विनोद पाण्डे, काठमाडौं, मंसिर २८- एसियाली क्रिकेट परिषद् (एसिसी) ले नेपाललाई सुहाउने गरी नयाँ कार्यक्रम अगाडि ल्याएको छ। आइतबार बंगलादेशको ढाकामा बसेको एसिसीको कार्यसमिति बैठकले टेस्ट खेल्ने एसियाका चार राष्ट्रलाई समावेश गर्दै यु-१९, ‘ए’ टिम, एकेडेमी टिम र महिला प्रतियोगिता गर्ने निर्णय गरेको छ। प्रत्येक दुई वर्षमा आयोजना हुने एसिया कपमा एसोसिएट राष्ट्रले खेल्न नपाउने निर्णय गरेपछि नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको ढोका लगभग बन्द भएको छ। यसै वर्ष भएको एसिया कपमा पनि एसियाका टेस्ट खेल्ने राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले मात्र सहभागिता जनाएका थिए। एसिसी ट्रफीको फाइनल पुग्ने दुई राष्ट्रले एसिया कपमा खेल्न पाउने प्रावधान यसअघिको थियो। दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि २०१५ को विश्वकप देखि १० राष्ट्रले मात्र सहभागिता जनाउने निर्णय गरेको थियो।
‘यसलाई हामीले सकारात्मक रूपले लिनुपर्छ, टेस्ट खेल्ने राष्ट्रले सहयोग नगरेसम्म हाम्रो क्रिकेट माथि उठ्दैन,’ एसिसीका उपाध्यक्ष एवम् नेपाल क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले भने, ‘इङ्ल्यान्डले स्कटल्यान्ड र आयरल्यान्डलाई काउन्टी क्रिकेटमा खेल्न दिएको उदाहरण दिँदा एसियाका टेस्ट खेल्ने राष्ट्रहरूले यसलाई स्वीकार गरे।’ बैठकमा सहभागी भएर पाण्डे सोमबार नै स्वदेश फर्किएका छन्।
एसिसीले ल्याएका सबै नयाँ प्रतियोगिता दुई वर्षमा एक पटक हुने निर्णय भएको उनले जानकारी गराए। यु-१९ मा चार टेस्ट राष्ट्र र एसोसिएटबाट आउने चार राष्ट्रले सहभागिता जनाउने छन्। फ्रेब्रुअरीमा थाइल्यान्डमा हुन लागेको एसिसी यु-१९ इलाइट कपको सेमिफाइनलमा पुगेको ४ टोलीले यो प्रतियोगितामा खेल्न पाउने निर्णय गरिएको छ।
एसिसीको नयाँ यु-१९ कार्यक्रमको पहिलो संस्करण भारतमा हुने तय भएको छ। मिति भने तोकिएको छैन। ‘एक पटक टेस्ट र अर्को पटक एसोसिएटले गरी पालैपालो प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ,’ पाण्डेले नागरिकसँग भने। एसिसी एवम् बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष मुस्तफा कमलको अध्यक्षतामा बसेको बैठकले नयाँ यु-१९ प्रतियोगिताका लागि बजेट पनि पारित गरिसकेको पाण्डेले बताए।
‘ए’ टिम र एकेडेमी टिमको प्रतियोगिता भने निर्क्यौल भइसकेको छैन। ‘टेस्ट खेल्ने चार तथा एसोसिएटका दुई वा चार राष्ट्र खेल्ने भन्ने निश्चित हुन बाँकी छ,’ पाण्डेले भने, ‘नेपालबाट दुवै प्रतियोगितामा राष्ट्रिय टोलीले नै खेल्नेछ। महिलामा भारत र श्रीलंकाले त्यति चासो देखाएन्न। पाकिस्तान र बंगलादेश भने खेल्न इच्छुक थिए, त्यसैले दुईपक्षीय शृङ्खला हुनसक्छ।’
बैठकले एसिसी ट्वान्टी-२० कपको तेस्रो संस्करण नेपालमा गर्ने निश्चित गरेको छ। प्रतियोगिता अक्टोबरको अन्त वा नोभेम्बरको सुरुआतमा हुनेछ। एसिसीले एक हप्ताभित्र मिति तय गर्ने पाण्डेले बताए।
Posted By: Shiva Paudel
Source: Nagarik