मसलेदार मात्रै


सुशील पौडेल

काठमाडौ, पुस ४ – गाउँको जमिन्दारका कारण बाबु गुमाउनुपरेपछि रामलाई जेठो छोरो हुनुको जिम्मेवारी थपिन्छ, भाइ लक्ष्मणलाई पढाउनु अनि आमालाई घर व्यवहारमा सघाउनु ।

आर्थिक अवस्था कमजोर भएपछि उ तत्काल पैसा आउने पेसाको खोजी गर्दै जाँदा लागूऔषधलगायतको गैरकानुनी धन्दामा आफूलाई संलग्न गराउँछ । लगनशील र धार्मिक मनोवृत्तिको राम बाबुलाई भगवान्ले बचाउन नसकेकोमा रुष्ट मात्र हुँदैन, घृणा नै गर्छ र कहिल्यै मन्दिर नटेक्ने कसम खाएको हुन्छ । भन्छ, ‘दुनियाँ भगवान्ले चलाउँछ भन्छन् तर अब म चलाउँछु ।’

त्यही फुच्चे केटो पछि ग्याङस्टार राजेश हमालमा परिणत हुन्छ । धन्दा चलाउन थालेपछि अथाह पैसा पनि कमाउँछ तर मर्कामा परेका गरिब/दीनदुःखीलाई पनि उत्तिकै सेवा, सहयोग गर्न पनि भ्याइरहेकै हुन्छ । बदलामा सबैले उसलाई भगवान् मान्न थाल्छन् ।

अरूले भगवान् माने पनि आफ्नै आमा र भाइले भने उसको धन्दामा घृणा गर्छन् र रामलाई नै तिरस्कार र बहिस्कार गर्छन् । संसारमा आफूलाई भन्दा बढी माया गर्ने आमा र भाइले नै वास्ता नगरेपछि अथाह सम्पत्ति र सुखसयलमा पनि ऊ आफूलाई एक्लो र दुःखी महसुस गर्छ । तर परिवारको माया पाउने आशा नमारेको रामले पहल भने गरिनै रहन्छ ।

शुक्रबारदेखि प्रदर्शन सुरु भएको फिल्म ‘भगवान् सबैको’ले पारिवारिक भावनात्मक सम्बन्धलाई कथानक दिए पनि दृश्यमा भने एक्सन प्रधान बनाउने प्रयास गरिएको छ । ग्याङस्टारहरूको कलह बढाएर एकपछि अर्को लामा-लामा फाइट सिनलाई राखेर फिल्मलाई मसलेदार बनाउन खोजेका छन् निर्देशक प्रदीप श्रेष्ठले ।

एकातिर राजेश एउटा ग्याङको प्रतिनिधित्व गरिरहेका हुन्छन् भने उनको विरोधीका रूपमा अर्का गुन्डा महाराजा (सुनील दत्त) रहेका हुन्छन् । सँगै बढे/हुर्केका बालसखा दुईको बीचमा मनमुटाव ल्याउने पात्र भने एक युवती हुन्छिन् । राजेशले मन पराउने युवतीलाई सुनील पनि मन पराउँछ तर केटीले नचाहे पनि जबरजस्ती बिहे

गरेको हुन्छ ।

त्यसपछि दाइबाट भाइ पुस्तामा सरेको फिल्मको कथामा राजेशको भाइ र सुनीलको भाइले पनि समान एकै युवतीलाई मन पराउँछन् । यसपालि पनि सुनीलले आफैंले गरेको शैली अपनाउन भाइलाई सल्लाह दिन्छन् र, यसो गर्दा राजेशलाई धक्का पुग्ने उसको विश्वास हुन्छ । तर यी दुई ग्याङबीचको वैमनस्यताको फाइदा अर्को पक्षले उठाउन खोज्छ र फिल्मको अन्त्यतिर उक्त कुरा थाहा पाएपछि सानैदेखिका साथीहरूको पुनः मिलन हुन्छ र सँगै तेस्रो शक्तिका विरुद्ध लड्छन् । त्यतिन्जेलसम्म राजेशले पनि परिवारको साथ पाइसकेको हुन्छ र अन्त्यमा भिलेनका लागि दुःखद् र हिरोहरूका लागि सुखद विश्राम लिन्छ फिल्मले ।

फिल्ममा दाजुहरूको अभिनयमा देखिएका राजेश र सुनीलबाहेक भाइहरूमा अर्जुन कार्की, विक्रान्त बस्नेत रहेका छन् । तीन पुस्ताको कथा देखाइएको फिल्म ‘भगवान् सबैको’मा पटकथाको भने छेकछन्द राम्रो बन्न सकेको छैन । शीर्षकले धार्मिकताको छनक दिए पनि एक्सन फिल्म बनाउन खोजिएको फिल्मको मूलकथा पनि वजनदार भने छैन । कहिल्यै खुट्टा नटेक्ने भनी मन्दिरलाई दुत्कारेर हिँडेको पात्र पछि फेरि मन्दिरमा आमाको ज्यानको भीख माग्न आएका कारण आफैंमा दरिलो छैन । किनकि अप्रेसन सफल भइसकेर खतरामुक्त भइसकेको डाक्टरहरूले भनिसकेपछि पनि विकल्प नै नभएझैं गरी मन्दिर धाएर रोइकराइ गरेको दृश्य हास्यास्पद लाग्न सक्छ दर्शकलाई ।

फिल्ममा कतिपय ठाउँमा सस्ता भइसकेका ‘डायलग’ भन्न लगाइएको छ, मुख्य पात्रलाई । जस्तै, सानोमा रकमको जोहो गरेपछि मात्रै उपचार सम्भव हुने बताउने डाक्टरसमक्ष १८ वर्षपछि पुनः आमालाई लिएर पुगेको राम पात्रले गोली लागेर अचेत भइसकेकी आमालाई नै बिर्सेर डाक्टरलाई एकोहोरो ‘डायलग’ भुट्छ । त्यसो त अधिकांश संवादहरू कविताको शैलीमा व्यक्त गर्छन्, पात्रहरू ।

मौनता श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा वसन्त श्रेष्ठले नृत्यनिर्देशन गरेका हुन् भने द्वन्द्वमा हिमाल केसीले निर्देशन गरेका हुन् । संख्यात्मक रूपमा फाइटका सिन धेरै राखिएका भए पनि ती गुणात्मक भने हुन सकेका छैनन् । एक्सन फिल्म बनाउन खोजिए पनि द्वन्द्वमा नयाँपन खास केही पाइँदैन । चेतन सापकोटाको संगीतमा बज्ने केही गीतहरू मौलिक लाग्दैनन् । ‘बबाल बबाल…’ बोलको गीतमा दर्शक/श्रोताले त्यस्तो शंका गर्ने ठाउँ देखिन्छ । तर पनि मसलेदार फिल्म र फाइटको संख्या हेरेर फिल्म हेर्न मन पराउने दर्शकका लागि भने स्टाइलिस राजेश हमालको गर्जनसहितको मुक्केवाजी भने ‘भगवान् सबैको’मा यथेष्ट हेर्न पाउनेछन् भने नायिकाहरूको ग्ल्यामरस प्रस्तुति पनि बोनस हुन सक्छ ।

प्रकाशित मिति: २०६७ पुस ६ ०९:०४

posted by :-डम्बर प्रसाद रिमाल                                        sourced by:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.