काठमाडौ, पुस १ – बुधबार दिउँसोदेखि हराएको तारा एयरको विमान ओखलढुंगाको श्रीचौर गाविसमा दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको छ । विमानमा सवार सबैको निधन भएको छ । विमानमा चालक दलका तीन जना सहित २२ जना थिए । उद्धारका लागि प्रहरी र नेपाली सेना घट्नास्थलमा पुगिसकेको छ ।
ओखलढुंगास्थित कान्तिपुर संवाददाता कुम्भराज राईले स्थानीय सैनिक स्रोतलाई उदृत गर्दै जनाएअनुसार घटनास्थलमा २२ जनाको शव भेटिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको छ । शवहरुलाई संकलन गर्ने कार्यमा सेना र प्रहरी खटिएका छन् । घट्नास्थलमा रहेको सेनाको हेलिकप्टरबाट शवहरुलाई काठमाडौं लाने तयारी गरिएको छ ।
त्रिभुवन विमानस्थलका प्रहरी प्रमुख डिआईजी रमेशशेखर बज्राचार्यका अनुसार विमान पालुङ्गे डाँडामा ठोक्किएर दुर्घटना भएको छ । घटनास्थलमा ओखलढुंगाका डिएसपी रामकृपाला साहको नेतृत्वमा प्रहरी टोली उद्धारका लागि पुगेका छन् । घटनास्थलमा विमान टुक्रा टुक्रा भेटिएको छ । तारा एयरको ९ एन एएफएक्स-डीएचसी ६ टि्वनअटर बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा खोटाङको लामीडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो । उडेको ५ मिनेटपछि उक्त विमान सम्पर्क बाहिर गएको थियो ।
२२ जनासहितको विमान बेपत्ता
शिला पाण्डे/काठमाडौं
डम्बरसिं राई
खोटाङ- खोटाङको लामीडाँडाबाट काठमाडौंका लागि १९ यात्रु र चालक दलका तीन सदस्यसहित उडेको तारा एयरको जहाज बुधबार दिउँसोदेखि बेपत्ता भएको छ ।
तारा एयरको ९ एन एएफएक्स-डीएचसी ६ टि्वनअटर दिउँसो ३ बजेर ८ मिनेटमा उडेको ५ मिनेटपछि सम्पर्क बाहिर गएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
चालक दलले त्रिभुवन विमानस्थलको कन्ट्रोल टावरमा ‘पोजिसन रिपोर्ट’ दिँदा जहाज रामेछाप पुग्न १० मिनेट बाँकी रहेको जनाएका थिए । ‘क्याप्टेन अनुप शाक्यले रामेछापमाथि ३ बजेर २३ मिनेटमा पुग्ने जानकारी गराएका थिए,’ विमानस्थल कन्ट्रोल टावरका एक कर्मचारीले भने ‘त्यतिबेला जहाज ८ हजार ५ सय फिटमाथि थियो ।’ लामीडाँडाबाट काठमाडौं आइपुग्न ३५ मिनेट लाग्छ ।
जहाजसँग सम्पर्क टुटेलगत्तै जहाज अन्त अवतरण गरे/नगरेको खोजी भए पनि रातिसम्म केही पत्ता नलागेको यती एयरलाइन्सले जनाएको छ । तारा एयर यतीको भगिनीसंस्था हो ।
जहाज हराएपछि डाइनेस्टीका दुई हेलिकप्टर र यतीको पिलाटस पोर्टर खोजीका लागि पठाइए पनि साँझसम्म कुनै पत्तो लाग्न सकेन । खोजी कार्य बिहीबार बिहान फेरि थालिने विमानस्थल व्यवस्थापनले जनाएको छ ।
बेपत्ता जहाजको चालक दलमा क्याप्टेन शाक्य, सहायक चालक सचिन्द्र श्रेष्ठ, विमान परिचारिका सदीक्षा गुरुङ छन् । एयरलाइन्सले दिएको यात्रुसूचीअनुसार जहाजमा टी आर तामाङ, के शेर्पा, एस तामाङ, पी जी लामा, के डब्ल्यू लामा, के एन लामा, जेड डी शेर्पा र अमेरिकी राहदानी भएका तिब्बती शरणार्थी छोडेक केल्साङ छन् । त्यस्तै, महिला यात्रुहरू जी शेर्पा, डी तामाङ, एल डब्ल्यू शेर्पा, एसबी लामा, टी शेर्पा, टी वाई शेर्पा, पी डब्ल्यू तामाङ, एसबी तामाङ, टी डब्ल्यू शेर्पासमेत उक्त जहाजमा सवार थिए । ती यात्रु तीन दिनअघि ताराकै जहाज चार्टर गरी तीर्थका लागि हलेसी गएका थिए ।
