा उत्पादन घटेकाले उसले निकासी रोकेपछि नेपाली बजार पनि प्रभावित भएको हो । कालिमाटी बजारमा मात्र दैनिक ६० देखि ७० टन प्याज भारतबाट नेपाल आउने गरेको उनले बताए ।

भारतबाट निकासी रोकिएको जनवरी १५ सम्मका मूल्य कम हुने नदेखिएको बोर्डका निर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘चीनबाट प्याज आउन थालेको छ तर परिमाण थोरै छ,’ उनले भने, ‘चिनियाँ प्याजले माग धान्न सकेन भने मूल्य अझ बढ्न सक्छ ।’

महँगिएपछि उपभोग घट्यो

पर्सा- प्याजको मूल्यले वीरगन्जमा मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । यसको खुद्रा मूल्य प्रतिकिलो १ सय रुपैयाँ पुगेको छ । दुई महिनायता प्याजको भाउ उकालो लाग्न सुरु भएको हो । त्यसयता यसको भाउ सातैपिच्छे बढ्दै गएको छ । महँगिदै गएको प्याज सर्वसाधारणको भान्सामा पाक्न छाडेको छ । प्याज महँगिएर उपभोक्ताले कम खरिद गरेपछि व्यापारीको गोदाममा कुहिनसमेत थालेको छ ।

दुई महिनाअघि बजारमा प्रतिकिलो ३० रुपैयाँमा पाइने प्याजको मूल्य अपत्यारिलो तरिकाले बढेको हो । नेपालमा कम उत्पादन हुने भएकाले प्याज बर्सेनि ठूलो परिमाणमा भारतबाट आयात गरिन्छ । खनेर निकाल्ने सिजनमा भारतमा पानी परेकाले प्याज कुहिएकाले मूल्यमा दोब्बर भएको वीरगन्ज मीना बजारका प्याज व्यापारी सञ्जय गुप्ता बताउँछन् ।

वीरगन्जमा रहेका आलुप्याज बेच्ने आधा दर्जन भण्डारमा प्याज कुहिएर दुर्गन्धित

भएको छ ।

प्याज बढी उत्पादन हुने भारतका नासिक, इन्दौर र अलवरबाट यहाँ भित्र्याइन्छ । त्यताबाट ल्याइएको एक गाडी प्याजमा करिब १० देखि १५ क्विन्टल कुहिएकाले यसको मूल्य अत्यधिक वृद्धि भएको गुप्ता बताउँछन् । वीरगन्जमा भारतबाट दैनिक दुईदेखि तीन गाडी प्याज भित्रिने गर्छ । एक गाडीमा करिब २० टन हुने प्याज वीरगन्ज र छिमेकी जिल्ला बारा र रौतहटका विभिन्न बजारसम्म पुग्ने गर्छ । प्याज आयातमा प्रतिगाडी १५ हजार रुपैयाँ भन्सार तिनुपर्ने भएकाले पनि यसको मूल्य बढेको व्यापारी बताउँछन् । गत वर्ष यही सिजनमा प्याजको मूल्य २० रुपैयाँ प्रतिकिलो रहेकामा यस वर्ष झन्डै पाँच गुणा वृद्धि भएको गुप्ता बताउँछन् । भारतमा चैतमा समेत प्याज उत्पादन हुने भएकाले त्यतिखेर उत्पादन बढे मूल्य घट्न सक्ने गुप्ता बताउँछन् । केही वर्षअघि यसैगरी प्याजको उत्पादन कम हुँदा प्रतिकिलो ८० रुपैयाँसम्म पुगेको थियो ।

मुलुकमा प्याजको उत्पादन कम हुने भएकाले सरकारले गत वर्षदेखि उत्पादन बढाउन बारामा यसको व्यावसायिक खेती सुरु गरिएको जिल्ला कृषि कार्यालयले जनाएको छ । आगामी वर्षदेखि पर्सामा समेत यसको व्यावसायिक खेती सुरु गरिनेछ । विगतमा गरिबको तरकारीका रूपमा चिनिएको अत्यन्त गुणकारी तरकारी प्याज केही वर्षयता हुँदै गएको मूल्य वृद्धिका कारण हाल धनीले समेत किनेर खान नसक्ने अवस्था आएको वीरगन्ज राधेमाईका उपभोक्ता दीपेन्द्र गजुरेल बताए ।

  प्रकाशित मिति: २०६७ पुस ८ ०९:००

posted by:डम्बर प्रसाद रिमाल                              Sourced by: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.