काठमाडौं, बंगलादेशमा जारी प्रथम महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको नेपालले मंगलबार अर्को महत्वपूर्ण खेलमा अफगानिस्तानको सामना गर्दैछ। नेपाल र अफगानिस्तानको महिला टोलीबीच प्रतिस्पर्धा हुन लागेको यो पहिलो पटक हो। अफगानिस्तानले दक्षिण एसियाली राष्ट्रसम्मिलित महिला प्रतियोगिता खेलेको यो पहिलो अवसर हो। त्यस हिसाबले नेपाल अनुभवी टोली मान्न सकिन्छ।
गत वर्ष माघमा बंगलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) को रजत पदक विजेताका हैसियतले पनि नेपाललाई साफ च्याम्पियसिपको बलियो दाबेदारका रूपमा हेरिएको छ। सागमा नेपालले भारतबाहेक आयोजक बंगलादेश, पाकिस्तान, श्रीलंकालाई हराएको थियो। माल्दिभ्स, भुटान र अफगानिस्तानले त्यतिबेला भाग लिएका थिएनन्। नौलो प्रतिद्वन्द्वीमध्येको माल्दिभ्सलाई नेपालले सोमबार ६-० ले हराउँदै अफगानिस्तानलाई समेत हच्काएको छ।
माल्दिभ्सविरुद्ध २ गोल गरेकी जमुना गुरुङले आफ्नो जन्मदिन सोमबार टोलीका अन्य साथीसँग मनाएको टोली नेता सञ्जिव मिश्रले नागरिकलाई जानकारी दिए।
अफगानिस्तानलाई जितेमा नेपालको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ। नेपालले लिग चरणको अन्तिम खेल शनिबार पाकिस्तानसँग खेल्नेछ।
समूह ‘ए’ अन्तर्गत सोमबार भएका दुई खेलमा भारतले भुटानलाई १८-० ले र बंगलादेशले श्रीलंकालाई २-० ले हराएको छ।
Posted By: Shiva Paudel
Source: Nagarik