खोटाङ प्रहरीका एक अधिकारीका अनुसार टिकटमा नेपाली नामहरू लेखाइए पनि उनीहरूमध्ये अधिकांश भुटानी नागरिक हुन सक्ने अनुमान छ । ‘विदेशी नागरिकले बढी कर तिर्नुपर्ने भएकाले उनीहरूले नेपाली नाम लेखाएको जानकारी पाएका छौं,’ ती अधिकारीले भने ।
प्राधिकरणका हवाई उड्डयन सुरक्षा विभाग प्रमुख विनोद गिरीका अनुसार जहाज हराएको शंका भएलगत्तै सोही रुटबाट आउने अन्य जहाजले समेत खोजी गरेको थियो । ‘मौसम पनि सफा थियो,’ उनले भने, ‘यथार्थ जानकारी आउन सकेको छैन ।’ साँझ बादल र तुँवालो बढेपछि खोजीमा पठाइएका जहाज र हेलिकप्टर रुम्झाटार विमानस्थलमा अवतरण गराइएको छ । राति नै उद्धार गर्नुपर्ने अवस्था आए सेनाको नाइटभिजन हेलिकप्टर पठाउन तयारी राखिएको प्राधिकरणले जनाएको छ । बेपत्ता जहाज खोज्न स्थानीय प्रहरी र सैनिकहरू पनि पैदल रूपमा परिचालन गरिएको प्राधिकरणले बताएको छ ।
यसैबीच प्रधानमन्त्री माधवकुमार नेपाललाई बुधबार राति फोन गरी भुटानी समकक्षी जिग्मे वाई थिन्लेले विमान दुर्घटना र त्यसमा भुटानी नागरिक परेको हुन सक्ने’bout चासो व्यक्त गरेको प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिजालले कान्तिपुरलाई बताए ।
जागिर छाड्न भन्दा मानिनन् सदीक्षा
परिचारिका सदीक्षा गुरुङले तारा एयरमा काम गर्न थालेको तीन वर्ष नाघेको थियो । यसअघि अग्नि एयरको विमान दुर्घटनामा साथी परेपछि उनलाई परिवारजनले जागिर छोड्न दबाब दिँदै आएका थिए ।
‘सधंै बिहान हामीलाई गएँ भन्थिन् तर आज केही नभनी गइन्,’ बुबा ग्वाङदा गुरुङले आँखामा आँसु टल्पलाउँदै भने । उड्नमै उनको सोख भएकाले छोरीलाई उक्त पेसा छुटाउन नसकेको उनले बताए । ‘केही हुँदैन बुबा भन्थिन्,’ चिन्तित हुँदै उनले भने, ‘अब अहिले कहाँ छिन् ?’
‘कतिपल्ट छोड भन्यौं, मानिनन्,’ परिचारिका गुरुङकी ठूलीआमा शर्मिला श्रेष्ठले भनिन्, ‘उड्न निकै सोख थियो ।’
‘यसअघिको दुर्घटनामा उसकै साथी परेको भएर हामीलाई डर लागेको थियो,’ शर्मिलाले भनिन् ।
जहाज दिउँसो सवा ३ बजेतिर हराए पनि साँझ ५ बजेपछि मात्र आफूहरूले खबर पाएको उनीहरूले बताए । ‘कम्तीमा तत्काल सूचना त गर्नुपथ्र्यों कि,’ श्रेष्ठले भनिन्, ‘त्यसमाथि अहिलेसम्म केही थाहा छैन ।’ उद्धारमा पर्याप्त तदारुकता नभएको उनको गुनासो छ । परिवारजन सोधखोजका लागि ७ बजे एयरलाइन्स कार्यालयमा पुग्दा उनीहरूले रात परेकाले खोजी बिहीबार मात्र हुने जानकारी पाएका थिए । बाह्र कक्षा सकेर एयर होस्टेज तालिम लिएकी सदीक्षाले भर्खरै २२ वर्ष टेकेकी हुन् ।
Posted by: Thapa/Bikram Mr Source: ekantipur